शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

कोरोनाभाइरसविरूद्ध खोप लगाएका मानिसमा संक्रमण हुने सम्भावना निकै न्यून हुन्छ। तर, संक्रमण हुँदै नहुने भन्ने हुन्न।

नेपालमै पनि कतिपय खोप लगाएका मानिसमा संक्रमण देखिएको छ। यद्यपि खोप लगाएका र नलगाएका मानिसमा संक्रमण हुनुमा निकै फरक छ। भाइरोलोजिस्ट डाक्टर विष्णु उपाध्यायका अनुसार खोप लगाएका मानिसमा संक्रमण भइहाले पनि उनीहरू खोप नलगाएका मानिसभन्दा छिटो निको हुन्छन्।

‘खोप लगाएपछि त्यसले शरीरमा भाइरसविरूद्ध लड्ने ‘एन्टिबडी’ तयार पार्छ। जसले गर्दा संक्रमण भइहाले पनि जुन सामान्य अवस्थामा भाइरसले आफ्नो सक्रियता देखाउन सक्छ त्यो खोप लगाएपछिको अवस्थामा देखाउन सक्दैन,’ कारण खुलाउँदै डाक्टर उपाध्यायले सेतोपाटीसँग भने।

खोप नलगाएका मानिस १० दिनमै संक्रमणमुक्त भए भन्दैमा खोप लगाएका मानिस ७ दिनमै निको हुन्छन् भन्ने हुँदैन।

डाक्टर उपाध्यायका अनुसार खोप लगाएपछि शरीरमा जुन ‘एन्टिबडी’ बन्छ त्यसले संक्रमणविरूद्ध काम गर्ने शैली र क्षमता सबै मानिसमा एकनासको हुँदैन। यसमा मानिसको रोग प्रतिरोधात्मक क्षमता, उसको वंशाणुगत प्रकृति र जन्मे हुर्केको भूगोलले पनि फरक पार्ने उनी बताउँछन्। खोप लगाइसकेपछि संक्रमण भएर निको हुने अवधि भने खोप नलगाएकामा भन्दा लगाएकामा वैज्ञानिक दृष्टिकोणले छोटो हुने उनी बताउँछन्।

अर्को महत्वपूर्ण कुरा खोप लगाएका मानिसमा संक्रमण भइहाले त्यसले जटिल अवस्थामा पुर्‍याउने सम्भावना निकै कम हुन्छ। ‘खोप लगाएका मानिसलाई पनि संक्रमण हुनसक्छ। तर भारइस शरीरमा प्रवेश गरे पनि त्यसको जुन किसिमको जटिल बनाउन सक्ने क्षमता हुन्छ त्यो बनाउन सक्दैन किनभने त्यसविरूद्ध खोपले तयार पारेको एन्टिबडीले काम गर्छ,’ डाक्टर उपाध्यायले भने।

अहिले संक्रमण फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरस पहिलेको भन्दा घातक छ। यसले संक्रमण तीव्र फैलाउने मात्र होइन शरीरलाई छिटो जटिल पनि बनाउँछ। यसकारण अहिले अधिकांश अस्पतालका बेड जटिल संक्रमितले भरिएका छन्। र मृत्यु हुने संख्या पनि बढेको छ।

के खोपको पहिलो डोजले पनि मानिसमा संक्रमण भइहाले उतिकै काम गर्छ भन्ने प्रश्नमा डा. उपाध्याय भन्छन्, ‘एक डोजले पनि आंशिक सुरक्षा प्रदान गर्नसक्छ। तर त्यसले कतिसम्म काम गर्छ भन्ने अहिलेसम्म ठोस तथ्य छैन।’

उनले खोपको पहिलो डोजले शरीरमा संक्रमणविरूद्ध काम गर्ने प्रक्रियालाई क्रियाशील बनाइदिने र दोस्रो डोजले संक्रमणविरूद्ध लड्ने एन्डिबडी अत्याधिक मात्रामा निर्माण गर्ने जनाए।

नेपालमा पनि अहिले खोप अभियान चलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हालसम्म २० लाख ९१ हजार ५ सय ११ जनाले खोप लगाइसकेका छन्। नेपालमा अहिले दुई वटा खोप प्रयोगमा छन्। जसमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतीय कम्पनी ‘सेरम इन्स्टिच्युट’ ले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप र चिनियाँ कम्पनी ‘सिनोफार्म’ले विकास गरेको ‘भेरोसेल’ खोप छन्।

चिनियाँ खोप भने सरकारले काठमाडौं उपत्यकामा मात्र वितरण गरेको छ। जसले गर्दा खोपको दोस्रो डोज पनि काठमाडौंमै लगाउनु पर्ने खोप महाशाखाले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय