शुक्रबार , बैसाख १४, २०८१

विराटनगर

कोरोना संक्रमण बढिरहेका बेला कृत्रिम अभाव सिर्जना गरी विराटनगरका औषधि व्यवसायीले मास्कको मूल्यमा दुईदेखि १० गुणासम्म वृद्धि गरेका छन् ।

साधारण खालको सर्जिकल मास्कको खुद्रा मूल्य प्रतिप्याकेट २ सय रुपैयाँ पुगेको छ ।

एउटा प्याकेटमा ५० थान मास्क हुन्छन् । साताअघिसम्म प्रतिप्याकेट मास्कको मूल्य १ सय १० रुपैयाँ थियो ।

‘सेवा र सहयोग गरौं भन्ने भावना नै छैन, संकटका बेलामा घटाएर दिनुपर्नेमा बढाएर बेच्छन्,’ मास्क किन्न आएकी लक्ष्मी परियारले भनिन् ।

डिलरले एक/एक घण्टामा मूल्य बढाउँदै आफूहरूलाई नै प्रतिपोका १ सय ६०/७० रुपैयाँमा बिक्री गरिरहेको एक औषधि व्यवसायीले बताए ।

सबै खाले खर्च एवं नाफा राखेर प्रतिप्याकेट १ सय ८० देखि २ सय रुपैयाँमा बेच्नैपर्छ । गत वर्ष ४०/४५ रुपैयाँमा बिक्री भएको केएन–९५ मास्क यहाँको बजारमा अहिले साढे चार सयदेखि ५ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

पाँच रुपैयाँ प्रतिगोटामा सहजै पाउने सर्जिकल मास्कको मूल्य अहिले नै १५ रुपैयाँ पुगेको छ । बढी मूल्य लिनेलाई दुई लाख रुपैयाँ जरिवाना गर्न मोरङका प्रमुख जिल्ला अधिकारीले सरोकारवाला निकायलाई आदेश दिए पनि कार्यान्वयन भएको छैन ।

गत वर्षदेखि प्रतिगोटा ४०/५० रुपैयाँमा बिक्री भएको फेससिल्ड अहिले सयदेखि डेढ सय रुपैयाँसम्म बिक्री भइरहेको छ ।

गत वर्ष सामान्य खाले फेस सिल्ड मास्क प्रतिगोटा ३०/४० रुपैयाँ र चस्मावाला ५०/६० रुपैयाँसम्ममा बिक्री भएको औषधि व्यवसायी बताउँछन् ।

भारतमा मास्क, फेससिल्ड र हेयर क्यापको अभाव भएर माग बढेको उनको भनाइ छ । कोरोना भाइरस रोकथाममा प्रयोग हुने सामग्री विराटनगरबाट भारत गइरहेकाले अभाव भएको खुद्रा औषधि व्यवसायी आनन्द सारडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय