शनिबार , बैसाख १५, २०८१

काठमाडौ । बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले बुधबार उनलाई पक्राउ गरेको हो ।

 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बाँस्तोलाविरुद्ध आफ्नो कार्यालय तोडफोड तथा आफूविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीमा सोमबार जाहेरी दिएका थिए । प्रहरीले जिल्ला अदालत सुनसरीबाट मंगलबार पक्राउ अनुमति पाएपछि उनीहरूको खोजी सुरु गरेको थियो ।

 

बाँस्तोलालाई धरानबाटै प्रहरीले पक्राउ गरेको हो । संयोजक नेपालीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार मेयर साम्पाङले राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको र सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको भनेर जाहेरी दिएका छन् ।

 

गत आइतबार बराह बचत तथा ऋण सहकारीको बचतकर्ताहरूको रकम हिनामिना भएको विषयमा छानबिन समितिको बैठकमा पीडितहरूलाई मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भनेपछि पीडितहरू आक्रोशित भएका थिए ।

 

मेयर साम्पाङकै कारण आक्रोशित भिडले मेयर साम्पाङविरुद्ध नाराबाजी, गालीगलौजसँगै उहाँको कार्यकक्षको सिसा तोडफोड भएको थियो । आन्दोलनमा सयौँ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

बराह सहकारीबाट मागेर खानेदेखि प्रहरी, चिकित्सक, गृहणी, भूपू सैनिक, पत्रकार, कर्मचारीलगायत पीडित छन् । १५ हजारदेखि ३ करोडसम्म बचत गरेको पैसा पीडितहरूले लिन पाएका छैनन् ।

 

बराह ऋण तथा बचत सहकारीले बचतकर्ताहरूले राखेको करिब ८ अर्ब रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले संघर्ष समिति बनाएका थिए । बराहबाट पीडित ८ सय ८८ सेयर सदस्यको रूपमा हिसाब देखाएको छ । पीडितमध्येकै ८ हजार ७०० भन्दा बढीलाई भने सेयर सदस्यमा समेत राखेका छन् ।सहकारीहरूले सेयर सदस्यहरूसँग मात्र कारोबार गर्न पाउँछन् ।

 

तर, बराहले नियतवश उनीहरूलाई सेयर सदस्य नै नबनाई कारोबार गरेको देखिन्छ । बराह ग्रुपको नाममा बराहले धरान, भेडेटार, चितवन, काडमाडौं, पोखरा, हङकङलगायत स्थानमा व्यवसाय गर्दै आएको छ । पछिल्लो समय बचतकर्ताको पैसा अन्य व्यवसायमा लगानी गरेपछि बचतकर्ताको रकम बराहले फिर्ता गर्न सकेको छैन ।

 

जहाजको शौचालयमा धुवाँ देखिएपछि श्रीको जहाज नेपालगन्ज नै फर्कियो

 

काठमाडौँ — शौचालयबाट धुवाँ निस्किएपछि ७९ यात्रु बोकेर काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाज पुनः नेपालगन्ज नै फर्किएको छ ।

 

नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार, विहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका थिए ।पाइलटले ल्याबोटरीमा धुवाँ निस्किएको संकेत देखिएपछि ५ माइल (करिब ९ किलोमिटर ) बाटै जहाज फर्काए,’ विमानस्थल प्रमुख खनालले भने, ‘जहाज अवतरण भइसकेपछि हामीले पनि धुवाँ निस्किएको देख्यौं । इन्जिन बन्द गरेपछि धुवाँ पनि रोकियो ।’

 

उनका अनुसार उक्त विमानका सबै यात्रुलाई विमानस्थलमा राखिएको छ । श्रीले अर्को विमान पठाउने वा नपठाउनेबारे नेपालगन्ज विमानस्थललाई कुनै जानकारी गराइनसकेको खनालले बताए । श्रीसँग बमबार्डियर ४ र सीआरजे ४ गरी ८ वटा जहाज छन् ।

 

मुसहर बालबालिका विद्यालयबाहिरै

 

कमजोर आर्थिक अवस्थाका कारण पढाउन नसकिएको अभिभावकको भनाइ

 

सिरहा — सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित भारतीय सीमा दशगजानजिक पोखरी डिलमै ‘कट्टी टोल’ छ । टोलमा ५० घर भूमिहीन दलित मुसहर समुदायको बसोबास छ । सिंगो मुसहर बस्तीको गुजाराको माध्यम भनेको मजदुरी हो । बस्तीदेखि दुई सय मिटरनजिक नमुना प्राविधिक धार विद्यालय छ । तर, बस्तीमा आठ कक्षासम्म पढेका कोही भेटिँदैनन् ।

 

टोलभरि विद्यालय जाने उमेरका ७४ बालबालिका छन् । उनीहरू बस्तीको नजिकैको विद्यालयमा पढ्न जाँदैनन् । बरु दिनभर भाइबहिनी खेलाएर बस्छन् भने कोही बस्तुभाउ गोठाला ।

 

सरकारले बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन दिवा खाजा, पोसाक, निःशुल्क किताब उपलब्ध मात्र गराउँदैन, उनीहरूका लागि भनेर वार्षिक चार सय रुपैयाँ छात्रवृत्तिसमेत दिने व्यवस्था गरेको छ । तर यसले ‘कट्टीटोल’ का मुसहर बालबालिकालाई छुन सकेको छैन । ‘छोराछोरी पढाएर के गर्नु, नखटी पेट भरिँदैन,’ मजदुरी गरेर गुजारा चलाउँदै आएका बस्तीका जितन सदा मुसहरले भने, ‘हामी जीवनमा खटेपछि बालबच्चा घरमै छोड्नुपर्छ, भाइबहिनी हेरालुका लागि पनि विद्यालय जान पाउँदैनन् ।’

 

४ कक्षासम्म पढेर बीचमै पढाइ छाडेका जितनका ३ छोरा र १ छोरी छन् । बीचमै पढाइ छाडेको पिरालो भए पनि जितनले अक्षरसम्म चिन्न सक्ने बनाउन छोरालाई विद्यालय पठाएका थिए । तर छोराले पढाइ छाडेपछि उनले शिक्षामा चासो दिएनन् । जितनका अनुसार बस्तीका वैदेशिक रोजगारीमा गएका केहीले मात्र बालबालिकालाई विद्यालय पठाउन थालेका छन् । बस्तीभरिमा प्रभु सदाय मुसहर, जनक, बद्री र रामपुकारका बालबालिका विद्यालय जान्छन् । प्रभुका २ छोरा र १ छोरी, जनकको २ छोरा र १ छोरी, बद्रीका छोरी प्रियंका र रामपुकार छोरी शान्ति विद्यालय जान्छन् ।

 

उनीहरू वैदेशिक रोजगारीका लागि कतारमा छन् ।विदेशबाट पति रामपुकारले छोरी पढाउन भनेपछि विद्यालय पठाउन थाले,’ प्रमिला देवीले भनिन्, ‘विदेश पढाइ र सीप नहुँदा साह्रै दुःख पाएको पतिले सुनाएपछि छोरी शान्तिलाई पढ्न पठाए ।’ उनका अनुसार बस्तीबाट ८ जना मात्रै विद्यालय जाने गरेका छन् । ‘छरछिमेकलाई समेत बालबालिका विद्यालय पठाउ भन्दा मान्दैनन्,’ उनले भनिन्, ‘विद्यालय पठाएर बालबच्चा र बस्तुभाउ कसले हेर्छ भनेर हप्काउँछन् ।’

 

‘कट्टी टोल’का बासिन्दा गाउँ ब्लक जग्गा र पोखरी छेउ ऐलानी जग्गामा बसोबास गर्छन् । बस्तीमा पुग्ने बाटो, बिजुलीसमेत छैन । विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन ।

जनता मावि प्राविधिक धारका प्रधानाध्यापक वीरबल यादवले मुसहर बस्तीका केही बालबालिका मात्र विद्यालय आउने गरेको जानकारी दिए । ‘बस्तीमा बर्सेनि गएर बालबालिकालाई विद्यालय पठाउन अनुरोध गर्दै आएका छौं,’ उनले भने, ‘अभिभावकले नै चासो नदेखाएपछि विद्यालयले केही गर्न सक्ने कुरै भएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय