शनिबार , अषोज २, २०७८

धनुषा

धनुषाको मिथिला नगरपालिकामा पर्ने नक्टझिजका ३५ वर्षीय सम्सुद्दीन राइनले वैदेशिक रोजगारीका लागि १३ वर्ष संयुक्त अरब इमिरेट्स (यूएई)मा बिताए। दुई वर्षअघि स्वदेश फर्किएका राइनले विदेशमा कमाएको धनले जग्गा किने र पक्की घर पनि बनाए।

उनका दाजु पनि करीब डेढ दशकदेखि विदेशमै छन्। वैदेशिक रोजगारीको कमाइबाट दुवै भाइले घरजग्गा जोडे, सन्तानलाई राम्रो विद्यालयमा पढाउन सकेका छन्। घरखर्च चलाउन मात्र होइन, केही सानोतिनो व्यवसाय थालौं भन्न पनि उनले अरूका अगाडि हात पसार्नु पर्दैन।

बाल्यकाल कष्टमा बिताएका राइन दाजुभाइलाई वैदेशिक रोजगारीको कमाइले आर्थिक स्वतन्त्रता दिएको छ, समाजमा आत्मसम्मान दिलाएको छ। उनको परिवारको अनुहारमा खुशी ल्याउने स्रोत निःसन्देह वैदेशिक रोजगारी हो।

“विदेशको रोजगारी नभएको भए त हाम्रो परिवारको के हाल हुन्थ्यो होला,” राइन भइन्छन्, “अहिले त सानोतिनो व्यवसाय थाल्ने आँट गर्न सकिएको छ, यो खुशीको कुरा हो।”

वैदेशिक रोजगारी सिर्जित रेमिटेन्सले पछिल्ला दशकमा गरीबीको दर व्यापक घटाएको छ, मानिसहरूको जीवनस्तर सुधारेको छ। त्यसैले मानिसहरूको अनुहारमा धेरै हदसम्म खुशी भरिदिन रेमिटेन्सले अभूतपूर्व काम गरेको छ।

खुशी हुन धन नै चाहिने होइन। तर, आर्थिक सुबिस्ताले जिन्दगीका आवश्यकता पूरा गर्न सजिलो बनाउँछ। चिताएको पुगेपछि मन खुशी हुन्छ र अनुहारमा त्यसको चमक स्वतः देखिन्छ।

नेपाली समाजको चिरकालदेखिको व्यथा हो, गरीबी। यसका कारण समाजमा अपमान, चर्को ब्याजको ऋणको बोझ र समग्रमा अभावग्रस्त जीविका गरीबको हिस्सामा पर्छ।

वैदेशिक रोजगारी सिर्जित रेमिटेन्सले पछिल्ला दशकमा गरीबीको दर व्यापक घटाएको छ, मानिसहरूको जीवनस्तर सुधारेको छ। त्यसैले मानिसहरूको अनुहारमा धेरै हदसम्म खुशी भरिदिन रेमिटेन्सले अभूतपूर्व काम गरेको छ।

 

भरथेग दिने रेमिटेन्स

२०४८ सालमा देशका ४९ प्रतिशत जनता गरीबीको रेखामुनि रहेको आठौं पञ्चवर्षीय योजनाले उल्लेख गरेको थियो। अर्थात्, तीन दशकअघि देशका दुईमध्ये एक जना गरीबीको रेखामुनि थिए। नेपाल जीवनस्तर सर्वेक्षण २०५२/५३ ले गरीबीको रेखामुनि रहेको जनसंख्या करीब ४२ प्रतिशत देखाएको थियो।

तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ सम्म आइपुग्दा गरीबीको रेखामुनि रहेकाे जनसंख्या २५ प्रतिशतमा ओर्लिएको देखियो। त्यसयता गरीबीको मापन गर्ने सर्वेक्षण भएको छैन, तर गरीबीको दर निरन्तर ओरालो लागेको अनुमान छ। अर्थात्, तीन दशकअघि दुईमध्ये एक जना गरीब रहेकोमा अहिले बढीमा चारमध्ये एक जना मात्र गरीब रहेको अनुमान गर्न सकिन्छ।

रुप फेर्दै नयाँ टोल: वैदेशिक रोजगारीको आम्दानीले धनुषाको मिथिला बिहारी नगरपालिका–९ कटरहित नयाँ टोलमा धमाधम पक्की घर बनिरहेका छन्।

नीतिनिर्मातादेखि अर्थशास्त्री र जानकारहरू सबैले गरीबी निवारणको यो सफलताका पछाडि रेमिटेन्सलाई कारण मान्ने गर्छन्। विश्व ब्यांकले आफ्नो एक प्रतिवेदनमा सुस्त आर्थिक वृद्धिका बावजूद नेपालमा गरीबी निवारण र नागरिकको जीवनस्तर सुधारका पछाडि रेमिटेन्सको भूमिका रहेको उल्लेख गरेको छ।

अहिले दुईमध्ये कम्तीमा एक परिवारले रेमिटेन्स आय गर्ने गरेको अनुमान गरिन्छ। एक दशकअघिको जीवनस्तर सर्वेक्षण २०६६/६७ ले देशका ५५.८ प्रतिशत घरपरिवारले रेमिटेन्सको लाभ पाउँदै आएको देखाएको थियो।

मधेसलाई रेमिटेन्सले लगातार बदलिरहेको छ, गरीबी न्यूनीकरणदेखि महिलाको घुम्टो उघार्नसम्म। विदेशको कमाइ देहातका नागरिकका हातमा पर्दा उनीहरूको खर्च गर्नसक्ने सामर्थ्य बढाइदिएको छ।

रेमिटेन्सकै कारण भान्सामा मीठोमसिनो मात्र पाक्दैन, राम्रो लत्ताकपडा लगाउने र गुणस्तरीय आवासको क्षमता पनि बढेको छ। देहातका फुसका घरलाई पक्की घरले विस्थापित गर्दै लैजानुको कारण विदेशको कमाइ नै हो। अर्कातिर, वैदेशिक रोजगारीको ढोका खुलेसँगै वैदेशिक रोजगारीमा जाने परिवारको स्थानीय साहुकारप्रतिको निर्भरता पनि घट्दो छ। यसले उनीहरूलाई सामाजिक र आर्थिक स्वतन्त्रता दिएको छ।

मधेसलाई रेमिटेन्सले लगातार बदलिरहेको छ, गरीबी न्यूनीकरणदेखि महिलाको घुम्टो उघार्नसम्म। विदेशको कमाइ देहातका नागरिकका हातमा पर्दा उनीहरूको खर्च गर्नसक्ने सामर्थ्य बढाइदिएको छ। रेमिटेन्सकै कारण भान्सामा मीठोमसिनो मात्र पाक्दैन, राम्रो लत्ताकपडा लगाउने र गुणस्तरीय आवासको क्षमता पनि बढेको छ।

रेमिटेन्सका कारण घरपरिवारको खर्च गर्नसक्ने क्षमता बढेका कारण खानेकुरा, लत्ताकपडाको उपभोगको प्रवृत्ति मात्रै होइन, टीभी, रेफ्रिजेरेटर, मोटरसाइकलजस्ता सुखसुविधाका सामानको माग पनि चुलिएको छ।

अहिले कम्तीमा ५६ प्रतिशतको घरमा टेलिभिजन र करीब १५.५ प्रतिशतको घरमा कम्प्युटर पुगेको विश्व ब्यांकको तथ्यांक देखिनुका पछाडि रेमिटेन्सको पृष्ठभूमि कारण बनेको छ।

नेपालबाट भारतबाहेकको वैदेशिक रोजगारीमा जाने क्रम विस्तार भएको २०५० को दशकको शुरूआततिर हो। धनुषाको मिथिला बिहारी नगरपालिका, कटरहित नयाँ टोलका रामइकवाल यादव वैदेशिक रोजगारीले उडान शुरू गर्दैगर्दा २०५२ सालतिर कामका लागि विदेश पुगेका थिए।

तीन वर्ष बसेर आएका उनले डेढ कठ्ठा जग्गा किने र गाउँमै पहिलो पक्की घर बनाए। उनका दुवै छोरा विदेशमा छन्। छोराहरूले पठाएको आम्दानीले रामइकवालका नातिनातिनाले निजी विद्यालयमा पढ्न पाएका छन्। गाउँमा उनको ठाँटबाँट फेरिएको छ।

रामइकवाल यादव ।
निश्चय पनि वैदेशिक रोजगारीमा जाने परिवारको बिछोडको मूल्य सानो हुँदैन। तर, परिवारलाई भरथेग गर्ने रेमिटेन्सले बनाउने आर्थिक सहजताको अर्थ पनि सानो छैन। जस्तै, सर्लाहीको हरिवन नगरपालिका तीनघरे टोलकी चनमाया घिसिङ आफ्ना श्रीमान्‌ले कुवेतमा कमाएको धनले नै परिवारमा सुखसयल आएको ठान्छिन्।

उनलाई पक्की घर बनाउन, छोरीको विवाह खर्च जुटाउन र छोरालाई निजी विद्यालयमा राख्ने सामर्थ्य रेमिटेन्सले नै दिएको हो। अर्कातिर, श्रीमान् नभएका कारण घरमूलीको भूमिका निर्वाह गर्ने जिम्मेवारी उनको काँधमा आएको छ, यसले उनको सामाजिक हैसियत र आत्मविश्वास बढाएको छ।

चनमाया घिसिङ, जो श्रीमान् वैदेशिक रोजगारीमा गएपछि डेढ दशकदेखि घरमूलीका हैसियतले घर चलाइरहेकी छन् ।
दक्षिण एसियाकै खुशी देश

गत महीना प्रकाशित विश्व खुशी प्रतिवेदन २०२१ ले नेपाल संसारका १४९ मध्ये ८७औं स्थानमा रहेको देखायो। प्रतिवेदनका अनुसार, अरू दक्षिण एसियाली देशको तुलनामा नेपाल सबैभन्दा खुशी नागरिक बस्ने मुलुक हो। मानिसहरूले गरेको आफ्नै जीवनबारेको मूल्यांकनका आधारमा यस्तो तथ्यांक निकालिएको हो।

नेपालीको छवि सामान्यतया गरीबीमै पनि खुशी हुनसक्ने भनी हुँदै आएको छ। त्यसैकारण, ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्ने कवितांश लोकप्रिय हुँदै आएको छ।

बढाइचढाइ होइन भने, विदेशमा पनि नेपालीको छवि इमानदारसँगसँगै अरूसँग राम्रो व्यवहार गर्ने, नरम तरिकाले बोल्ने भएको सरोकारवालाहरूले बताउँदै आएका छन्।

नेपालीको यही स्वभावकै कारण वैदेशिक रोजगारीमा अन्य देशका तुलनामा नेपाली कामदारलाई पत्याइँदै र रुचाइँदै आएको बताइन्छ।

himalkhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय