सोमबार , अषोज ४, २०७८

कैलालीका कालु हमाललाई यो नामले धेरैले चिन्दैनन्। उनलाई चिन्ने नाम अर्कै छ, बनाना किङ। अर्थात् केराका राजा।

कृषि पर्यटनमा लागेका हमालले केरा खेती गरेका छन्। खेती मात्र होइन, केराबाट विभिन्न खानेकुराका परिकार, पेय उत्पादन गरी बिक्री गरिरहेका छन्। रोजगार अवसर सिर्जना गरी धेरैलाई आर्थिक रूपमा सक्षम बनाएका छन्।

केराबाटै यतिका काम गर्न सकेकाले नै उनलाई बनाना किङ नाम दिइएको हो।

‘हाम्रो विकासका लागि कृषि, विद्युत र पर्यटन मुख्य आधार हुन्। विद्युत लगानी बढी चाहिन्छ, त्यसैले हामीले कृषि र पर्यटनमा लगानी गर्न सजिलो छ,’ उनले भने, ‘पर्यटक हिमाल, ताल हेर्न मात्र आउँदैनन्, कृषिले लाखको कमाइ हुन्छ। त्यसैलाई पर्यटनसँग जोडे करोड हुन्छ।’

कृषि-पर्यटनबाटै करोडको सपना देखिरहेका हमाल सानैदेखि जमिनमै पैसा फलाउने सोच्थे। उनका बुवाले छोरा डाक्टर होस् भन्ने चाहेका थिए। उनलाई भने कृषिमै नयाँ गर्न सकिन्छ भन्ने लाग्थ्यो।

‘स्कुल पढ्दैखेरि मलाई बाहिरका ठूला मान्छे हेरेर उनीहरूले गर्न सक्छन् भने हामी किन नसक्ने भन्ने लाग्थ्यो,’ हमालले सेतोपाटीसँग भने, ‘समाजमा धनी जन्मेरै आउँछ, बनाउन सकिँदैन भन्ने सोच व्याप्त छ। मेरो भनाइ हामी बन्न सक्छौं भन्ने हो।’ हमालको पुर्ख्यौली घर कपिलवस्तु भए पनि बाबुबाजेको पालादेखि नै कैलालीमा बस्न थालेका हुन्। उनका अनुसार तराइमा उबेला मच्छर र सर्पका डरले बस्ती बस्न डराउँथे।

‘विस्तारै झाडी, जंगल फाँडेर मान्छेहरू बस्न थालेपछि हाम्रो परिवार पनि कपिलवस्तुबाट यता सरेको थियो,’ उनले भने।

उनीहरू सुरूमा साविकको मनिकापुर गाविस, हालको टीकापुर नगरपालिकामा बसाइ सरेका थिए। सामान्य खेती-किसानी र पशुपालन गरेर उनीहरूको जीविका चल्थ्यो।

‘पछि बुबा पढ्न भनेर सल्यान जानुभयो। त्यहाँ पढ्दै, शिक्षक पनि हुनुभयो,’ हमालले आफ्ना बुवाबारे सुनाए, ‘पछि वन विभागमा जागिर भएपछि धनगढी फर्किनुभयो।’

बुबाको धनगढीमा जागिर भएपछि हमालको परिवार यतै बस्न थाल्यो। धनगढीको वनदेवी नजिक डेढ कठ्ठा जमिन किने र त्यही जग्गामा सानो घर बनाए। बुवाको कमाइले छ जना सन्तानको खर्च ठिक्क हुन्थ्यो।

हमाललाई सानैदेखि कहिले काम गर्न सक्ने होउँला भन्ने लाग्थ्यो रे, भन्छन्, ‘म कहिले जवान हुँला अनि काम गरूँला भन्ने सोच्थेँ।’

केही गर्न सुरूमा योग्यता बनाउनु थियो। बुबाको जागिर सिलसिलामा हमालको ५ कक्षासम्मको पढाइ काठमाडौंमा भएको थियो। ६ देखि १० सम्म भने धनगढीमै पढे। २०३३ सालमा एसएलसी गरेपछि नेपालगञ्जमा पढेका उनी त्यसपछि चार वर्ष चितवनमा पढे।

२०३९ सालमा उनले रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएससी सके।

‘पढाइ सकेपछि आफूले पढेको सीप देखाउने मन थियो,’ उनले भने। जसले पनि र जहाँ पनि गर्न सक्छ भन्ने हमालको सिद्धान्त छ। उनी विविधतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिन्छन्।

‘फरकफरक कुरामा आधारित व्यवसाय गर्नुपर्छ। जस्तै, शिक्षाका लागि केरा, खानाका लागि केरा, रोजगारका लागि केरा, केराबाटै विविधताको व्यवसाय,’ उनले उदाहरण दिए।

केराबाट खानेकुरा बनाउन सकिन्छ, कागज उत्पादन गरी शिक्षामा सहयोग पुग्छ, सामान, गुन्द्री बनाएर रोजगारी पाउन सकिन्छ।

सुरूमा कृषि व्यवसायका लागि परीक्षणका गर्न उनले कुखुरा, हाँस, बट्टाइ, सुँगर, गाई र भैंसी पाले। केही वर्षमा त्यसबाट कस्तो प्रतिफल आउँछ, हेर्दै उपयुक्त व्यवसाय छनोट गर्ने उनको सोचाइ थियो। २०४० सालमा उनले दस बोट केरा खेती गरे। त्योसँगै अरू चिजमा पनि परीक्षण गर्न छाडेका थिएनन्।

१६ वर्ष परीक्षण कालमै बित्यो।

‘पाँच वर्षमै केरा खेतीमा आशा देखिसकेको थिएँ,’ उनले भने।

माओवादी युद्धकालमा छ वर्ष उनको व्यवसाय खासै फस्टाएन। त्यो बेला केही फुर्सदिलो भएकाले पत्रिका पढेर, टिभी हेरेर, रेडियो सुनेर दिन कटाउनुपरेको उनी सम्झिन्छन्।

यही क्रममा एकदिनको कुरा हो। उनी पत्रिकामा भारत, मद्रासको ‘ओन्ली फिस’ भन्ने रेस्टुरेन्टबारे देखे।

‘त्यसको तरिका मनपर्‍यो मलाई। एउटै चिजका मात्र परिकार पाइने रहेछ। त्यही रेस्टुरेन्टका फोटा देखेपछि मलाई पनि एकै चिजबाट धेरै परिकार बनाएर केही गर्ने सोच आयो,’ उनले भने।

आफूले केरा खेती गरिरहेकाले यसबाटै विभिन्नथरीका खानेकुरा बनाउने उनले सोचे। सुरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग समन्वय गरेर बारीका केराबाटै चिप्स, चिया, कफी बनाए। राम्ररी सिकेपछि आफैं बनाउन थाले। अलिअलि उनले भेटेका विदेशीहरूले पनि सिकाइदिए।

२०६० सालसम्म आइपुग्दा विभिन्न परिकार बनाउन थालेपछि उनले टीकापुरमै डेढ कठ्ठा जमिन लिए। अनि खोले, ‘बनानाज रेस्टुरेन्ट’।

रेस्टुरेन्टमा केराका चिप्स, चिया, कफी बनाएर बेच्न थाले, ‘खासमा रेस्टुरेन्ट शब्द रेस्ट र रेन्ट जोडिएर बनेको छ। यसको अर्थ आराम गरेवापत शुल्क तिर्ने ठाउँ हो रेस्टुरेन्ट।’

उनी शब्दको यही जोडलाई जोड दिँदै भन्छन्, ‘नेपाललाई पनि रेस्ट गर्ने ठाउँ बनाउनु पर्छ। चीन र भारतमा जनसंख्या र प्रदूषण बढी छ। त्यहाँबाट एक प्रतिशत जनसंख्या भए पनि यहाँ आराम गर्न ल्याउन सक्नुपर्छ।’

यहाँ शरीरलाई आराम दिने ठाउँ भनेकै किसानको बारी हो भन्ने उनको दावी छ।

‘खाने ठाउँ त जति पनि पाइन्छ। थाकेको ज्यान र दिमागलाई आराम गर्न मिल्ने ठाउँ बनाउनुपर्‍यो,’ उनी भन्छन्।

सहरमा कामको चापदेखि दैनिक दौडधूपबाट थाकेकाहरूलाई आराम गर्न गाउँमा बोलाउनुपर्ने उनको भनाइ हो। त्यसका लागि किसानले स्वच्छ र विविधतापूर्ण बारी तयार गर्नुपर्ने उनले बताए।

हमालले रेस्टुरेन्ट खोलेपछि सुरूमा प्रचारका लागि केराका परिकार धेरैलाई पैसा नलिएरै चखाए। नयाँ स्वादको परिकार भएकाले सबैले रूचाएको उनको भनाइ छ।

बनानाज रेस्टुरेन्ट खुलेको केही समयपछि टीकापुरमा पार्क बनेको थियो। पार्क चल्न थालेपछि त झन् उनको रेस्टुरेन्टमा ग्राहकहरू बढ्न थाले। केराबाट बनेका विभिन्न स्वादका खानेकुरा खान पर्यटकको घुइँचो हुन थाल्यो।

‘ग्राहक बढ्दै गए, सोचेभन्दा धेरै राम्रो भयो। एकचोटि आएका ग्राहक फर्कीफर्की आउन थाले,’ उनले भने।

खाने मान्छे बढ्दै गएपछि उनको रेस्टुरेन्टमा केराको जरादेखि फूलबाट बनेका ४२ थरी परिकार पाक्न थाले। ग्राहकको रोजाइअनुसार केराको नम्किन, चुकाउनी, अचार, तरकारी, फिंगरचिप्स, पकौडा, म:म, खीर, परौठा, रोटी, स्वीट बल, चिप्स, ब्रान्डीदेखि वाइनसम्म बनाएको हमाल बताउँछन्।

अहिले पनि उनको रेस्टुरेन्टमा यी सबै परिकार पाइन्छन्। यही कामले उनी देश तथा विदेशका विभिन्न ठाउँमा चिनिएका पनि छन्।

कृषिमै सपना र भविष्य देखेका उनले पछि कर्णाली करिडोरमा ‘एग्रो टुरिजम’ अभियान चलाउन थाले। अभियानपछि काठमाडौं, चितवन, दाङ लगायत ठाउँबाट मान्छे एग्रो टुरिजमको तालिम लिन उनीकहाँ पुगे।

‘अहिले यहीँबाट सीप सिकेर कतिपयले अन्य ठाउँमा पनि बनाना रेस्टुरेन्ट चलाएका छन्। तालिम लिन धेरै आइरहन्छन्,’ उनले भने।

उनले कृषि क्षेत्रमा गरेको नयाँ कामलाई राज्यले पनि धेरै पटक प्रशंसा गरेको छ। २०७२ सालमा उनले दुई लाख रूपैयाँको ‘राष्ट्रपति सर्वाेत्कृष्ट कृषक पुरस्कार’ पाएका थिए। यस्तै, क्षेत्रीय र जिल्लामा पनि उत्कृष्ट कृषक पुरस्कारले सम्मानित भएका छन्। जेसिजको राष्ट्रिय युवा पुरस्कार र राष्ट्रिय कृषि अनुसन्धानबाट पनि उत्कृष्ट कृषक पुरस्कार उनले पाइसके।

‘धेरै पटक पुरस्कारहरू जित्दा मेरो मनोबल बढ्छ। मैले गरेको कामले मान्यता पाएको जस्तो लाग्छ। खुसी, जोस, ऊर्जा थपिन्छ,’ उनी भन्छन्।

हमालको बनानाज रेस्टुरेन्ट खुलेको १७ वर्ष पुग्यो, ब्रान्डका रूपमा चिनिन थालेको भने आठ वर्ष जति भएको उनी बताउँछन्।

हमालले टीकापुरमै रानीमहल रिसोर्ट र बनाना रिसोर्ट पनि खोलेका छन्। यी दुई रिर्सोट उनका छोराले चलाउँछन्। तीनै ठाउँमा केराका परिकार पाइन्छ।

‘हामीले रिफ्रेसमेन्ट सेन्टर खोलेका हौंं। अरू किसानले कतै सुन्तला, कतै आँप र कतै स्याउका परिकारसहित यस्तै रिसोर्ट खोल्न सके हुन्थ्यो। यसका लागि  हामी सहयोग गर्न तयार छौं,’ उनी भन्छन्।

उनका रेस्टुरेन्टमा सहरका मान्छे र परिवारसहित बढी आउने उनको भनाइ छ,’बजारका रेस्टुरेन्टमा रक्सी र मासु बढी पाइन्छ। त्यहाँ परिवार लिएर जाँदैनन्, यहाँ आउँछन्।’

हमाल व्यवसायिक केरा खेतीका अभियन्ता पनि हुन्। अहिले उनी दस विघा आफ्नै र भाडामा लिइएको छ विघा जमिनमा गरी जम्मा १६ विघामा केरा खेती गर्दे आएका छन्। रेस्टुरेन्ट यो खेतबारी भित्रै छ।

उनका अनुसार रेस्टुरेन्टबाट मात्रै दैनिक बीस हजार रूपैयाँ बराबरको खानेकुरा बिक्री हुन्छ। वार्षिक २५ लाख जति आम्दानी गर्ने उनको रेस्टुरेन्टमा १६ जना कर्मचारी छन्। उनीहरूले बारीमा, खानेकुरा बनाउने र रेस्टुरेन्टको काम गर्छन्।

हमालका घरका ७ जना सदस्य पनि यहीँ काम गरिरहेका छन्। उनीहरूलाई पनि मासिक तलब दिने गरेको उनले बताए। कोरोनापछि भने व्यापार केही सेलाएको छ।

‘म सय प्रतिशत खुसी छु, देश तथा विदेशमा  मलाई चिन्छन्,’ उनले भने, ‘अझै उकास्न लगानी जुटाउने क्रममा छु। ब्रान्ड बनाइसकेँ, अब पर्यटकका लागि बस्ने सुविधा थप्ने सोच छ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय