शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

नेपाली कांग्रेसको १४औं महाधिवेशन यही शुक्रबारबाट सुरू हुँदैछ। शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

कांग्रेसले करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधिलाई काठमाडौंमा बिहीबार साँझदेखि मंसिर २७ गतेसम्म बसोबास र खानाको व्यवस्था गरेको छ। बिहान र बेलुकी महाधिवेशन स्थलमै खाना खुवाउने व्यवस्था छ।

महाधिवेशन प्रतिनिधिलाई राख्न ठमेल, सुन्धारा र गौशालामा गरी करिब सयवटा होटल बुकिङ गरिएका छन्। खाना र बसोबासका लागि मात्रै कांग्रेसले साढे ३ करोड रूपैयाँ खर्च लाग्ने बताएको छ।

महाधिवेशन अवधिभर सात करोड रूपैयाँ खर्च लाग्ने कांग्रेस केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिले अनुमान गरेको छ। त्यसैनुसार पैसा जुटाउने कामसमेत भएको छ।

कांग्रेसले महाधिवेशनका लागि चन्दा नउठाउने भएको छ। सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा आर्थिक समिति बनेको छ। समितिमा रहेका सदस्यहरूबाटै सुरूमा आर्थिक सहयोग लिइएको छ।

‘पार्टीले महाधिवेशनका लागि गठन गरेको आर्थिक समितिमै रहेका साथीहरूबाट पैसा उठाएका छौं। चन्दा नउठाउने, धेरैलाई दु:ख नदिने भन्ने छ,’ समितिका एक सदस्यले सेतोपाटीसँग भने।

महाधिवेशनका लागि आवश्यक ७ करोड खर्च व्यवस्थापन गरिसकिएको उनको भनाइ छ।

‘क्रियाशील सदस्यता वितरण र नवीकरणबाट उठेको पैसा हामीले हिसाब गरेका छैनौं,’ उनले भने, ‘हामीले आफैं-आफैं खल्तीबाट पैसा हालेका छौं। क्रियाशीलको शुल्क पार्टीकै खातामा होला।’

‘हामीलाई कुल ९ करोड आवश्यक पर्छ भनेका थिए तर अहिले ७ करोड सुनिश्चित भइसकेको छ,’ ती नेताले भने, ‘थप आवश्यक पर्‍यो भने अन्यत्रबाट पनि सहयोग लिन्छौं।’

राज्यमन्त्रीसमेत रहेका नेता उमेश श्रेष्ठले २५ लाख, सांसद विनोद चौधरीले २५ लाख र नेता जीपछिरिङ लामाले २५ लाख रूपैयाँ महाधिवेशन गर्न खर्च दिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।

‘कसैले २५ लाख त कसैले ५० लाखसम्म पनि दिएका छन्,’ ती नेताले भने, ‘अहिलेसम्म सात करोड उठिसक्यो, थप चाहियो भने पनि व्यवस्थापन हुन्छ।’महाधिवेशन एक दिन थपियो भने पनि खाना र बसोबासकै लागि ८० लाख थप खर्च लाग्ने अनुमान छ।

आर्थिक समितिकै संयोजक रहेका मन्त्री कार्कीले पनि पैसा उपलब्ध गराएका छन्। ‘मन्त्रीज्यूले मसँग त पैसा छैन भन्नुभयो, उहाँले १० लाखभन्दा त सक्दिनँ भन्नुभएको छ,’ ती नेताले भने, ‘हामीले कांग्रेसकै नेताहरूबाट महाधिवेशन खर्चको व्यवस्थापन गर्‍यौं। बाहिरकालाई दु:ख दिएनौं।’

महाधिवेशनका लागि उठाइएको यो पैसा राख्न बेग्लै खाता सञ्चालन गरिएको छ। मन्त्री कार्की, मोहन आचार्य र दीपक खड्का लगायतको हस्ताक्षर चल्ने गरी खाता खोलिएको ती नेताले बताए।

‘महाधिवेशनमा हुने सबै खर्च पारदर्शी हुन्छ,’ ती नेताले दाबी गरे। कांग्रेसको खातामा भने १० करोड रूपैयाँ रहेको कोषाध्यक्ष सीतादेवी यादवले तयार पारेको आर्थिक प्रतिवेदनमा उल्लेख छ। यो खबर सेतोपाटी डटकममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय