शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

गण्डकीका जनमोर्चा सांसद खिमविक्रम शाहीको स्वास्थ्य सुधार हुँदै आएको संसदीय दलका नेता कृष्ण थापाले बताएका छन्।

पोखरास्थित चरक अस्पतालमा उपचाररत शाहीलाई शनिबार भेटेर उनले स्वास्थ्य स्थिति बुझेका थिए। शाहीको तस्वीर सार्वजनिक गर्दै उनले स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रदेश सभामा अविश्वास प्रस्तावमा मतदान गर्ने दिन वैशाख १५ गते ‘अस्वभाविक’ रूपमा सांसद शाही ‘बेपत्ता’ भएका थिए।

त्यसपछि फोनमा कुरा गरे पनि शाहीलाई शनिबारमात्र भेट्न पाएको थापाले बताए।

‘उहाँलाई छाती दुख्ने, रिङ्गटा लाग्ने भएको रहेछ, आज बुझ्दा सुधार आइरहेको भन्नुभएको छ,’ थापाले भने, ‘कोरोना ठिक भएपछि डिस्चार्ज हुनुहुन्छ।’

सांसद शाहीको कारोना संक्रमणका विषय पनि ‘शंकास्पद’ रहेको थियो। वैशाख १४ गते एकैदिन लिएको २ वटा स्वाब परीक्षण गर्दा सरकारी ल्याबबाट नेगेटिभ रिपोर्ट आएको थियो भने निजी ल्याबबाट पोजेटिभ रिपोर्ट आएको थियो। चरक अस्पतालमा लगेपछि फेरि उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना परीक्षण गर्न शंकास्पद भएपछि प्रतिपक्षी दलहरूले सरकार टिकाउन कोरोनालाई हतियार बनाएको आरोप लगाएका थिए।

उनीहरूले विज्ञप्तिमार्फत प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले उक्त स्वाबको तथ्य जाँच गर्न र प्रयोगशालाको विश्वसनीयता परीक्षण गर्न समेत माग गरेका थिए।

विपक्षीको माग अनुसार सरकारले शाहीको स्वाबको तथ्य जाँच भने गरेन। अझै आइसियूमै रहेका सांसद शाही अनुपस्थित भएपछि प्रदेश सभाको विशेष अधिवेशन नै अनिश्चित बनेको छ।

उनी फेला परेको सूचना आएपछि संसद सुचारू चलाउन प्रक्रिया अघि बढ्ने सभामुख नेत्रनाथ अधिकारीले बताएका छन्।

अविश्वास प्रस्तावमा मतदान गर्ने दिन बेपत्ता भएका सांसद शाहीको स्थिति सार्वजनिक गर्न र जीवनरक्षा गर्न जनमोर्चाका सचेतक पियारी थापाले संसद सचिवालयमा निवेदन दिएकी थिइन्।

सोही निवेदनका आधारमा सभामुख अधिकारीले प्रदेशसभा बैठक मतदान अघि नै अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए।

सांसद शाही नाटकीय रूपमा बेपत्ता भएको भन्दै अविश्वास प्रस्ताव ल्याउने विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले जनमोर्चाको भूमिकाप्रति शंका जनाएका थिए।

‘त्यो घटनापछि हामीले जनमोर्चाका केन्द्रीय नेतृत्वसँग प्रश्न गर्‍यौं’, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सेतोपाटीलाई भने, ‘केन्द्रीय नेतृत्वले अविश्वास प्रस्तावमै मतदान गर्छौं भनेर वचन दिनुभएको छ, हामीले विश्वास गरेका छौं।’

सांसद शाहीको बेपत्ता प्रकरणलाई हेर्ने दृष्टिकोणमा पार्टीका सांसदहरू नै विभाजित छन्।

सांसद पियारी थापा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने बताउँछिन् भने अर्का सांसद कृष्ण थापा पार्टीले कुनै छानबिन नगर्ने बताउँछन्।

सांसद पियारीले शाही प्रकरणमा पार्टीले छानबिन गरिरहेको र सत्तारूढ दलसँग साँठगाँठ भएको प्रमाणित भए कारबाही प्रक्रिया अघि बढ्ने बताइन्।

‘पार्टीको निर्णय र निर्देशन अनुसार हामी चल्ने हो, पार्टी निर्णयविपरीत जाने जसलाई पनि कारबाही हुन सक्छ,’ पियारीले भनिन्, ‘व्यक्तिगत इच्छा र चाहनाले हुँदैन, हाम्रो पार्टी जनवादी केन्द्रियतामा चल्छ।’

उनले सांसद शाही स्वास्थ्य भएपछि संसद सचिवालयलाई जानकारी गराउने बताइन्।

यता, जनमोर्चाकै अर्का सांसद एवं संसदीय दलका नेता कृष्ण थापाले भने पार्टीले कुनै छानबिन नहुने दाबी गरे।

‘मैले हिजोमात्रै पार्टी महासचिव मनोज भट्टसँग कुरा गरेको थिएँ, कुनै छानबिन समिति बनेको छैन’, उनले भने, ‘बिरामी भएपछि कस्को के लाग्यो र!’

अर्का सांसद पियारी थापाले भने उक्त घटना रहस्यमय रहेको भन्दै पार्टीले छानबिन गरेर वास्तविकता बाहिर ल्याउने दाबी दोहोर्‍याइन्।

मतदान गर्ने बेला एकाएक सांसद सम्पर्कविहीन हुँदा सत्तारूढ दलकै संलग्नता भएको आशंका जन्मेको दाबी गरिन्।

सत्तारूढ दलले नै सानातिना विषयमा संसद अवरोध गर्ने गरेको भन्दै उनले जनमोर्चाका सांसद बेपत्ता हुँदा सदन रोक्न आवश्यक नै रहेको बताइन्।

‘हाम्रा सांसद अस्पताल हुनुहुन्छ भन्ने थाहा भएको भए सदन चल्न सक्थ्यो तर त्यस्तो भएन’, उनले भने, ‘सरकारले नै त्यस्ता गतिविधि गरेको रहेछ भने हामी त्यसको भण्डाफोर गर्छौं।’

जनमोर्चाका सांसद कृष्ण थापा र खिम विक्रम शाही अहिलेकै पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकार जोगाएर जाने पक्षमा थिए। तर पार्टीले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएपछि उनीहरूले उक्त निर्देशन मान्ने बताउँदै आएका छन्।

सांसद शाहीले अस्पतालबाट विज्ञप्ति निकालेर पार्टीको निर्देशन मान्ने बताइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय