शनिबार , बैसाख १५, २०८१

नागरिकता विवाद झिकेर फसाउन खोजियो : लामिछाने

‘मसँग कुनै दिन जीवित रहेको प्रमाणसमेत मागिने छ’

प्रकाशित मिति । ०१ मंसिर, २०७९ ।

काठमाडौँ — नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजेको बताएका छन् । उनले केही पनि नगर्नेले केही गर्छु भन्नेसँग सधैं जवाफ खोज्ने गरेको बताउँदै आफूलाई केवल जनताको मतले मात्रै जोगाउन सक्ने बताए ।

चितवनको नारायणी किनारमा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले चितवनले व्यक्तिलाई मात्रै नभएर देशलाई नै न्याय गर्नेमा आफूलाई विश्वास रहेको बताए । ‘म सधैं चक्रब्यूहमा रहने गरेको छु । सञ्चारकर्ममा रहँदा पनि मलाई सधैं घेराबन्दीमा पारिन्थ्यो । मैले जसोतसो तपाईंको मायाले सद्‍भावले ती घेराहरु तोड्न सफल भएको थिएँ,’ उनले भने, ‘म अहिले पनि यस्तो चक्रब्यूहमा छु, त्यो चक्रब्यूहबाट तपाईंहरुले घण्टी चिह्नमा मतदान गरेरमात्रै सम्भव हुनेछ ।’

उनले आफूले हिजोका दिनदेखि नै सबैको कानमा घण्टी बजाइरहेकोले गर्दा अभिमन्यूको नियति भोग्नुपरेको बताउँदै अब भने जनताको मत प्राप्त गरेपछि ‘ब्याण्ड’ नै बजाउने बताए । ‘मलाई पटक-पटक म हुनुको प्रमाण मागिन्छ । मलाई प्रश्नहरुको घेरामा राखिन्छ । मलाई पटक-पटक शंकाको घेरामा राखिन्छ,’ उनले भने, ‘विदेशको सुविधा छोडेर नगन्य व्यक्तिहरुमात्रै देश फर्केर आएका छन् । मैले देश फर्केर बिराएछु कि जस्तो पनि लाग्छ ।’

लामिछानेले नागरिकता विवादतर्फ इंगित गर्दै आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताए । ‘मलाई जिउँदो छस् भनेर प्रमाणित गर् भनिने छ र म त्यसको प्रमाण जुटाउन कुनै वडामा सिफारिस प्राप्त गर्नका लागि दस्तुर बुझाएको हुनेछु,’ उनले भने, ‘अब मसँग आफ्ना लागि भन्नुपर्ने केही पनि बाँकी छैन ।

म विवादसँग डराउने मानिस होइन । मलाई त देशै निकाल्न खोजेका मान्छेहरु पनि थिए । तर आज तिनीहरु कहाँ छन् मलाई थाह छैन । म हरेक नागरिकको घरमा सुखदु:खमा साथै छु ।’

उनले नेपाली नागरिकको दु:खलाई सम्बोधन गर्नकै लागि यो अभियान सुरु गरेको बताउँदै मंसिर ४ मा घण्टी चिह्नलाई मतदान गरी सहयोग गर्न आग्रह गरे । उनले आफ्नो पार्टीले चुनाव नजिते देश फेरि पनि भ्रष्टाचार र बेथितिको जालोमा पर्ने दाबीसमेत गरे ।

नारायाणी किनारमा आमसभामा भाग लिन जम्मा भएका हजारौं नागरिक स्वत:स्फूर्तरुपमा आएको बताउँदै उनले अब परिवर्तनलाई कसैले पनि रोक्न नसक्ने दाबी गरे ।

बलबहादुर राईले लडेको २०१५ सालको त्यो आमचुनाव

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तीन दिनमात्र बाँकी छ । मंसिर ४ गतेको चुनावलाई ‘लोकतान्त्रिक उत्सव’का रूपमा सम्पन्न गर्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरू घरदैलो, आमसभाको मैझारो गर्दैछन् ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार देशको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना रहेको छ । त्यसमध्ये मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० जना छन् । मतदानकै निम्ति विदेशमा रहेका मतदाता स्वदेश फर्किएका छन् । निर्वाचन आयोगले यसपटक देशभर १० हजार ८९२ स्थानमा २२ हजार २२७ वटा मतदान केन्द्र तोकेको छ । त्यहीं पुगेर मतदान गर्ने हो ।

हाम्रो भोटले जम्मा ८२५ जनप्रतिनिधि चुनिने छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ र समानुपातिकमा ११० जना निर्वाचित हुने छन् । त्यसैगरी प्रदेशसभा प्रत्यक्षतर्फ ३३० र समानुपातिकामा २२० जना चुनिने छन् । बहुदलीय प्रणाली भएकाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ६१ दल र समानुपातिकमा ४७ दल सहभागिता छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार २ हजार ४१२ जना र प्रदेशसभामा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रतिनिधिसभा समानुपातिक उम्मेदवार २ हजार ४०२ र प्रदेशसभा उम्मेदवार ४ हजार ५५ जना छन् ।

२०१५ सालको आमनिर्वाचन

देश नेपालमा पहिलो पटक विसं. २०१५ सालमा आमनिर्वाचन भएको थियो । प्रतिनिधिसभाका निम्ति १०९ प्रतिनिधि चयन भएको थियो । उक्त चुनाव २०१५ फागुन ७ देखि चैत २१ गतेसम्म ४५ दिनमा सम्पन्न भएको थियो । चुनावमा ७८६ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए । उतिखेर देशको जनसंख्या ८५ लाख ५० हजार थियो । जसमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान योग्य नागरिक थिए । देशभर विभिन्न चरणमा सम्पन्न निर्वाचनमा ४२ दशमलब १८ प्रतिशत मत खसेको थियो ।

उक्त आमनिर्वाचनमा देशमा प्रजातन्त्र ल्याउने सशस्त्रक्रान्ति छेडेको नेपाली कांग्रेस पार्टीले ७४ सिट जितेको थियो । उसले कुल मतदानको ३८ प्रतिशत मत हातपारेको थियो । त्यसपछि कांग्रेसका सभापति तथा संसदीय दलका नेता बीपी कोइराला देशको जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए ।

देशमा भएको त्यो पहिलो आमनिर्वाचनमा उम्मेदवारमध्ये एक थिए, बलबहादुर राई । नेपाली कांग्रेस पार्टीका नेता राई उतिखेर ओखलढुंगा दक्षिण क्षेत्रबाट निर्वाचन जितेर ‘मेम्बर अफ पार्लियामेन्ट’ (एमपी) बनेका थिए । २०४६ साल अघिसम्म उनी ‘एमपी बलबहादुर’ भनेर चिनिन्थे । त्यसपछि ‘मन्त्री बहादुर’ भनेर चिनिए, जो मन्त्रीमण्डलमा ज्येष्ठ सदस्यका हैसियतले १९औं पटक कार्यवाहक प्रधानमन्त्री बनेका थिए ।

राईको राष्ट्र र समाजमा औपचारिक परिचय छँदैछ । रोचक के छ भने केही प्रमाण फेलापरेका छन्, जसले नेता राईको राजनीतिक संघर्ष बोल्छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ उदैपुर गाउँस्थित मुखिया–जिम्मावालको वंशका साथमा फेलापरेका ती कागजातअनुसार बलबहादुर राईले समाजमा राजनीतिक संगठन विस्तार पहल गरेका थिए । चुनावमा जानुअघि उनले लेखेको हस्तलिखित पत्रमा छ–

दिनाङ्क, कार्तिक, २०१५

श्री ह. लाल बहादुर राई श्री नरजीत राई श्री मु. पञ्चध्वोज राई र अरु साथीहरूसमेत जय नेपाल ।

म काठमाण्डूबाट धमाधम आउँदैछु. हाम्रो सिनियर कमिटिको अघि बसेर यही २५ गते मानेभंज्याङमा हुने भएको छ साथै क्रान्ति दिवस पनि म २४ गते मानेभंज्याङ आइपुग्छु. तपाईहरू अरु साथीहरूसमेत २४ गते नै मानेभंज्याङ आउनुस् २५ गते .. सकि त्यसै दिन म ओखल्ढुंगा फिर्छु मार्ग १ गते राजनैतिक सम्मेलन ओखल्ढुंगामा हुने भएको छ र आसा राखिएको छ प्रधान मन्त्री र अन्ने मन्त्रीहरू पनि आउनु हुनेछ विशेष भेटमा ।

तपाईंहरूको साथी

बलबहादुर राई

(बलबहादुर राईको हस्ताक्षरसहितको पत्र दस्तावेज)

चुनावमा बलबहादुर राईले एक पानाको अपिलपत्र छपाएर बाँडेका थिए । जसमा कांग्रेसको रुख चिन्हमुनि ‘बलबहादुर राईजीको संक्षिप्त जीवनी’ लेखिएको व्यहोरा यस्तो छ :

पूर्व ३ नम्बर तलुवा मोली डाँडा गाउँको एक प्रतिष्ठित कुलमा जन्म भएको हो र वहाँका पिताजीको नाम छ नवलसिङ राई ।

वहाँ बालखकाल पढन र परोपकारी काममा खुबै दिल दिनुहुन्छ । १९९५ सालमा ओखल ढुङ्गा जङ्गी परेटमा जागीर खाई ९८ सालमा धनकुटा श्री जङ् पल्टन र पछि ६ थुम मालमा जागीरे हुने भो । त्यसपछि ०२ सालमा १३ थुम मालको जागिर खाई जनसेवा गर्नुभयो ।

२००७ सालदेखि नै नेपाली कांग्रेसको जनक्रान्तिको आन्दोलनमा सक्रिय भाग लि काम गर्नु भयो । ०८ सालमा जिल्ला सल्लाहकारमा बसी सुधार कामहरू गर्नु भयो । पछि ग्राम पञ्चायत गठन गर्ने काममा पूर्व ३ नम्बर जिल्लामै अफिसर भै पञ्चायत गठन गर्नु भयो । ०११ सालको केन्द्रीय सल्लाकार सभाको माननीय सदस्य हुनुभै देश र जनताको सुधार गर्नु भयो । ०११ सालको बाड पीडित भएको जनताको निमित्त केन्द्रबाट पैसा गहुँ, चामल, कपडाका निकाशा गर्नु भयो र जिल्ला बाड पीडित समितिमा बसी बाड पीडित जनतालाई पैसा वितरण गर्नु भो ।

हाल वहाँ नेपाली कांग्रेस पूर्व ३ नम्बर जिल्लाको उपाध्यक्ष र केन्द्रीय तजबीज कमिटिका सदस्य हुनु हुन्छ । वहाँमा देश सेवा जनसेवाको भावना छ । त्याग छ तपस्या छ सबै कामको पूर्ण अनुभव छ ।

वहाँलाई नेपाली कांग्रेसका तर्फबाट १८ नं. माने भन्ज्याङ क्षेत्रमा खडा गरेको छ । योग्य व्यक्ति बलबहादुर राईलाई तपाइँहरूको अमूल्य भोट रूपमा तस्बीर (चिन्ह) भएको बाकसमा भोट खसाली दिनु होस र जनताको सेवा गर्ने मौका दिनु होस ।

श्री “पशुपति–छापाखाना” नेपाल ।

(बलबहादुर राई संक्षिप्त जीवनी दस्तावेज)

६४ वर्षअघिको त्यो एकपाना अपिलपत्र अब अर्थात् ४ मंसिरमा हुन गइरहेको आम निर्वाचन–२०७९ सँग समानता राख्छ । फरक यत्ति हो कि उतिखेर उम्मेदवारको फोटो थिएन र अहिले फोटोसहित उम्मेदवारको संक्षिप्त परिचयसहित मोबाइल नम्बर, इमेल र बारकोड समावेश गर्न सक्छन् ।

उतिखेर नेपाली कांग्रेसले २०१५ सालको आमचुनावमा ‘भोटपत्र’ जारी गरेको थियो । रुख चिन्हसहित ‘८५ लाख नेपालीको कल्याण गर्नसक्ने पार्टी नेपाली कांग्रेस नै छ’ भन्दै चारपानाको भोटपत्रमा ‘नेपाली कांग्रेसले के के गर्छ’ भनेर ११ बुँदा र ‘के के गर्‍यो ?’ भनेर १० बुँदामा उल्लेख गरेको पाइन्छ । भोटपत्रको मुनि महामन्त्री सूर्यप्रसाद उपाध्यायको नाम अंकित छ ।

(२०१५ सालमा नेपाली कांग्रेसको भोटपत्र दस्तावेज)

त्यसबखत बलबहादुर राई चुनावकै निम्ति एक्कैचोटि ओखलढुंगा पुगेका थिएनन् । उनले २००९ र २०१० सालमा ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ लगायतका थुम–थुममा पुगेर सर्वसाधारणलाई नेपाली कांग्रेसको सदस्य बनाएका थिए । मानेभन्ज्याङ उदैपुर गाउँका तालुकदार ६५ वर्षीय पञ्चध्वोज ब्राङखेलचो राई, ४५ वर्षीय सोक्मटारका वीरर्सिं जिमी लगायतलाई सदस्य बनाएका थिए । त्यतिखेर बलबहादुर राई ३२ वर्षका थिए । उनी कांग्रेस उपशाखा मानेभन्ज्याङका मन्त्री थिए भने केन्द्रीय चेयरमैन तथा महामन्त्री महेन्द्र विक्रम शाह थिए । ती प्रयास बहुदलीय व्यवस्था स्थापना गर्नका निम्ति गरिएका थिए ।

(कांग्रेसको सदस्यता रसिद दस्तावेज)

विसं. १९७७ फागुन ६ गते ओखलढुंगाको मोली गाउँमा जन्मेका बलबहादुर राईको २०६७ असार २० गते निधन भएको थियो । २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि जेलमा परे । एक वर्ष जेल परेपछि उनको अंश सर्वस्वहरणमा पर्‍यो । त्यसपछि भारत प्रवासमा गएका थिए । २०२५ सालमा आममाफी पाएर फर्किएपछि २०२९ सालमा फेरि पक्राउ परेका थिए । नेपाली कांग्रेसले पञ्चायतविरुद्ध सशस्त्र क्रान्ति गरेको थियो । त्यसमा बलबहादुरसमेतले जेलनेल भोग्दै आएका थिए । २०४६ सालमा ३० वर्षे पञ्चायती व्यवस्था ढल्यो र प्रजातन्त्र बहाली भयो । त्यसपछि बलबहादुर राई ओखलढुंगा जिल्ला क्षेत्र नं.२ बाट २०४८, २०५१ सांसद निर्वाचित भएर दुई पटक मन्त्री बनेका थिए । नेता राई २०६२/६३ को जनआन्दोलनको मोर्चामा नेतृत्व गरेका थिए ।

(हुलाक टिकटमा अंकित बलबहादुर राईको तस्बिर)

निचोड, निर्वाचनलाई लोकतन्त्रको कुन्जी भनिन्छ । लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान राजनीति सफल देश निर्माणका निम्ति नभई निश्चित दलका निश्चित नेताका निम्ति पदीय सोपान भइरहेको स्थिति छ । १०४ वर्षको जहानियाँ राणाशासन ढालेर ०७ सालमा प्रजातन्त्र आयो । २०१५ सालमा आमनिर्वाचन भयो । ०१७ साल पुस १ गते प्रजातन्त्र निमोठिएर ३० वर्षसम्म पंचायती व्यवस्था लादियो ।

२०४६ सालमा प्रजातन्त्र आयो । फेरि २०५१ सालबाट सुरु भएको जनयुद्धको जगमा २०६२/६३ को जनआन्दोलन भयो । फलतः साढे दुईसय वर्षको राजतन्त्र ढल्यो र गणतन्त्र आयो । आदिवासी जनजाति आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलनलाई संविधान न राजनीतिक दल र तिनका नेता कसैले वास्ता गर्न सकेका छैनन् ।

देश नेपाललाई देश बनाउने नेता अहिलेसम्म देशले पाउन सकेको छैन । लाग्छ, अबको हुने आम चुनावहरूले त्यस्ता नेता जन्माउने छ, जसले देश बनाओस् । र, हामीले धेरैवटा आमचुनाव व्यहोर्नु नपरोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय