शुक्रबार , बैसाख १४, २०८१

काठमाण्डु

जनता समाजवादी पार्टीको पदाधिकारी बैठकमा बहुमत सदस्यहरु अहिले तत्काल सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नहुने निष्कर्शमा पुगेका छन् ।

मंगलवार बसेको पदाधिकारी बैठकमा कांग्रेसले ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णयको लागी छलफल गर्ने कार्यसुची थियो ।

तर, बैठकमा अधिकांश नेताहरुले यो समय सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने नभएको भन्दै आवाज उठेपछि जसपामा बिवाद बढेको छ ।

बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेताहरु राजेन्द्र महतो,अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

बैठकमा संघीय परिषद अध्यक्ष भट्टराईले देशलाई बन्धक बनाउन नमिल्ने भन्दै तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने र प्रधानमन्त्री ओली नेतृत्वको सरकारका विरुद्ध नेपाली कांग्रेसले ल्याउन लागेको अविश्वासको प्रस्तावमा निर्णय गर्नुपर्ने धारणा राखेका थिए ।

उनले बैठकमा आफ्ना धारणा राखेपछि भोली ट्युमरको अपरेशन भएको भन्दै बैठकबाट बाहिरिएका थिए । भट्टराई पक्षधर नेताहरुको प्रस्तावको भने अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले विरोध जनाएका थिए ।

दुवै नेताले तत्काल कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने र अविश्वासको प्रस्ताव समेत ल्याउनु गलत हुने धारणा राखेपछि बैठक विना निष्कर्श टुंगिएको हो ।

आजको बैठकमा अध्यक्ष यादव भने कडा रुपमा प्रस्तुत नभएको जसपाका एक नेताले बताए ।

‘जसपाको पदाधिकारी बैठकमा आजै अविस्वासको प्रस्तावमा कांग्रेसलाई समर्थन गर्न हस्ताक्षर जुटाउने र कार्यकारिणीको बैठक बोलाउने तयारी थियो । तर, उक्त प्रस्तावमा अध्यक्षको नै विरोध भएपछि सहमती हुन सकेन ।’ जसपाका एक नेताले काठमाण्डुपाटीसंग भने ।

जसपाका नेताहरु बावुराम र उपेन्द्र दुवै ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने धारणा राख्दै आएका छन् भने अध्यक्ष ठाकुर र महताको त्यसको विरुद्धमा छन् । आजको बैठकमा यादव कडा रुपमा प्रस्तुत नहुनुले यादव,महतो र ठाकुरबीच सहमती बनेको बुझिएको छ ।

स्रोतकाअनुसार केही दिनभित्र जसपा पनि सरकारमा जाने तयारीमा छ । त्यसमा यादवलाई शक्तिशाली मन्त्रालय दिने गरी छलफल चलेको बुझिएको छ ।

यादव पक्षधर नेताहरु माग पुरा भए सरकारमा जान पर्ने पक्षमा छन् । संसदिय दलमा अध्यक्ष यादव र बावुराम दुवै जना आफ्नो समुहभित्र अल्पमतमा छन् ।

संसदीय दलमा पुर्व शहरी विकासमन्त्री ईस्तियाक राई, प्रदिप यादव र रेणु यादवको समुह प्रधानमन्त्री ओलीले माग पुरा गरे सरकारमा जानुपर्ने पक्षमा छन् । यादव भने यही समुहको दबावमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय