शुक्रबार , बैसाख १४, २०८१

व्यक्तिवादी अहंकार र दम्भ हावी भएपछि नेकपा (एमाले)का इमान्दार नेता तथा कार्यकर्ता निराश बनेका छन् । मूल्य, मान्यता, लक्ष्य, उद्देश्य भुलेर अध्यक्ष केपी शर्मा ओलीले खल्तीबाट नेता छान्दा एमालेमा ठूलो पंक्ति असन्तुष्ट छ ।

 

यद्यपि, ओलीको गलत क्रियाकलापबारे धेरैले मुख खोल्न सकेका छैनन् । कतिपय केही दिइहाल्छन् कि भन्ने आशामा छन्, कतिपय ओली प्रवृत्ति बोक्दा पाएको भाग पनि खोसिने हो कि भन्ने त्रासमा छन् । केहीले ओली प्रवृत्तिविरुद्ध बिद्रोह नै गरेका छन् ।

 

बिद्रोह गर्ने मध्येका एक हुन ४० वर्ष भूगोलमा बसेर एमालेका निम्ति पसिना बगाएका पूर्वसांसद सुवास कर्माचार्य । ओली प्रवृत्तिविरुद्ध लड्नकै निम्ति एमालेसँगको राजनीतिक यात्रा त्यागेको कर्माचार्य बताउँछन् । एमाले छाड्नुको कारण र अबको बाटोबारे कर्माचार्यसँग दृष्टिले गरेको संवाद:

 

४० वर्ष बिताएको पार्टी नेकपा (एमाले) किन छोड्नुभयो ?

 

लामो समयसम्म एमालेमा बसेर काम गरेँ । पार्टी र संगठन निर्माणमा योगदान गरेँ । कम्युनिष्टप्रति आम कार्यकर्ता, आम नेपालीको अपेक्षा थियो ।

 

नेकपा (एमाले) साच्चै कम्युनिष्ट पार्टी होला, श्रमजीवि जनताको प्रतिनिधिको रुपमा समाजमा रहेका सबै खालका विभेदहरू अन्त्य गरेर समृद्ध समाज निर्माणको नेतृत्व गर्ला र पार्टी सबै हिसाबले कम्युनिष्ट आचरण, शैलीसहितको बन्ला भन्ने अपेक्षा थियो ।

 

तर, पछिल्लो पटक नेतृत्वमा विचलन आयो । सुध्रने सम्भावना देखिएन । यस्तो गलत प्रवृत्तिको खबरदारी गर्न आवश्यक ठानेर एमालेबाट बिद्रोह गरेको हुँ ।

 

त्याग, तपस्या गरेका नेता तथा कार्यकर्ता एमालेबाट पाखा लाग्ने अवस्था कसरी बन्यो ?

 

पछिल्लो केही समयदेखि अर्थात केही वर्षदेखि पार्टीले आधारभूत रुपमा मूल्य, मान्यता, लक्ष्य, उद्देश्य छाड्दै जाने र पार्टीको आदर्शबाट स्खलित हुँदै जाने अवस्था भयो । आन्तरिक जीवनभित्र पनि एमाले कम्युनिष्ट पार्टी नभएर एमाले एउटा व्यक्तिको कम्पनीजस्तो भयो ।

 

हिजो आन्तरिक जनवाद हुन्थ्यो, विविध विषयमा मतहरू आउँथे । ती मतहरूलाई सम्मान गर्ने परिपाटी थियो । निर्णय गर्ने एउटा प्रक्रिया थियो ।

 

तर, आज एमालेभित्र विधि, प्रक्रिया, पद्धति नष्ट भएर गयो । पार्टीको माथिल्लो तहमा होस वा सरकारको नेतृत्व गर्ने ठाउँमा पुग्दा नै किन नहोस नेतृत्व चुक्दै गयो र असफल हुँदै गयो ।

 

तर, एमालेले त जनताको बहुदलीय जनवाद मान्छौँ भनिरहेको छ ? व्यवहारमा कहाँ तालमेल मिलेन ?

 

जननेता मदन भण्डारीको नेतृत्वमा हामीले जुन खालको नीति अवलम्बन गर्यौं त्यो दुनियाँलाई मार्गनिर्देशन गर्ने खालको थियो ।

 

माक्र्सवादलाई सिर्जनात्मक ढंगले लागू गर्ने सन्दर्भमा जबज उपयुक्त थियो । व्यवहारमा पनि त्यो सिद्ध भयो । संसारमा धक्का खाइरहेको कम्युनिष्ट आन्दोलनलाई जबजको माध्यमबाट हामीले गति दिने काम गर्यौं । नीति ठीक भयो, कार्यदिशा सही अवलम्बन गरेकै कारण एमाले लोकप्रिय बन्यो ।

 

हामीले नवौँ महाधिवेशनसम्म आइपुग्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा, समृद्धि र समाजवादको लक्ष्य किटान गरेका हौँ । त्यही नारा र कार्यदिशालाई जनताले विश्वास गरेर कम्युनिष्ट इतिहासमै ठूलो सफलता प्राप्त गर्यौं ।

 

विपरित ध्रुवमा रहेका कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउन सफल भयौँ । तर, दुःखका साथ भन्नुपर्छ– नवौं महाधिवेशनपछि केपी शर्मा ओलीको नेतृत्वमा एमालेले नीति अनुसारको काम गर्न सकेन ।

 

आज हामी के भन्न सक्छौँ भने, नीतिलाई कार्यान्वयन गर्ने सवालमा, व्यवहारमा उतार्ने क्रममा हामी चुक्यौँ, हाम्रो नेतृत्व चुक्यो । जसका कारण दुईतिहाइ मतसहित प्रधानमन्त्री भएका ओली सत्ताबाट सडकमा पुगे ।

 

 

एमाले कसरी बिग्रियो ?

 

दुनियाँमा निकै उचाइमा पुगेको राजनीतिक आन्दोलन पनि समाप्त भएको इतिहास छ । ८० को दशकपछि सोभियत संघले सिंगो दुनियाँको समाजवादी आन्दोलनको नेतृत्व गरिहेको थियो । संसारका धेरै मुलुकहरूमा समाजवादी आन्दोलन फस्टाएको थियो ।

 

तर, हेर्दाहेर्दै प्रतिक्रियावादी शक्तिहरूले एउटा बन्दुकसमेत नपड्काइ सोभियत संघ ध्वस्त भयो । हाम्रो छिमेक पश्चिम बंगालमा पनि दशकौँदेखि जनताको अभिमत प्राप्त गरेर ठूलो सफलता प्राप्त गरेको कम्युनिष्ट आन्दोलन समाप्त भयो ।

 

जब कुनै कम्युनिष्ट पार्टीले ठीक नीति अवलम्बन गर्दैन, ठीक नेतृत्वको हातमा त्यो आन्दोलन पर्दैन, गलत नीति र गलत नेतृत्वकै कारण दुनियाँमा कम्युनिष्ट आन्दोलन धराशायी भएको छ । त्यो उचाइमा पुगेको एमाले गलत नेतृत्वकै कारण धरासायी बन्दैछ । संघीय सरकार आज एमालेको हातमा छैन ।

 

संघीय संसद्मा दुईतिहाइ हाराहारीमा पुगेको शक्ति आज छिन्नभिन्न छ । सबै प्रदेश सरकारबाट पनि एमालेले हात धुनुपरेको छ । अब, यही हिसाबले जाने हो भने भोलि अवस्था के होला, सहजै अनुमान गर्न सकिन्छ ।

 

यस घटनालाई विश्लेषण गर्दा के हामी अग्रगतितिर गइरहेका छौँ ? कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउनेतर्फ गइरहेका छौँ ? कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने कुरामा हामी सफल भयौँ त ? मूलरुपमा गलत नीति, गलत नेतृत्वको कारण कम्युनिष्ट आन्दोलन धरासायी हुने, स्खलित हुने अवस्थामा पुगेको छ भन्न अब कुनै दुविधा छैन ।

 

भनेपछि एमाले अव समाप्तिको बाटोमै गएको हो ?

 

समाप्तिको बाटोमा त म भन्दिनँ अहिले । तर, एमालेभित्रको मूल नेतृत्वको जुन प्रवृत्ति छ, त्यो भाँचिन्छ । यसले गम्भीर धक्का खान्छ । राष्ट्रिय राजनीतिमा हिजो खेलेको भूमिकामा अब एमाले रहँदैन । किनभने, नेतृत्व नै गलत बाटोमा हिँडेपछि कहाँ पुग्छ ?

 

ओली प्रवृत्तिविरुद्ध त पार्टीभित्रै रहेर संघर्ष गर्न सकिन्थ्यो होला नि ?

 

यो प्रश्न धेरैले गर्नुभएको छ । मैले एमालेसँगको राजनीतिक आवद्धताबाट सम्बन्ध विच्छेद गरेको घोषणा गरिसकेपछि धेरै साथी, शुभचिन्त र नेताले यो कुरा भनिरहनुभएको छ ।

 

धेरै साथीसँग छलफल गरेर नै म यो निष्कर्षमा पुगेको हुँ । मैले कुनै भावावेशमा वा आक्रोशमा यो निर्णय गरेको होइन । आन्तरिक संघर्ष ठीक हो ।

 

तर, आन्तरिक संघर्ष एमालेको जीवनमा बाँकी छ र ? पार्टीभित्र छलफल हुन्छ र ? मतहरू प्रकट हुन्छन् र ? फरक मत, दृष्टिकोणलाई सम्मान गरिन्छ र ? गम्भीरतापूर्वक जनवादी प्रक्रियाबाट समाधान खोजिन्छ र ? त्यसपछि निकालिएका निष्कर्षहरूलाई अवलम्बन गरेर अगाडि बढ्छौँ ? एमाले आज त्यो अवस्था छ ।

 

म सानो उदाहरण भन्छु– हामीले विधानमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था गर्यौं । ३०१ जनाको १० प्रतिशत भनेको कति हो ? ३१ जना नै मानिदिऔँ । तर, केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा त ४४ जना भर्ती गरिदिनुभयो । धेरै पुराना नेताहरूले कुरा उठाउनुभयो– अध्यक्ष कमरेड यो त विधानअनुसार भएन । न्यायसँगत पनि भएन ।

 

आदर्श, मूल्यमान्यताअनुसार पनि भएन । के केपी ओलीले सुन्नुभयो त हाम्रो कुरा ? आफ्नोभन्दा फरक विचार ओली सुन्न चाहनुहुन्न । अब तपाईं भन्नुस– चुनाव मुखमा आइरहेको छ । अब, मेहनत गरेका, जनताको बीचमा स्थापित नेताले टिकट पाउने अवस्था एमालेमा छ ? पक्कै पनि छैन ।

 

त्यसकारण आन्तरिक संघर्षको जुन कुरा गर्नुभयो, त्यसको औचित्य समाप्त भएको छ । कम्युनिष्ट आन्दोलनभित्रका गलत प्रवृत्तिको खबरदारी गर्न एमालेभित्र रहेर सम्भव छैन । जसले आन्दोलनलाई समाप्तिको दिशामा लगिरहेको छ, उसैले मेहनत गर्ने, पुराना, पाका, इमान्दार मान्छेलाई निरुत्साहित गर्ने प्रवृत्ति छ ।

 

कुनै कुराको सुनुवाइ एमालेमा हुँदैन, आफ्ना सारा पीडा लुकाएर बस्नु भनेको आत्मसमर्पण गर्नु नै हो । फेरि पनि ओलीले ठान्छन्– सबै ठीक छ, आच्छा छ । कसैले बोलेका छैनन्, बोल्न सक्दैनन् ।

 

कम्युनिष्ट आन्दोलन नै समाप्तिको दिशामा जाने अवस्था आइसकेकाले अब बिद्रोहको विकल्प छैन । बिद्रोह गर्नुपर्छ, गलत कुराको विरुद्धमा खबरदारी गर्नुपर्छ, देशव्यापी आह्वान गर्नुपर्छ भनेर नै मैले बिद्रोह गरेको हुँ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय