शनिबार , अषोज ३०, २०७८

काठमाडौँ ।

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएका छन् ।

त्यसैले अनिवार्य रूपमा खोपका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वास्थ्य मापदण्ड पालना दुवै एकसाथ भए मात्र कोरोना सङ्क्रमणबाट पूर्ण रूपमा बच्न सकिने स्वास्थ्यविद्हरूले बताउँदै आउनुभएको छ ।

खोप लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालनालाई नगरेकै कारण कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको चर्चा गर्दै उहाँहरू भन्नुहुन्छ, “खोपले सङ्क्रमित व्यक्तिलाई गम्भीर अवस्थामा पुग्नबाट मात्रै जोगाउँछ, सङ्क्रमण हुनै रोक्ने हैन ।”

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा. झलक गौतमले कोरोनाबाट सुरक्षित हुन अनिवार्य रूपमा खोपका दुवै मात्रा पूरा गर्नुपर्ने जानकारी दिँदै खोपको एक मात्रा मात्रैको प्रभावकारिता झन् कम हुने बताउनुभयो ।

डा. गौतमले भन्नुभयो, “कोभिसिल्ड खोपको हकमा दुवै मात्रा लगाएपछि ७० प्रतिशत सुरक्षा दिन्छ, त्यसैले खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ ।”

खोपले बढाएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ, खोप लगाएको कति समयपछि यसले काम गर्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले खोपको दोस्रो मात्रा लगाएको एक महिनापछि मात्र राम्रोसँग एन्टिबडी बन्ने विभिन्न अध्ययनले देखाएको जानकारी दिनुभयो ।
ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भन्नुभयो, “खोपको मात्रा पूरा गर्नुपर्छ र जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ । तब मात्र कोभिड–१९ विरुद्धको यो खोपले सुरक्षा दिन सक्छ ।”

कोभिसिल्डले बढीमा छ महिनासम्म सुरक्षा दिन सक्ने जानकारी दिँदै डा. पुनले थप्नुभयो, “भाइरसको परिवर्तित स्वरूपका कारण कोभिडविरुद्धको यो खोपले काम गर्ने÷नगर्नेमा विश्वस्त हुने अवस्था छैन । त्यसैले खोप लगाएपछि ढुक्क भएर बस्नु हुँदैन ।”

अहिले कोरोना (कोभिड–१९) का नयाँ–नयाँ ‘भेरिएन्ट’ विकास भइरहेको अवस्थामा अहिले प्रयोग भइरहेका खोपको प्रभावकारिता पुष्टि हुन बाँकी नै रहेको चर्चा गर्दै उहाँले खोप लगाएँ भनेर ढुक्क भएर नहिँड्न आग्रह गर्नुभयो ।

खोप लगाएको ठ्याक्कै कति समयपछि शरीरमा यसले काम गर्न थाल्छ भन्ने यकिन जानकारी आउन पनि बाँकी छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसको सङ्क्रमण भएर निको भएकालाई पनि फेरि सङ्क्रमण हुन सक्ने भएकाले कोरोनाविरुद्धको खोप लगाउन सुझाव दिएको छ ।

सङ्क्रमणपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने कुरा पनि पुष्टि भइनसकेकाले सबैले खोप लगाउनुपर्ने विज्ञहरूको धारणा छ ।
प्रतिरक्षा क्षमता बढाउन सहयोगी खोपले कुनै ब्याक्टेरिया वा भाइरस जस्ता जीवाणुबाट भविष्यमा रोग लाग्ने सम्भावना कम वा निर्मूल गर्छ । सामान्यतः एउटा जीवाणुका लागि बनाइएको खोपले त्यही जीवाणुको विरुद्धमा मात्र काम गर्छ ।

त्यही भएर रोगैपिच्छेका भ्याक्सिन बनाउनु परेको डा. गौतमले बताउनुभयो । उहाँले भ्याक्सिनले कसरी काम गर्छ भनेर बुझ्न हाम्रो शरीरको प्रतिरोध प्रणालीबारे बुझ्न जरुरी हुने प्रस्ट पार्नुभयो ।

कोभिड–१९ सङ्क्रमणपछि निको भएका व्यक्तिको रगतमा भाइरसविरुद्ध पर्याप्त एन्टिबडी पाइएको छ । यद्यपि यो भाइरसविरुद्धको प्रतिरोध प्रणालीको सम्झना शक्ति कति लामो हुन्छ, त्यसबारेमा थाहा पाउन हामीले अझै केही समय कुर्नुपर्ने हुन्छ ।

 

खोप लिन हुने/नहुनेहरू

दीर्घरोग जस्तै– मुटु, मस्तिष्क, फोक्सोसम्बन्धी रोग, मिर्गाैला रोग, मधुमेह, सिकलसेल एनिमिया र क्यान्सर रोग भएका रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमी गर्ने औषधि सेवनकर्ता, एचआईभी सङ्क्रमित जस्ता स्वास्थ्य समस्या भएकाले यो खोप लिनु झनै आवश्यक हुने डा. पुनले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी छ ।

कोभिड–१९ विरुद्धको खोप गर्भवती, स्तनपान गराइरहेका, गर्भवती हुने योजना भएका महिलाले लगाउनु हुँदैन । खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले दोस्रो मात्रा लिन नहुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय