शुक्रबार , बैसाख १४, २०८१

तक्षक नागले राजा परीक्षितलाई डसेर मारेपछि उनका छोरा जनमेजयले सर्प यज्ञ गरेर सर्प प्रजातिलाई नष्ट गर्न खोजे । सर्प प्रजातिको अस्तित्वरक्षाका लागि तक्षक नागले स्वर्गका राजा इन्द्रसँग अनुरोध गरेका कथा हिन्दु धार्मिक ग्रन्थमा पढ्न पाइन्छ । कथाहरूले नागलाई अलौकिक शक्तियुक्त र सर्पहरूको राजा बताउँछन् । हामीलाई देख्ता–सुन्दा अनौठो लाग्ने शक्ति के सर्पमा साँच्चै हुन्छ ?

यसको उत्तर अलि जटिल छ । केही सर्प आकारका डरलाग्दा हुन्छन्, विषालु हुँदैनन् । केहीलाई हेर्दा सामान्य लाग्ने केही सर्प निकै विषालु हुन्छन् । सर्पका थुप्रै प्रजातिमध्ये तक्षक नाग नाम दिइएको सर्प पनि छ । नाम राख्ने पौराणिक कथाबाट प्रभावित भएको हुनुपर्छ । यसको डसाइबाट मान्छे त मर्दैन तर यो सर्प उड्न सक्छ ।

असोज ११ मा दाङको घोराही–२ सुर्केडाँगीमा तक्षक नाग भेटियो । दाङमा सर्प उद्धार गर्दै आएका वसन्त सुवेदीले खबर पाए । उद्धार गर्न भनी गए तर उनी पुग्दासम्म स्थानीयले त्यसलाई मारिसकेका थिए ।

वसन्तलाई स्थानीय आशिष सुवेदीले खबर गरेका थिए । पुग्न अलिकति ढिलाइले उनले त्यो सर्प मरिसकेको मात्रै देख्न पाए । अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने ‘तक्षक नाग’ नेपालमा सर्वत्र सजिलै देख्न पाइने सर्पमा पर्दैन । सर्पको यो प्रजाति निकै कम देखिएको छ ।

सरिसृप अध्ययनकर्ताहरूका अनुसार मान्छेले देख्यो कि मारिहाल्ने प्रवृत्तिले सर्पका प्रजाति त्यसै पनि संकटमा छन् । यस्तो अवस्था उनीहरूका प्रजाति छुट्याएर पहिचान गर्न झन् असजिलो छ । उद्धारकर्मी सुवेदीका अनुसार सुर्केडाँगीका स्थानीयले त्यो प्रकारको सर्प पहिलोपटक देखेको बताएका थिए ।

टोक्छ/टोक्दैन भन्ने थाहा नै नपाई डराएर मारिहाले । त्यस्तो सर्प २५ वर्षअघि दाङमै भेटिएको थियो । सन् १९९५ मा प्राध्यापक एवं सर्पविज्ञ करनबहादुर शाहको ‘इनुमुरेसन अफ द एम्फिबियन एन्ड रेप्टाइल्स अफ नेपाल’ नामक अनुसन्धानपत्रमा यो सर्पबारे उल्लेख छ ।

‘तक्षक नाग भनिने सर्प पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै भूभागमा पाइन्छ तर निकै कम देखिन्छ,’ प्राध्यापक शाह भन्छन्, ‘यो सर्प ५ सय मिटर उचाइ माथिदेखि नेपालका भित्री मधेसमा समेत पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय