बिहिबार , अषोज ७, २०७८

ओखलढुंगा — सिद्धिचरण नगरपालिका ३, अँधेरीका भलाराज राई (४१) सानै छँदा आमा बितेपछि पढ्न पाएनन् । अहिले दुःख गरेरै भए पनि सन्तानलाई धेरै पढाउने उनको रहर छ । तर उनका छोराछोरी हुर्किँदै त गए, मानसिक विकास भने सोचे जस्तो भएन ।

‘विस्तारै होला । अब त बुद्धि पलाउला भनेर धेरै आस गरें,’ लामो सास तान्दै राईले दुःख पोखे, ‘तर यी कुनैमा पनि शरीरबाहेक दिमागको विकास भएन । मेरो सपना सपनामै सीमित हुने भयो ।’ छोराछोरी पढाउने खर्च जुटाउनकै लागि उनी कतार पनि हानिए । श्रीमान् नहुँदा सन्तानको रेखदेखको झन् ठूलो जिम्मेवारी सम्हाल्नुपर्नेमा श्रीमतीले घर छोडेर हिँडिदिइन् । सन्तानकै लागि विदेशबाट फर्केर अर्को बिहे गरेर ल्याएकीले पनि छोडिदिएपछि राई यतिबेला बिलखबन्दमा छन् ।

उनको पहिलो छोरो १८ वर्षमा लागिसके भने कान्छी छोरी पनि १३ वर्षकी भइसकिन् । उनीहरू सामान्य बोलचाल, हिँडडुल गर्छन् तर मानसिक रूपमा गलत र सही छुट्याउन सक्दैनन् । आफैं खाना बनाएर खान सक्दैनन् । कुनै काम सही ढंगले गर्न सक्दैनन् । चारमध्ये कान्छी छोरी अन्यभन्दा केही प्रस्ट बोल्न सक्छिन् र मानसिक अवस्था पनि केही बलियो छ । राईले अहिलेसम्म सन्तानलाई सम्बन्धित चिकित्सकसमक्ष लग्न सकेका छैनन् । उनीहरूको मानसिक सुस्तता कुन अवस्थाको छ भनेर पहिचान हुन पाएकै छैन । ‘बिहानबेलुकीको छाक टार्नै मुस्किल छ । उपचारका लागि पैसा मैले कहाँबाट ल्याउनु ?’ राई आफैंसँग प्रश्न गर्छन् ।

उनको जग्गा जमिनबाट हुने उत्पादनले तीन महिना पनि खान पुग्दैन । यतिबेला बनिबुतो गरेर जिविका गरिरहेका छन् । उनी आफ्ना केटाकेटीको लागि राज्यले मासिक भत्ता उपलब्ध गराइदिए वा कुनै संस्थाले संरक्षणसहित पालनपोषण गरिदिए हुन्थ्यो भन्ने चाहन्छन् । ‘मेरो एक्लो ज्यानले म भन्दा ठूलो हुँदै गएका यी चार जनाको कसरी पालन पोषण गर्नुहोला ?’ उनले चिन्ता व्यक्त गरे ।

सिद्धिचरण नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरुङले नगरक्षेत्रभरि रहेको सुस्तमनस्थितिका बालबालिकाहरूको तथ्यांक संकलन गरी स्थायी समाधान खोजिरहेको बताइन् । नगरपालिकाको मात्रै नभएर जिल्लाभरिकै यस्ता सुस्तमनस्थितिका व्यक्तिहरूको पालनपोषण, सेवा र संरक्षण गर्ने किसिमको कुनै संस्था स्थापना गर्ने उद्देश्य रहेको बताइन् ।

सरकारी तवरबाटै सहयोग उपलब्ध गराई यस्ता व्यक्तिहरूको राज्यले संरक्षण गर्नुपर्ने उनले बताइन् । भलाराजलाई अन्तिम आशा राज्यको कुनै निकायबाट सहयोग पाइन्छ कि भन्ने छ । ‘सर आफ्नै छोराछोरी बाउलाई घाँडो भएछ नभन्दिनुहोला ।’ छुट्ने बेलामा भलाराजले हात जोड्दै भने, ‘मेरो समस्या बुझिदिनोस् है ।’ कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय