‘भारतको भयावह अवस्था विश्वकै लागि कठिन’

काठमाडौं ।

कोभिड-१९ को बढ्दो संक्रमणसँग संघर्षरत भारतको भयावह अवस्थाले विश्व नराम्ररी झस्किएको छ । यो भारतको मात्र संकट होइन, यो हरेकको संकट हो । ‘भाइरसले सिमाना, राष्ट्रियता, उमेर, जात, लिङ्ग र धर्म केही पनि भन्दैन,’ विश्व स्वास्थ्य संघठनका प्रमुख वैज्ञानिक डा सौम्य स्वामिनाथनले भनेका छन्, ‘अहिले भारतमा जे भइरहेको छ, अरु मुलुकमा पनि त्यो भएको थियो ।’

भाइरसले देखाइदिएको छ कि संसारका सबै भूभाग एक आपसमा जकडिएका छन् । कुनै मुलुकमा संक्रमण उच्च दरमा फैलिएको छ भने त्यो दर अर्को मुलुकमा पनि तुरुन्तै फैलिहाल्छ । जतिसुकै आवागमन रोके पनि, परीक्षण र क्वारेन्टाइनको दायरा जतिसुकै फराकिलो पारे पनि संक्रमण कतै न कतैबाट फुत्किहाल्छ । यदि कुनै पर्यटकले भाइरस बोकेको छ भने त्यो भाइरस अन्य ठाउँमा फैलाउने सम्भावना एकदमै धेरै हुन्छ । भर्खरै नयाँ दिल्लीबाट हङकङ उडेको एउटै उडानका ५० यात्रीलाई कोभिड–१९ देखिएको थियो ।

अहिले भारतको अत्यधिक संक्रमण दरले अर्को पनि कुरा देखाएको छ । त्यो भनेको भाइरसको नयाँ भेरियन्ट हो । भारतमा अहिले नयाँ प्रजातिको कोभिड भेरियन्ट निस्किएको छ । यसको नामकरण ‘डबल म्युटेसन’ का आधारमा गरिएको हो, किनकि यसमा दुई प्रमुख म्युटेसन देखा परेका छन् ।
यो नयाँ भेरियन्ट एकदमै द्रुत सर्ने गर्छ र एन्टिबडीलाई समेत यो भाइरस रोक्न कठिन पर्छ । यसविरुद्ध कति रोग प्रतिरोधात्मक क्षमता चाहिन्छ भन्नेमा वैज्ञानिकहरु अझै अनुसन्धानरत छन् ।

‘यो भेरियन्ट भ्याक्सिनले रोक्न नसकिने प्रकारको कुनै नयाँ स्क्याप म्युटेसन भएको भन्ने कुनै तथ्य भने छैन,’ कोभिड–१९ जेनोमिक्स इनिसिएटिभ, वेलकम सेङ्गर इन्सिट्युटका निर्देशक डा जेफ बरेटले बिबिसिलाई भनेका छन्, ‘मलाई लाग्छ, हामीले राम्ररी अनुसन्धान गर्नुपर्छ, तर तत्कालै आत्तिहाल्नु भने पर्दैन ।’

मुलुकमा जति धेरै कोभिड–१९ का संक्रमितहरु देखिन्छन्, भाइरसको नयाँ प्रजाति–भेरियन्ट निस्कने सम्भावना पनि त्यत्तिकै रहन्छ । किनभने हरेक नयाँ संक्रमणमा भाइरसले रुपान्तरित हुने मौका पाउँछ । सबैभन्दा चासोको विषय यो हो कि यस्ता रुपान्तरित भेरियन्टले खोपको प्रभावकारितामा भने असर नपारोस् ।

‘भाइरसको नयाँ रुपान्तरण रोक्न यसलाई फैलन दिन हुन्न । त्यसैले सबैभन्दा उत्तम उपाय भनेको विश्वभर फैलिएको यसको संक्रमणलाई हामीले रोक्नपर्छ,’ कोभिड–१९ जेनोमिक्स, युकेका निर्देशक प्राध्यापक सारोन पिककले भनेका छन् ।

लकडाउन र भौतिक दूरी कायम गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ । तर खोप अपरिहार्य छ । भारतमा यो काम एकदमै सुस्त छ । त्यहाँ १० प्रतिशत जनसंख्याले पहिलो चरणको खोप लगाएका छन् भने मात्र २ प्रतिशतले पूरा मात्रा लगाएका छन् ।

संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डिया भारतकै हो । यति हुँदाहुँदै पनि पनि भारतमा किन यो स्तरमा कोभिड–१९ फैलिरहेको छ भनेर बाँकी विश्वको जिज्ञासा छ ।

मार्चमा, भारतमा संक्रमण तीव्र हुन थालेको थियो । प्रशासनले अक्सफोर्ड–अस्ट्राजेनेका भ्याक्सिन निर्यातमा रोक लगाएको थियो । मध्य आय भएका मुलुकको लागि युएनसँग मौजाद कोभ्याक्स स्किम पनि बाहिर पठाउन रोक लगाइएको थियो । केही दिनअघि मात्र स्किमको पार्टनर एलाइन्स ग्लोवल भ्याक्सिन एलाइन्सले भारतले कहिलेदेखि खोप पठाउन थाल्छ भनेर पर्खिरहेको बताएको थियो ।

यसले निश्चय नै अरु मुलुकमा खोप आपूर्तिमा असर पार्नेछ । यसको अर्थ खोप उत्पादन तीव्र बनाउँदा बनाउँदै पनि धेरै भन्दा धेरै भारतमा निर्माण गरिएका खोप त्यहीँ आन्तरिक रुपमा खपत भइरहेका छन् ।

भारतको असामान्य परिस्थिति देखेर वैज्ञानिकहरु पनि उसलाई प्रथामिकता दिनुपर्छ भन्ने मान्यतामा छन् । ‘जति सकिन्छ, त्यति चाँडो हामीले यसको दुई गुणाले खोप उपलब्ध गराउनुपर्छ, अन्यथा जे गर्नु भाइरसले गर्छ र यो एकबाट अर्को व्यक्तिमा सरिरहन्छ,’ स्वामिनाथनले भनेका छन् ।

विश्वस्तरबाटै भाइरस निस्तेज हुने छाँटकाँट छैन । यसले एकपछि अर्को मुलुकलाई तहसनहस पार्दैछ । भारतको अवस्थाले भनिरहेको छ कि कोही एक जना पनि संक्रमित छ भने संसारभरका हामी सबै असुरक्षित छौं । रिपोटर्स नेपाल

२०७८ बैशाख १९, आईतवार ०१:४८ गते 1 Minute 66 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार