शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

मनाङबाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले बिहीबार गण्डकीको युवा तथा खेलकुद मन्त्रीको सपथ लिएका छन्।

गण्डकी प्रदेशमा सरकार परिवर्तन गर्न विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी लागिरहेको बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङ्गेलाई मन्त्री नियुक्त गरेका हुन्।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेका मनाङे तत्कालीन नेकपामा प्रवेश गरेका थिए। मुख्यमन्त्री गुरुङले उनलाई नेकपामा प्रवेश गराएका थिए।

जब नेकपा फुट्यो, उनी एमाले वा माओवादी दुबैतिर बसेनन्। स्वतन्त्र सांसदको हैसियतमा बस्न पाऊँ भनेर उनले संसद सचिवालयमा निवेदन दिए।

यति मात्र होइन, मनाङ्गेले विगतमा नेकपाको नाममा काटिएको आफ्नो लेबी फिर्ता गर्नसमेत माग राखे।

प्रदेश सरकारलाई आफ्नो समर्थन नभएको र विपक्षमा मतदान गर्ने सार्वजनिक रुपमा बताउँदै आएका मनाङ्गे बुधबारको प्रदेशसभा बैठकमा भने उपस्थित भएनन्। प्रदेश सरकारविरूद्ध आएको अविश्वास प्रस्तावमा बुधबार मतदान गर्ने कार्यसूची थियो।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भएपछि सभामुखले संसद नै अनिश्चितकालका लागि स्थगित गरिदिए।

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने मात्र होइन, उनले आफैं मुख्यमन्त्रीको उम्मेदवार बन्ने र हालका मुख्यमन्त्री गुरुङले आफूलाई भोट दिनुपर्ने बताएका थिए।

सेतोपाटीसँग चैत ३१ गते कुरा गर्दै मनाङ्गेले भनेका थिए, ‘पृथ्वीसुब्बा गुरुङ मेरो दाइ जस्तो मान्छे हो, अब उहाँलाई भोट दिने होइन, उहाँले मलाई भोट दिने हो।’

गण्डकी प्रदेशसभामा एमालेको २७ मत छ। मनाङ्गे मन्त्री भएपछि एमालेको पक्षमा २८ मत पुगेको छ। मुख्यमन्त्री गुरुङले यसअघि आफ्नो समर्थन गर्दै आएका मनाङ्गेलाई सरकारकै पक्षमा राखिराख्न मन्त्री बनाएका हुन्।

सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका मुख्यमन्त्री गुरुङसँग दुई वटा मन्त्रालय भने खाली नै छ।

माओवादी केन्द्रले सरकारबाट राजीनामा दिएपछि कृषि मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली छ। अहिले कृषि मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् भने आन्तरिक मामिला मन्त्रालय सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई जिम्मा दिएका छन्।

अन्य दलबाट मन्त्री बन्न आउने सांसदलाई नियुक्त गर्न खाली भएको मन्त्रालय मनाङ्गेलाई नदिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। तर, तत्काल अन्य दल सरकारमा सहभागी हुने सम्भावना कम नै रहेको जनता समाजवादी पार्टीका सांसद हरिशहरण आचार्यले बताए।

‘मुख्यमन्त्रीले सत्ता टिकाउन मनाङ्गेलाई मन्त्री बनाएका हुन्,’ उनले भने, ‘यतिले मात्रै उहाँको सरकार टिक्दैन।’

मुख्यमन्त्री गुरुङको सरकार टिकाउन अझै तीन जना सांसद आवश्यक छ।

यसका लागि जनमोर्चा सरकारमा सहभागी हुनुपर्छ। तर, जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको छ भने बाँकी रहेका तीन दल कांग्रेस, माओवादी र जसपाका सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्।

मनाङ्गेको विवादास्पद विगत

प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिका सदस्य रहेका मनाङ्गेले गत वर्ष समितिबाट राजीनामा दिए। कुनै न कुनै संसदीय समितिमा सांसद बस्नुपर्छ।

संसदीय समितिबाट राजीनामा दिएपछि मनाङ्गेले अरुले ‘खाएको’ टुलुटुलु हेरेर बस्नु परेकाले राजीनामा दिनुपरेको बताएका थिए।

मनाङेविरूद्ध २०६१ म गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको आरोप लागेको थियो। काठमाडौं जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय तोकेको थियो।

पुनरावेदन अदालत पाटनले त्यही मुद्दामा पाँच वर्ष जेल तोकेको थियो। सर्वोच्च अदालतले पनि त्यही सजाय सदर गरेपछि उनी केही समय भूमिगत भए।

निर्वाचन जितेपछि हत्या अभियोगमा २०७५ वैशाख ६ गते थुनामा परेका मनाङ्गे २०७५ पुष ६ गते रिहा भएका थिए। १० वर्षभन्दा कम कैद सजाय भोग्नुपर्ने मुद्दामा हिरासतबाहिरबाटै लड्न पाउने कानुनी व्यवस्थाको उपयोग गर्दै मनाङ्गे थुनामुक्त भएका थिए।

रिहालगत्तै उनले प्रदेशसभा सचिवालयमा पुस ११ गते सांसदको सपथ गराइपाउँ भन्दै निवेदन दिएका थिए। त्यतिबेला दलहरूले उनको सपथ रोक्नुपर्ने माग राखेपछि उनको सपथ ग्रहण नै विवादित बन्न पुगेको थियो।

विवादका बाबजुद सभामुख नेत्रनाथ अधिकारीले मनाङ्गेलाई २०७५ माघ १४ गते सपथ खुवाएका थिए।

मन्त्री पदको सपथ खाँदै दीपक मनाङ्गे।
सांसद बनेपछि पनि उनी विवादबाहिर रहेनन्। पोखरामा २०७६ माघ ७ गते मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमै झापड हानेका थिए।

उक्त घटनामा मनाङ्गे प्रहरी हिरासतमा पुगेका थिए। पछि उनी प्रशासनमा धरौटी तिरेर रिहा भए।

आपराधिक गतिविधिमा पटक-पटक विवादित हुँदै र सजाय भोग्दै आएका मनाङ्गे आफूअनुकूल दल परिवर्तन गर्दै आएका छन्। नेपाली कांग्रेसमा प्रवेश गरेर राजनीति थालेका मनाङ्गे त्यसपछि राप्रपा प्रवेश गरे।

राप्रपा मनाङको अध्यक्ष बनेका उनले राप्रपा जिल्ला कार्यसमितिसहित एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेका थिए।

एमालेले मनाङबाट प्रदेशसभा सदस्यका लागि टिकट दिएपछि त्यतिबेला चर्को आलोचना भयो। आलोचना खेप्न नसकेर एमालेले अर्को उम्मेदवार उठायो, मनाङेले स्वतन्त्र उपम्मेदवारी दिए। मन्त्रीको सपथ खाएपछि मनाङेले खुलाएका छन्, ‘मैले एमालेसँगै मिलेर चुनाव लडेको हुँ।’

मनाङ्गे आफैंलाई पनि आफ्नो मन्त्री पद कहिले चिप्लिने हो ठेगान छैन। त्यसैले उनले भनेका छन्, ‘यो सरकार दुई हप्तामा जान सक्छ।’

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय