
काठमाडौं ।
सामान्यत: फार्मेसीबाट औषधी बिक्री हुन्छ। चितवनको भरतपुरस्थित एक फार्मेसीले भने बिक्रीका लागि तरकारी पनि राखेको छ।
चितवन मेडिकल कलेजनजिकै रहेको स्मार्ट फार्मेसीका सञ्चालक कमलेश यादवले एक हप्तादेखि कुरिलो पनि बेच्न थालेको बताए।कोरोना संक्रमितका लागि औषधी बुझ्न आउनेले कुरिलोबारे पनि सोध्न थालेपछि उनले कुरिलो बेच्न थालेका हुन्।
‘कोरोना संक्रमण हुँदा खाने औषधी किन्न आउनेले कुरिलोबारे सोधे अनि मैले बेच्न थालेको हुँ,’ उनले भने, ‘कुरिलो तागतिलो हुन्छ भनेर लैजाने धेरै छन्।’पश्चिम चितवनको अमृतनगरमा केही वर्षदेखि कुरिलोको व्यवसायिक खेती भइरहेको छ। स्थानीय युवा सुमन सुवेदीले आफ्नै खेतमा कुरिलो उब्जाएर बिक्री गर्दै आएका छन्।
फार्मेसी सञ्चालक यादवले कुरिलोको माग बढेपछि सुवेदीसँग सम्पर्क गरी मगाएर बिक्री गरिरहेको बताए।चितवनमा अहिले १ हजार ६ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन्। उनीहरूमध्ये २२० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरमै बसेका छन्।
सम्पर्कमा आउनेलाई स्वास्थ्यकर्मीले घरमै आराम गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान सुझाव दिने गरेका छन्।अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितको उपचार अक्सिजनको सहरामा भइरहेको छ।
चितवन मेडिकल कलेजका डाक्टर वसन्त शर्माले कुरिलो चिल्लो पदार्थविहीन, कोलेस्ट्रोल र सोडियम तत्वरहीत, शक्तिदायक, भिटामिन ए तथा सी प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थ भएकाले रोग प्रतिरोधी क्षमता बढाउनमा उपयोगी हुने बताए।
उनकाअनुसार यसमा मिनरल र खनिजको मात्रा बढी हुन्छ। विगतमा पनि आफूले सुत्केरी महिला, बालबालिका, वृद्धवृद्धा, क्यान्सर, कलेजोका बिरामी तथा सेतो रगत कम भएका बिरामीलाई कुरिलोको झोल पिउन सुझाव दिने गरेको उनले बताए। ‘रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अहिले कोरोना भाइरससँग लडिरहेका व्यक्तिका लागि पनि कुरिलो उपयुक्त हुन्छ,’ डाक्टर शर्माले भने। सेतोपाटी