कोरोनाबाट हालसम्म नेपालमा ७ पत्रकारको मृत्यु, ५ सय ५० संक्रमित

काठमाडौँ

नेपालमा हालसम्म कोरोनाबाट ७ जना पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै,५ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना आईसीयूमा उपचाररत रहेको महासंघले जनाएको छ ।

महासंघका महासिचव रोशन पुरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दोस्रो लहर नेपालमा बढिरहेको जनाउँदै पत्रकारहरुको स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको जनाएका छन् ।

यो संवेदनशील घडीमा कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुन आग्रह गर्दै महासंघले पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल समेत गरेको छ ।

महासंघले गरेको आग्रहअनुसार कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ ।

कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह समेत गरेको छ ।

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । कान्तिपुर

२०७८ बैशाख २०, सोमबार ११:२८ गते 0 Minutes 55 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार