शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको सुरुवाती चरणको बेला सुर्खेतकी सपना पहाडीले स्वास्थ्यमा करारको ‘जागिर’ पाइन् । सेडा क्याम्पसबाट भर्खर एचए उत्तीर्ण गरेकी सपनालाई जन स्वास्थ्य सेवा कार्यालयले कर्णालीको मुख्य प्रवेशद्वार बबईमा खटायो । ‘

जन स्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्ले सरले हामीलाई सेडामा पढाउनु भएको हो,’ सपनाले भनिन्, ‘उहाँलेनै मेरो कमाण्डमा बबईमा स्वास्थ्यको टोली खटाउनु भएको हो ।’

चैतदेखि कात्तिकसम्मको आठ महिना सपनाको टीमले बबई नाकामा रहेर काम ग¥यो । बर्दिया र सुर्खेतको सीमा नाका बबईमा दिन–रात खटिएर काम गर्दाका थुप्रै राम्रा–नराम्रा अनुभवहरु सपना र उनको टीमसँग छन् । बबई नाकाबाट दैनिक पाँचदेखि आठ हजारसम्म कर्णालीका नागरिकहरु भारतबाट थातथलो सम्झेर आउँथे ।

अझ भारतमा रेल सेवा सुरु भएपछि आउनेको संख्या दोब्बरले बढ्यो । उतिबेला नाकामा बसेर सबैको स्वास्थ्य चेकजाँच गर्नु कम्ता चुनौतिपूर्ण थिएन् । ‘दुई–तीन छाकसम्म भोकभोकै बसेर पनि हामीले आफ्नो ड्युटी पूरा ग¥यौं,’ सपनाले भनिन्, ‘कति रातहरु नसुतेरै उज्याला भएका थिए ।’

गर्मीमा प्लाष्टिकको पालमा बसेर कालापहाड (भारत)लगायतका ठाउँबाट आउनेहरुको स्वास्थ्य चेकजाँचमा अहोरात्र खटिँदा उनको टीमले स्याबासी भन्दा गाली बढी पायो ।

भारतबाट आउनेसँग ‘लसपस’ गरेको भन्दै स्थानीयले बस्नलाई ठाउँ दिएनन्, खानलाई गास दिएनन् । ‘सुरुसुरुमा कोरोना भनेको के–के न हो भन्ने थियो,’ सपनाले भनिन्, ‘उहाँ (स्थानीय)ले नबुझेरै हामीलाई दुव्र्यवहार गर्नु भएको हो जस्तो लाग्छ ।’

कालिकोटकी प्रतिभा भण्डारीले पनि कोरोनाको सुरुवाती चरणमा स्वास्थ्यको ‘जागिर’ सुरु गरेकी हुन् । अनमी सकाएकी उनको पनि पहिलो पोष्टिङ बबईमा भयो ।

‘देश लकडाउनमा थियो, हामी सीमामा बसेर दिनरात कर्णाली भित्रिने नागरिकको स्वास्थ्य जाँचमा व्यस्त थियौं,’ उनले भनिन्, ‘चुनौतिपूर्ण घडीमा सेवा गर्न पाउँदाको खुशीलाई अहिले शब्दमा व्यक्त गर्न सक्दिन् ।’

संगीता महताराले पनि प्रतिभासँगसँगै जागिर सुरु गरिन् । सीमा नाका, नयाँ बसपार्क आइसोलेसन हुँदै अहिले उनी कोरोना अस्पतालमा कार्यरत छिन ।

प्रदेश राजधानी वीरेन्द्रनगरमै घर भएपनि उनले जागिर सुरु गरेदेखि चाँडपर्व परिवारसँग मनाउन पाएकी छैनन् । ‘

कोरोना संक्रमितको सेवामा खटिने कसम खाएर जोखिमपूर्ण अवस्थामा जागिर सुरु गरेका हौं,’ महताराले भनिन्, ‘हाम्रा लागि चाँडपर्व भन्दा पनि विरामीहरुको उपचार ठूलो कुरा हो ।’

सीमा नाका हुँदै सपनाको टीम अहिले कर्णालीको कोरोना विशेष अस्पतालको नेतृत्व गरिरहेको छ । सपना कोरोना अस्पतालको इन्चार्ज हुन् । कोरोना कहरको अहिले दोस्रो लहर सुरु भएसँगै कोरोना अस्पताल संक्रमितले भरिएको छ ।

जागिर सुरु गरेदेखि उनीहरुले विदा लिएका छैनन् । यस्तोमा चाँडपर्वका लागि कहाँबाट समय पाउनु ? ‘दशैं–तिहार, नयाँ वर्ष सबै विरामीको सेवामै बित्यो,’ सपनाले भनिन्, ‘हाम्रा लागि अझ धेरै चुनौतिका दिनहरु आउँदैछन्, त्यसका लागि तयारी अवस्थामा छौं ।’

कोरोना अस्पतालमा गम्भीर प्रकृतिका संक्रमितहरु आउँछन् । २० जना क्षमताको अस्पतालमा सोमबारसम्म २७ जना भर्ना भएका छन् । ‘गम्भीर प्रकृतिका विरामीहरु आउनुहुन्छ, बेड नभएपनि फर्काउन मनले मान्दैन्,’ सपनाले भनिन्, ‘विरामीहरुलाई भूइँमा राखेर पनि उपचार गरिरहेका छौं ।’

उपचारका क्रममा रहेका संक्रमितको मृत्यु हुँदा उनीहरुलाई औधि पीडा हुन्छ । ‘गम्भीर प्रकृतिका संक्रमित आउँदा सुरक्षाका सामाग्री प्रयोग नगरेरै उपचारमा खटिन्छौं,’ जीवानन्द पाण्डेले भने, ‘उपचारकै क्रममा मृत्यु हुँदा साह्रै दुःख लाग्छ ।’

प्रदेशको यो कोरोना अस्पताल सपना नेतृत्वको १९० जनाको टीमले सञ्चालन गरेको छ । सबै करारका कर्मचारी हुन् । ‘कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालले डा. सन्तम भट्टराईलाई खटाएको छ ।

‘अहिले डा. भट्टराईको मार्गनिर्देशनमा हामीले कोरोना अस्पतालको नेतृत्व गरिरहेका छौं,’ अस्पताल इन्चार्ज सपनाले भनिन्, ‘राज्यले कामको मूल्याङ्कन गर्न नसेपछि विरामीबाट आउने आशिर्वाद र मायाले यस्तो जोखिमपूर्ण काम गर्ने हौसला मिलिरहेको छ ।’

नियुक्तिपत्रविनै काम

अघिल्लो वर्ष चैतमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उनीहरुलाई एक वर्षका लागि करारमा काम गर्ने गरेर नियुक्तिपत्र दिएको थियो । उक्त करार अवधि चैतमै समाप्त भयो । अहिले उनीहरुको हातमा नियुक्तिपत्र छैन् ।

छ त केवल मौखिक आश्वासन मात्रै । ‘ज्यानको बाजी थापेर हामी विरामीका बारेमा सोच्छौं,’ अनमी कल्पना शाहीले भनिन्, ‘हाम्रा लागि सोचिदिने यहाँ कोही छैनन् ।’

राज्यले फ्रन्टलाइनरलाई जोखिमभत्ताको व्यवस्था गरेको छ । कोरोना अस्पतालमा कार्यरत करार कर्मचारीहरुले भदौयता जोखिमभत्ता पनि पाएका छैनन् ।

‘हामीले बोल्नु भन्दा पनि राज्यले आफै सोच्नुपर्ने हो,’ अनमी गिताञ्जली रानाले भनिन्, ‘न नियुक्तिपत्र, न जोखिम भत्ता, तर, पनि विरामीहरुको सेवामा निरन्तर खटिएका छौं ।’

नागरिक न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय