शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

“बर्मा स्वतन्त्र हुँदा यहाँका पहाडी क्षेत्रहरुमा सयभन्दा बढी नेपाली–गोर्खाली बस्ती भएको तथ्याङ्क तत्कालीन बर्मा सरकारले निकालेको थियो । स्थानीय कचिन प्रान्तमा नेपालीहरुले छुट्टै क्षेत्र पाउने बर्माकी राजनेता एवं हालकी शक्तिशाली नेतृ आङ सान सुकीका बुवा आङ साङले कचिन प्रान्त र नेपालीभाषीसँग सहमति गरेका थिए ।”

“कठिन परिस्थिति झेलेर पनि बर्मामा अहिले झण्डै दुई लाख नेपालीहरु बसोबास गरिरहेका छन् । ती मध्ये ५० हजारजति थाइल्याण्डतिर बसाइँ सरेका छन् । यहाँ रहेका नेपालीहरुको गाउँबस्ती घुम्दा नेपालकै गाउँ घुमेको प्रतीत हुन्छ । नेपालीहरुले मान्दै आएका सबै पर्व यहाँ धुमधामसँग मनाइन्छ । बर्मेली सरकारले नेपाली भाषालाई मान्यता नदिए पनि मन्दिरहरुमा नेपाली भाषामा कक्षा एकदेखि १० कक्षासम्म पढाइ हुन्छ ।”

“झण्डै ५० वर्ष सैनिक सरकारले ‘एक भाषा एक देश’ र ‘एक धर्म’ को नीति लगाउँदा पनि बर्माका नेपालीहरुले आफ्नो भाषा, हिन्दु धर्म र संस्कृतिलाई बचाएका छन् । निरङ्कुश अवस्थामा पनि ‘बर्मामा नेपाली बचाऊ’ अभियानमा धेरै व्यक्तिहरुले योगदान दिएका छन् । ती मध्ये भाषा, साहित्य र शिक्षण क्षेत्रमा ठाकुर गुरागाईंको नाम उच्च स्थानमा छ ।”

“विभिन्न जात जातिले आफ्नो अधिकार खोज्दै जाँदा देश टुक्रन्छ भन्ने भय देखाएर बर्मा फौजले सन् १९६२ मा सैनिक शासन सुरु गर्‍यो । बर्मेली जाति र भाषालाई मात्र हित हुने गरी संविधान बनायो । यसले अन्य जातिको जस्तै नेपाली भाषाको पठन–पाठनमा पनि असर गर्‍यो । विभिन्न जातजातिका विदेशी मूलका मानिसलाई देश छाड्न उर्दी जारी भयो । सैनिक सरकारको डरले धेरै विदेशीसँगै हजारौं नेपालीहरु भारत र नेपाल फर्किए । अहिले पनि बर्माबाट फर्किएका हजारौं नेपालीभाषीहरु भारतका त्रिपुरा, मिजोरम, नागाल्याण्ड जस्ता राज्यमा बसोबास गर्छन् ।”

“साहित्यकार एवं लेखक ठाकुर गुरागाईं तिनै व्यक्ति हुन्, जसले कठोर सैनिक शासनका बेला बर्मामा स–साना बालबालिकालाई नेपाली भाषा शिक्षण सुरु गरे । बन्द समाज भएका कारण कक्षा १ देखि १० सम्मका नेपाली पाठ्यक्रम हातैले लेखेर तयार पारे । यस्ता पुस्तकहरुलाई बर्माभरि छरिएर रहेका सयौं मन्दिरहरुमा धार्मिक पुस्तकका रुपमा पढाउने व्यवस्था मिलाए । सन् १९७५ देखि सुरु भएको यो अभियानकै कारण विलय भैसकेको नेपाली भाषा पुनः मौलाएको छ ।”

“आज बर्मामा रहेका ८० प्रतिशतभन्दा बढी नेपालीहरु नेपाली भाषामा लेखपढ गर्न सक्छन् । ९८ प्रतिशत नेपालीहरु नेपाली भाषामै घर ब्यवहार चलाउँछन् । बर्मामा ठाकुरप्रसाद गुरागाईंका गीत कण्ठ नभएका बिरलै नेपाली भेटिन्छन् । कठोर सैनिक शासनका बेला पनि नेपाल बाहिर नेपाली भाषा बचाउन संघर्ष गरेको भन्दै मदन पुरस्कार गुठीले ठाकुरप्रसाद गुरागाईंलाई ०५४ सालमा जगदम्बाश्री सम्मान प्रदान गरेको थियो ।”

“उनी हालै म्यान्मारको प्रजातान्त्रिक सरकारबाट पनि सम्मानित भएका छन् । बालबालिकाका लागि सयौं गीत, कविता र लेख लेखेका गुरागाईंका ६ उपन्यास, एक कथा सङ्ग्रह, एक निबन्ध सङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् । उनका केही पुस्तक बर्मेली भाषामा अनुवाद पनि भएका छन् ।” मेचीमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय