बिहिबार , मंग्सिर २३, २०७८

उनको कोभिड–१९ कार्यदलले महिनौंसम्म एउटा बैठकधरि गर्न सकेन। उनका स्वास्थ्यमन्त्रीले गएको मार्च महिनामा ‘हामीले महामारी जितिसक्यौं’ भन्दै जनतालाई आश्वस्त पार्न खोजेका थिए।

त्यसको केही साताअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशका नेताहरूसमक्ष भारतले कोरोना भाइरसलाई जितिसकेको दाबी गरेका थिए।

‘भारतले कोरोना महामारी नियन्त्रण गर्न एकदमै प्रभावकारी काम गर्‍यो। हाम्रो यो सफलताले मानव जगतलाई ठूलो विपतबाट जोगाएको छ,’ गत जनवरी अन्तिमतिर वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल भेलामा मोदीले भनेका थिए।

उनले यसो भन्दै गर्दा पृष्ठभूमिमा भारतका तीनवटा राष्ट्रिय तिरंगा फर्फराउँदै थिए।

अहिलेको अवस्था मोदीले अन्तर्राष्ट्रिय जगतसमक्ष दाबी गरेभन्दा र उनका स्वास्थ्यमन्त्रीले आफ्नै जनतालाई आश्वस्त पारेभन्दा बिल्कुलै भिन्न छ। भारतलाई कोभिड–१९ को दोस्रो लहरले संसारमै सबभन्दा बढी गाँजेको छ।

पछिल्लो तथ्यांकअनुसार भारतमा दैनिक चार लाख नयाँ संक्रमित थपिएका छन्। देशभरि खोपको व्यापक अभाव छ। अस्पतालहरू बिरामीको चापले अस्तव्यस्त छन्। प्राणदायक अक्सिजन पर्याप्त आपूर्ति हुन सकेको छैन। सास फेर्न गाह्रो भएका कोरोना बिरामीहरू अक्सिजन नपाएर फड्फडाइरहेका दृश्यले अस्पतालका स्वास्थ्यकर्मीलाई समेत व्याकुल बनाएको छ।

मृत्युदर यति अचाक्ली बढेको छ, हरेक दिन घाट र शमशानहरूमा ठाउँ नपाएर बस्ती बीचका खुला ठाउँमा सामूहिक दाहसंस्कार गरिन थालेको छ। यसबाट अविराम निस्कने धुँवाले उदीयमान अर्थतन्त्र भारतका ठूल्ठूला सहरको आकाश जतिखेरै कालो बादल मडारिएजस्तो देखिन्छ।

कोरोनालाई परास्त गरेको घोषणा गर्ने भारतमा केही समयमै यस्तरी पासा पल्टिएको छ, ऊ पछिल्ला केही दशककै सबभन्दा ठूलो आपत खेपिरहेको छ र यो आपतको केन्द्रमा छन् प्रधानमन्त्री मोदी।

मोदीले गर्वसाथ आफ्नो दाबी सुनाइरहँदा संसारभरका विज्ञ भारत कसरी महामारीको विषम परिस्थितिबाट उम्किन सक्यो भनेर चित खाएका थिए। भारतको जनसंख्यामा युवाहरूको अनुपात ज्यादा छ र उनीहरू सबै स्वस्थ छन् भन्ने रमाइलो व्याख्यालाई मोदी र उनको सरकारले ग्रहण गरेको देखेर त विज्ञहरू झनै अचम्म मान्थे।

अहिले पनि मोदीका समर्थक आफ्नो गल्ती वा कमजोरी स्विकार्न कुनै हालतमा तयार छैनन्। भारतमा सुरू कोभिड–१९ को दोस्रो लहरलाई उनीहरू विश्वव्यापी परिघटनाको प्रभाव मान्छन्। दोस्रो लहर यस्तरी द्रुत गतिमा फैलिनुको कारण पत्ता लगाउन समय लाग्ने उनीहरूको ठम्याइ छ।

भारतका स्वतन्त्र स्वास्थ्य विज्ञ र राजनीतिक विश्लेषकहरू भने दोस्रो लहर सुरू हुनुमा मोदीलाई जिम्मेवार ठहर्‍याउँछन्। मोदीको चाहिनेभन्दा धेरै आत्मविश्वास र उनको दबंग नेतृत्व शैलीले नै भारतलाई महामारीको भुङ्ग्रोमा हालेको उनीहरू बताउँछन्।

यति मात्र होइन, यस्तो संवदेनशील घडीमा पनि मोदी र उनको प्रशासनको ध्यान भारतको छवि नधमिलियोस् र कसरी हुन्छ व्यापार–व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सकियोस् भन्नेमै केन्द्रित छ।

एक समय त वैज्ञानिकहरूले दिएका चेतावनीसमेत मोदी र उनका अधिकारीहरूले बेवास्ता गरिदिएका थिए। भारतको जनसंख्या अझै उच्च जोखिममा रहेको र ‘हर्ड इम्युनिटी’ (सामुदायिक स्तरमै भाइरससँग लड्ने प्रतिरोधक क्षमता) विकास हुन समय लाग्ने वैज्ञानिकहरूको भनाइ थियो, जसलाई मोदी र उनको प्रशासनले बिल्कुलै नजरअन्दाज गरिदिएको जानकारहरू बताउँछन्।

नरेन्द्र मोदी दशकौंपछि भारतीय राजनीतिको शक्तिशाली नेताका रूपमा उदाएका व्यक्ति हुन्। आफ्नो हिन्दुवादी राजनीतिक पृष्ठभूमि, आर्थिक समृद्धिको नारा र विपक्षीहरूलाई किनारा लगाउँदै उनी लगातार दोस्रोचोटि सत्तामा पुगेका थिए। दोस्रो कार्यकालमा पनि उनको राजनीतिक वर्चश्व चुलिँदै गएको थियो। उनी विपक्षी नेताहरूलाई आक्रमण गर्न पछि परेका थिएनन् र केन्द्रमा आफ्नो एकाधिकार निरन्तर बढाउँदै लगेका थिए।

भारतमा संसदीय चुनाव आउन अझै तीन वर्ष बाँकी छ। यसबीच उनको सरकार धर्मराउने अवस्थामा पुगिसकेको छैन। मोदीको शक्ति अहिले पनि सुरक्षित देखिन्छ। कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगेपछि मोदी सरकारले गम्भीर बिरामीका लागि आवश्यक सरसामान उपलब्ध गराउने र बढीभन्दा बढी उमेर समूहका जनतालाई खोप लगाउने प्रयास सुरू गरेको छ।

विश्लेषकहरू भने अहिलेको समय मोदीका लागि राजनीतिक रूपले कठिन मान्छन्।

दोस्रो लहरसँगै बढ्दो देशव्यापी निराशाले मोदीको भर्भराउँदो राजनीतिक आभा मत्थर पारेको उनीहरूको विश्लेषण छ। मोदीको राजनीतिक प्रभुत्वका कारण पछिल्लो समय विष्फोटनको अवस्थामा पुगेको संक्रमण र मृत्युमा धेरैले उनैलाई जिम्मेवार ठहर्‍याउने विश्लेषकहरू बताउँछन्।

‘सबभन्दा ठूलो दोष मोदीको शासन शैलीलाई जानेछ। उनी योग्यताका आधारमा मन्त्री छान्दैनन्। कुन व्यक्ति आफूप्रति कति निष्ठावान छ, त्यस आधारमा मन्त्री बनाउँछन्। उनको छनौटमा व्यक्तिको पारदर्शिता होइन, बरू उसको गोपनीयता र छवि व्यवस्थापनलाई बढी प्राथमिकता दिइएको छ,’ नयाँदिल्लीस्थित नीति अनुसन्धान केन्द्रका अनुसन्धाता असीम अलीले भने।

‘यस्तो शासन संरचनाका कारण उनले गर्ने निर्णयहरू राष्ट्रका लागि प्रत्युत्पादक हुन सक्छन्,’ उनले भने, ‘कोभिड व्यवस्थापनमा पनि केही महिनायता मोदी प्रशासनका अधिकारीहरूले जे निर्णय लिए, त्यसले भारतलाई पछिसम्म समस्यामा पार्न सक्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय