सोमबार , अषोज ४, २०७८

काठमाडौं

श्रमबजारमा आउने ५ लाखमध्ये तीन चौथाइभन्दा बढी वैदेशिक रोजगारीमा जान बाध्य छन्। स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै नेपालमा विदेशी श्रमिकको संख्या पनि दिनानुदिन बढिरहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार कोभिड—१९ अघि ४ लाखभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए। कोभिडयता मुस्किलले एक लाख श्रमिक वैदेशिक रोजगारीमा पुगेका छन्। स्वदेशमा रोजगारी नपाएका कारण बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारीमा जानेको जमात बढी छ। तर नेपालका उद्योग तथा व्यवसाय क्षेत्रमा श्रमिक पाइरहेका छैनन्।

दक्ष र सीपयुक्त श्रमिक नहुँदा समस्या हुने गरेको उद्योगीहरू बताउँछन्। नेपालका सेवामूलक, ठूल्ठूला प्रोजेक्ट, विदेशी लगानीका परियोजनाहरू, निर्माण क्षेत्र, फर्निचर, सैलुन व्यवसाय, सूचना प्रविधि, साइकल तथा मोटरसाइकल मर्मतका साथै पाइलट, इन्जिनियरलगायतका क्षेत्रमा विदेशी नागरिक कार्यरत छन्। नेपालका अधिकांश क्षेत्रमा भारतीय श्रमिकको दबदबा भए पनि सरकारले विदेशी नागरिकको यकिन तथ्यांक राख्न सकेको छैन।

श्रम तथा व्यवसायजन्य विभागका अनुसार चैत्र पहिलो हप्तासम्म ५९ देशका १ हजार ४ सय ३७ जना विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार एक वर्षभित्र दुई हजारभन्दा बढी विदेशी नागरिकले श्रम स्वीकृति लिई काम गर्ने गरेका छन्। श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ मा विदेशी श्रमिक स्वीकृतिमा कडा मापदण्ड राखिएको छ। कम्पनीले जथाभावी विदेशी श्रमिक लिन नपाइने व्यवस्था छ। कुल श्रमिकको ५ प्रतिशत मात्रै विदेशी श्रमिक लिन पाइने व्यवस्था छ।
विभागका निर्देशक मणिनाथ गोपका अनुसार पछिल्लो समयमा नयाँ तथा नवीकरण गर्ने विदेशी श्रमिकको संख्या घटेको बताए। ‘कतिपय विदेशी लगानीका प्रोजेक्ट स्वीकृति गर्दा श्रमिक पनि त्यतैबाट लिने सहमति गरिएको हुन्छ’, उनले भने, ‘उनीहरू श्रम स्वीकृतिका लागि यहाँ आउँदैनन्।’

विभागका अनुसार चीनका १ हजार २८, बेलायतका ६२, जापानका ४६, भारतका ४५, अमेरिकाका ३८, कोरियाका २९, स्पेनका २४, फिलिपिन्सका १६, फ्रान्सका १४, अस्ट्रेलियाका १३, जर्मनका ११ जनाले श्रम स्वीकृति लिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा करिब ८ लाख भारतीय नागरिक काम गरिरहेको बताउँछन्।

‘अहिले ७/८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाइन्छ, किन यसो भइरहेको छ, यसको कारण खोज्न जरुरी छ, अध्यक्ष गोल्छाले भने, ‘धेरैजसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैन्न, यसको कारण के हो ?’

लगानी वृद्धि र रोजगारी सिर्जनाको चर्चा हुने गरे पनि त्यसो हुन नसकेको महासंघले जनाएको छ। अध्यक्ष गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढिरहेको भए पनि श्रम सम्बन्ध दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्। श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारजस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्नेमा उनले जोड दिन्छन्।

श्रमविज्ञ डा.गणेश गुरुङले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण भारतीय नागरिकको ठाउँमा नेपाली नागरिकलाई अवसर दिने मौका आएको बताउँछन्। ‘कोभिडपछि भारतीय नागरिक काममा फर्किएका छैनन्’ उनले भने, ‘उनीहरूको ठाउँमा विदेशबाट फर्केका नेपालीलाई रोजगारी दिनुपर्छ।’ भारतसहित विदेशबाट १० लाख बढी नेपाली रोजगारी गुमाएर फर्केका बेला भारतीय करिब ७ लाख श्रमिक नेपाल नफर्केकाले विदेशबाट फर्केका नेपालीलाई रोजगारी दिने नीति ल्याउनुपर्ने डा. गुरुङ बताउँछन् ।

अन्नपुर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय