झपक्क निदाउँदा पनि ऐंठन हुन्छ ! ‘यतिका बिरामीलाई अब कसरी बेड मिलाउनु ?’

नेपालगञ्ज ।

‘बेस्सरी घाँटी दुखेको छ, खै कसरी कुरा गर्नु ?’ उनले आफ्नो स्वास्थ्य समस्या सुनाइन् ।

सात दिनदेखि निरन्तर २४ घण्टे ड्युटीमा रहेकी उनलाई ज्वरो आउन थालेको दुई दिन भएको थियो । मंगलबार बिसाउने पालो भए पनि आईसीयू बाहिर बेडको प्रतीक्षामा रहेका बिरामीको हेरचाह गर्ने जिम्मा उनको काँधमा आएको थियो ।

उनी अर्थात् डा. प्रतिज्ञा आचार्य । नेपालगञ्जस्थित भेरी अस्पतालको आईसीयू फ्रन्टलाइनर ।

‘प्यासले ज्यान सुकिसक्दा पनि पानी खान नपाउने अवस्था छ’ उनले भनिन्, ‘पीपीई सेट लगाएपछि ट्वाइलेट जान नमिल्ने हुनाले पानी नखाई बस्नुपर्छ ।’

अनलाइनखबरले भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित र स्वास्थ्यकर्मीहरूको अवस्थाबारे समाचार सामग्री प्रकाशन गरेको थियो । त्यसमा डा. प्रतिज्ञा आचार्य पनि देखिएकी छन् । त्यो हेरेर घरबाट बुवाआमा धेरै चिन्तित बनेको उनले बताइन् ।

‘तर, म घरमा बसें भने आफू मात्र सुरक्षित हुन्छु, यहाँ अरूलाई पनि बचाउन सक्छु’, उनी भन्छिन्, ‘भयावह अवस्था देखिने अस्पतालको भिडियो हेरेर आत्तिनुभएका आमाबुवालाई फोनमा यस्तै कुरा गरेर सम्झाएँ ।’

आईसीयूमा रहेकाहरू छिट्टै निको भएर डिस्चार्ज होउन् भन्ने कामना सबैको हुन्छ । तर, यही आईसीयूमा एकै बिहान पाँच जना संक्रमितको मृत्यु भएको थियो । त्यसपछि प्रतीक्षामा रहेका पाँचजना संक्रमितले एकै पटक बेड पाए ।
कुराकानी गरिरहँदा सास फेर्न निकै गाह्रो भइरहेका कोरोना संक्रमितलाई आईसीयू बाहिर ल्याइयो । बिहान १० नबज्दै बेडको प्रतीक्षामा लाइनमा बस्ने उनी चौथो संक्रमित थिए । उनलाई पनि अक्सिजनको सपोर्ट दिएपछि डा. आचार्यले दिक्दारी व्यक्त गरिन्, ‘दुई सातायता हरेक दिन यस्तै छ । यतिका बिरामीलाई अब कसरी बेड मिलाउनु ?’

त्यहीबेला मृत्यु भएका एक संक्रमितको शव निकालियो । त्यसअघि निकालिएको शव आईसीयू कक्ष बाहिर राखिएको थियो । शव उठाउने सेनाको टोली आइपुग्न लाग्दैथियो ।

नजिकै बेड कुरिरहेका संक्रमितहरू घरीघरी ती शव हेर्न विवश थिए । कठोर यथार्थ के थियो भने, कुरिरहेकाहरूमध्ये दुई बेड खाली भएको थियो ।

सास फेर्न गाह्रो भइरहेका ती संक्रमितले छिट्टै आईसीयू सुविधा नपाए ज्यान तल–माथि हुनसक्छ भन्ने डा. आचार्यलाई थाहा थियो । त्यस्ता घटना भइसकेकाले पनि उनी चनाखो थिइन् । ‘हाम्रो चाहना र प्रयास सबैलाई बचाउने हो’ उनले भनिन्, ‘तर, आईसीयू बेड खाली नै नहुँदा सबैलाई बचाउन सकिन्न, के गर्ने ?’

त्यही बेला आईसीयू बेडको प्रतीक्षा गर्ने संक्रमितको सूचीमा अर्को नाम थपियो । एम्बुलेन्सबाट झिक्दै गरिएकी ती सात महीने गर्भवतीलाई सास फेर्न निकै सकस भइरहेको डा. आचार्यले टाढैबाट थाहा पाइन् ।

भेरी अस्पतालको आईसीयू कक्षामा खटेका स्वास्थ्यकर्मी त के यहाँ एक नजर लगाउनासाथ जो–कोहीको मनमा जबर्जस्त रूपमा शंका उठ्छ– यी संक्रमितमध्ये सबैले बेड पाउलान् त ? भित्र बेड खाली हुँदासम्म बाहिर सिकिस्तको प्राण बाँकी रहला ?

आईसीयूमा रहेकाहरू छिट्टै निको भएर डिस्चार्ज होउन् भन्ने कामना सबैको हुन्छ । तर, यही आईसीयूमा एकै बिहान पाँच जना संक्रमितको मृत्यु भएको थियो । त्यसपछि प्रतीक्षामा रहेका पाँचजना संक्रमितले एकै पटक बेड पाए । सुन्दा निकै अप्रिय लागे पनि यो भेरी अस्पतालको अहिलेको तीतो यथार्थ थियो ।

गत शनिबार सास फेर्न गाह्रो भएर छटपटाइरहेकी एक महिलालाई अस्पताल ल्याइएको थियो । उनीभन्दा अगाडि नै तीन जना सिकिस्त संक्रमित आईसीयू बेडको प्रतीक्षामा थिए ।

आईसीयू बेड खाली नभएकोले अक्सिजन सपोर्टमा साधारण बेडमा राख्न अग्रसर भएकी डा. आचार्यलाई ती बिरामी महिलाका आफन्तले अपशब्द प्रयोग गरेका थिए । बिरामी बचाउन दिन–रात नभनी चौबीसघण्टे ड्युटीमा खटिएका उनीसँग त्यसको ‘जवाफ’ मा कुनै शब्द थिएन । त्यसपछि टाउकोमा हात राखेर त्यहाँबाट केही बेर अन्तै लागिन् ।

त्यस्तो व्यवहार सम्झँदा कस्तो महसूस हुन्छ ? ‘मन बिथोलिएर आउँछ’ डा. आचार्य भन्छिन्, ‘तर के गर्नु, बिरामीको पीडा र आफ्नो पेशागत कर्तव्य सम्झेर, मन बुझाएर ड्युटीमा फर्कनुपर्छ ।’

आईसीयूमा खटिरहेको बेला उनले ‘डाक्टरलाई झ्याम–झ्याम गालामा हान्नुपर्ने’ भनेको धेरै पटक सुनेकी छिन् । महामारीमा यस्तो भनाइ धेरै स्वास्थ्यकर्मीले सुनेका छन् । यस्ता कुराले चित्त दुखे पनि बिरामी निको भएर जाँदा खुशी लाग्ने डा. आचार्य बताउँछिन् ।

‘स्वास्थ्यकर्मीमा बिरामीप्रति डेडिकेशन हुनैपर्छ’ उनी भन्छिन्, ‘त्यो डेडिकेशनकै कारण भेरीमा एकै पटक जटिल किसिमका २४२ जना संक्रमितलाई उपचार गर्न सकेका छौं ।’

भेरीमा बेड थोरै भएर बिरामीको बेहाल भएको होइन । १४१ जना संक्रमितलाई उपचार गर्ने क्षमता भएको अस्पतालमा २४२ जनालाई ‘एड्जस्ट’ गरेर उपचार गरिंदैछ ।

काठमाडौंको वीर या शिक्षण अस्पतालमा अहिले पनि यति धेरै कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्था छैन । डा. आचार्य भन्छिन्, ‘यति धेरै बेहाल हुनुपरेको एचडीयू बेड थोरै भएर भन्दा पनि संक्रमण नै भयावह भएर हो ।’

वैशाख १ गतेयता भेरी अस्पतालमा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो तथ्यांकले नै यहाँको भयावह अवस्था दर्साउँछ । कतिपय संक्रमित छट्पटाउँदै मरिरहँदा केही गर्न नसकेर हेर्न विवश भएको डा. आचार्य बताउँछिन् ।

आईसीयूभित्र मनिटर बजेको आवाज बाहिरसम्मै आइरहेको यहाँको परिवेशमा जताततै स्वास्थ्यकर्मीको दौडादौड, बिरामीको चीत्कार र कुरुवाहरूको बेचैनी छ । जटिल संक्रमितहरूलाई सहज पार्न संक्रमित स्वास्थ्यकर्मी र संक्रमित कुरुवाहरू नै खटिरहेका छन् ।

‘संक्रमण नभएका स्वास्थ्यकर्मी खोज्न थाल्ने हो भने त यहाँ संक्रमितको उपचार गर्न कोही बाँकी रहँदैन’, डा. आचार्य भन्छिन् ।

उनी करारमा मेडिकल अफिसरको रूपमा भेरी अस्पताल आएको सात महीना पुग्दैछ । वैशाख लाग्नासाथ लागेको जटिल संक्रमितको ओइरो र उनीहरूको छट्पटाहट देख्दा उनलाई डर लागेको थियो । अहिले डर हराए पनि बिरामी छट्पटाउँदै मरिरहँदा निरीह बन्नु परेको पीडा थपिएको छ ।

‘दिनमै चार–पाँच जना छट्पटाउँदै मरिरहेका हुन्छन्’ डा. आचार्य आफ्नो भोगाइ सुनाउँछिन्, ‘आफन्तले बचाइदिनु भनेर हात जोड्दै, रुँदै विन्ती गर्दा अवाक् बनेर बस्नुको पीडा हामी भोगिरहेका छौं ।’

आईसीयूभित्र सिकिस्त बिरामीले छट्पटाउँदै अक्सिजन मास्क फाल्छन् । कहिलेकाहीं अक्सिजन आफैं रोकिन्छ । त्यस्तो बेला खाना खान खोलेको पीपीई लगाएर जाँदाजाँदै बिरामीलाई गाह्रो भइसक्ने अवस्था पनि आउँछ ।

‘ड्युटी तोकिएको सात दिन सुत्ने कुरा सोचिएकै हुँदैन’ डा. आचार्य आईसीयू वार्डभित्रको अवस्था बताउँछिन्, ‘एकछिन आराम गर्न खोज्दा बिरामीको छट्पटाहट र चीत्कार सुनिन्छ ।’

उनका अनुसार, पहिलो कुरा त भेरी अस्पतालमा जनशक्ति नै कम छ । ‘अर्को, संक्रमितहरू यहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ, जसले गर्दा रेमडिसिभर लगायत औषधि चलाउँदा पनि बचाउन सकिन्न’, उनी भन्छिन् ।

यो अवस्था कहिले सकिन्छ, अनिश्चित छ । बुधबारसम्म भेरी अस्पतालका ७० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । ‘जनशक्ति नहुँदा संक्रमित भएर पनि काम गर्नुपर्ने बाध्यता छ’ पहिल्यै संक्रमित भएर निको भइसकेकी डा. आचार्य भन्छिन्, ‘अब त एकक्षण झपक्क निदाउँदा पनि ऐंठन हुन्छ ।’ अनलाईन खवर

२०७८ बैशाख १९, आईतवार ०३:३३ गते 0 Minutes 536 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार