शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौँ – नेकपा एमालेले पार्टीको महाधिवेशन मध्य नेपाल भनेर चिनिने चितवनमा गर्ने भएको छ। एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुँदैछ।

एमालेले सुरुमा काठमाडौँमा महाधिवेशन गर्ने घोषणा गरेको थियो। तर, असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले बुटवलमा गर्ने निर्णय लियो।

त्यसको २० दिनमै बिहीबार बसेको स्थायी कमिटी बैठकले दसौँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ।

काठमाडौँमा नवौँ महाधिवेशन गरेको एमालेले यसपटक किन बारम्बार स्थान परिवर्तन गरिरहेको छ त?एमाले केन्द्रीय सदस्य तथा कार्यालयका मुख्यसचिव शेरबहादुर तामाङले यसअघि प्रस्तावित स्थान स्थायी कमिटी बैठकबाट अनुमोदन नभएको बताए।

‘यसअघि महाधिवेशन गर्ने स्थान प्रस्ताव गरिएका मात्र थिए,’ तामाङले नेपालखबरसँग भने, ‘तर, त्यसलाई हिजो बसेको स्थायी कमिटी बैठकले परिवर्तन गरेर दसौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ।’

चितवनमा महाधिवेशन गर्ने निर्णय भएपछि त्यसको तयारीमा नेताहरु जुटिसकेका छन्। एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल शुक्रबार नै चितवन पुगेर बैठक राखिसकेका छन्। एकहप्ताभित्र बन्द सत्र र खुला सत्र गर्ने स्थान टुंगो लगाउने उनले बताए।

‘एक हप्ताभित्र महाधिवेशनको खुला र बन्द सत्र कहाँ गर्ने भनेर स्थान निर्धारण गरी केन्द्रमा पठाउँछौँ,’ उनले भने, ‘सकभर भरतपुर क्षेत्रमै गर्छाैँ।’तामाङले चितवनमा हुने महाधिवेशनमा पाँच लाख मानिस उतार्ने बताए।

‘हामीले खुला सत्रमा ५ लाख मानिस उतार्ने तयारी गरेका छौँ,’ तामाङले भने, ‘ती सबै मानिस अट्ने स्थान छनोट हुन्छ।’पोखरेलले पनि पाँच लाख नेता कार्यकर्ता सहभागी हुने महाधिवेशनको खुला सत्र नारायणी किनारमा गर्न सकिन्छ कि भनेर ठाउँ हेरिरहेको बताए।

बुटवलबाट महाधिवेशन किन चितवन सारियो भन्ने प्रश्नमा तामाङले भने, ‘चितवन नेपालकै मध्य क्षेत्रमा छ, सबै जिल्लाबाट आउने साथीहरुलाई ‘सेन्टर’ पर्ने भएकोले चितवन रोजिएको हो। अर्काे भनेको त्यहाँ खुला क्षेत्र धेरै छ, व्यवस्थापन गर्न सजिलो पनि हुन्छ।’

प्रचण्डको गृहजिल्लामा एमालेको धावा?

तर, एमालेकै नेताहरु भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरेर चितवनमा महाधिवेशन राखिएको बताउँछन्। चितवन प्रचण्डको गृहजिल्ला हो। उनको निर्वाचन क्षेत्र त्यहीँ पर्छ। त्यसमाथि उनकी छोरी रेणु दाहाल भरतपुर महानगरको मेयर छिन्।

पछिल्लो समय निर्वाचनमा आफूलाई बलियो बनाउन प्रचण्डले थुप्रै विकास निर्माणका काम चितवनमा केन्द्रित गरेका छन्।तर, प्रचण्डको गढमा धावा बोलेर निर्वाचनका लागि सन्देश दिन खोजेको एमाले नेताहरु बताउँछन्।

‘आगामी निर्वाचनमा एमालेलाई कमजोर बनाउन जोर गरिरहेकाहरुलाई एउटा सन्देश दिनको लागि यो ठाउँ रोजिएको हो,’ एमालेका चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारीले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा भव्य कार्यक्रम गरेर हामी चितवनमा बलियो छौँ भन्ने देखाउँछौँ।’

एमाले नेता देवी ज्ञवालीले चितवनमा महाधिवेशन गर्न आफूहरुले पहल गरेको दाबी गरे। ‘दसौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्न चितवन जिल्ला कमिटी र बागमती प्रदेश कमिटीले अध्यक्षसँग आग्रह गरेका थियौँ,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘हाम्रो आग्रहलाई पार्टी नेतृत्वले विश्वास गरेको छ।’

२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन थियो। गठबन्धन उम्मेदवार रेणु दाहाल र एमाले उम्मेदवार देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा थियो। तर, मतगणनाका क्रममा मतपत्र च्यातिएपछि वडा नम्बर १९ मा पुनः मतदान गरिएको थियो र दाहाल मेयरमा निर्वाचित भएकी थिइन्।

तर, यसपटक चितवनमा माओवादी प्रतिस्पर्धामै नभएको ज्ञवालीको दाबी छ।‘चितवनमा मात्र होइन, देशभर एमालेको प्रतिस्पर्धी कांग्रेसमात्र हो, माओवादी त रेसमै आउँदैन,’ ज्ञवालीले जिकिर गरे, ‘एमालेको लोकप्रियताबाट अत्तालिएको कांग्रेसलाई चितवनमा महाधिवेशन गरेर अर्काे सन्देश दिन चाहन्छौँ।’

त्यस्तै, महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजक रामबहादुर थापा बादललाई बनाइएको छ। पहिले माओवादीका नेता उनले नेकपा विभाजनका बेला एमाले रोजेका थिए। उनको गृहजिल्ला पनि चितवन नै हो।

बादललाई अघि सारेर माओवादीका मतदाता तान्ने एमालेको रणनीति देखिन्छ। चितवनमा माओवादीको सैन्य शिविर थियो। समायोजनपछि केही पूर्वलडाकु चितवनमै बसेर माओवादीमा सक्रिय छन्। तिनलाई पनि एमालेमा खुल्ने वातावरण बनाइने एमाले चितवनका एक नेताले बताए।

कहाँकहाँ भए अहिलेसम्मका महाधिवेशन?
एमाले बनेपछि जम्मा ५ वटा मात्र महाधिवेशन भएको छ। त्यसअघि नेपाल कम्युनिस्ट पार्टी हुँदै ४ वटा महाधिवेशन सम्पन्न भएका थिए।

२००६ साल वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले २०१० माघ १७ गते पहिलो महाधिवेशन गरेको थियो। भूमिगत रूपमै पाटनमा उद्घाटन भएर काठमाडौँ र पाटनमा गरी नौ दिनसम्म महाधिवेशन चलेको थियो। महाधिवेशनबाट मनमोहन अधिकारी महासचिव भए।

चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन अधिकारीको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल चीन गएका बेला केशरजंग रायमाझी कार्यवाहक महासचिव तोकिए। तर, उनले पार्टी नै कब्जा गर्ने प्रयास गरे।

उनले पार्टीलाई वैधानिक संघर्षमा अघि बढाउने उद्देश्यले ‘पार्टी कार्यक्रममा परिवर्तन किन?’ भन्ने दस्तावेज अघि सारे।त्यो दस्तावेज अत्यन्त विवादित बन्यो र दुई धार देखा पर्यो। एउटा धारको नेतृत्व पुष्पलालले गरे, अर्को धारको नेतृत्व रायमाझीले।

दोस्रो महाधिवेशन
नेकपाको दोस्रो महाधिवेशन २०१४ को जेठ १५–२५ मा काठमाडौँको फोहरा दरबारमा खुला रूपमा भएको थियो। पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारी चीनमा उपचारका लागि रहेकाले उपस्थित हुन सकेनन्। रायमाझी महासचिव बने।

तेस्रो महाधिवेशन
२०१९ वैशाख ४ देखि १५ गतेसम्म नेकपाको तेस्रो महाधिवेशन भारतको सिलगुढीमा भएको थियो।

अन्तरजोन सामञ्जस्य समितिले सो महाधिवेशन आयोजना गरेको थियो। समितिका सचिव तुलसीलाल अमात्यद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई महाधिवेशनले पारित गर्यो। महाधिवेशनले ५१ सदस्यीय राष्ट्रिय परिषद् र सात सदस्यीय सचिवालय (राजनीतिक समिति) निर्माण गर्यो। त्यसको महासचिवमा तुल्सीलाल अमात्य चयन भए।

२०२४ सालमा पुष्पलाल पक्षबाट केन्द्रीय समिति निर्माण गर्दै सम्मेलन आयोजना भयो। त्यसले पुष्पलालद्वारा प्रस्तुत गरिएको पार्टी सिंहावलोकन दस्तावेजलाई मस्यौदाका रूपमा पारित गर्यो। र, २०२५ जेठमा सो समूहले तेस्रो सम्मेलन गरी बेग्लै पार्टी केन्द्रको घोषणा गर्यो, जसको महामन्त्री पुष्पलाल बने।

जेलमा रहेका नेताहरू छुटेर आएपछि २०२८ मंसिर २० गतेका दिन केन्द्रीय न्युक्लियसको गठन भयो।केन्द्रीय न्युक्लियसले मनमोहन, शम्भुराम र मोहनविक्रमलाई कार्यालय सञ्चालन गर्ने जिम्मा दियो। केन्द्रीय न्युक्लियसको एउटा पक्षले मोहनविक्रमको नेतृत्वमा २०३१ भदौ ३० देखि असोज ७ गतेसम्म भारतमा चौथो महाधिवेशन गर्यो।

अर्को पक्षले भने २०३६ सालमा एकता सम्मेलन गरी नेकपाको घोषणा गर्यो।२०३५ पुस ११ मा कोअर्डिनेसन केन्द्रले एक सम्मेलन गरी नेकपा (माले)को स्थापना गर्यो। त्यसपछि नेकपा (माले)मा नयाँ क्रान्तिकारी समूहहरू एकताबद्ध हुने लहर नै चल्न थाल्यो। त्यसको परिणामस्वरूप नेकपा (माले) नेपाली कम्युनिस्ट आन्दोलनको सर्वाधिक प्रभावशाली पार्टीका रूपमा विकास भयो।

चौथो महाधिवेशन
२०४६ भदौ ९–१४ मा नेकपा मालेको चौथो महाधिवेशन सिरहा जिल्लामा भूमिगत रूपमा भएको थियो। महाधिवेशनले मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्यो।संयुक्त वाममोर्चामा भएको सहकार्यका कारणले नेकपा (माले) र मार्क्सवादी पार्टीबीच २०४७ चैतमा पार्टी एकता भएर बन्यो, नेकपा एमाले।

पाँचौँ राष्ट्रिय महाधिवेशन
पाचौँ महाधिवेशन २०४९ माघ १४–२० मा काठमाडौंमा खुला रूपमा भयो।सो महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गर्यो।

छैटौँ राष्ट्रिय महाधिवेशन
एमालेको छैटौँ राष्ट्रिय महाधिवेशन २०५४ माघ १२ देखि १८ सम्म नेपालगञ्जमा भयो।९०० प्रतिनिधि सहभागी महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र माधव नेपाललाई महासचिवमा चयन गर्यो।

सातौँ राष्ट्रिय महाधिवेशन
सातौँ राष्ट्रिय महाधिवेशन २०५९ माघ १८–२२ मा जनकपुरमा भएको थियो। महाधिवेशनमा एक हजार १२ प्रतिनिधि सहभागी थिए।१०७ जना उम्मेदवारमध्येबाट महाधिवेशनले पूर्ण ४३ र वैकल्पिक १२ गरी ५५ सदस्यको केन्द्रीय कमिटीको निर्वाचन गरेको थियो।

आठौँ राष्ट्रिय महाधिवेशन आठौँ राष्ट्रिय महाधिवेशन २०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा भयो।

महाधिवेशनले एमालेको सांगठनिक संरचनामा फेरबदल गरी अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहितको ‘बहुपदीय व्यवस्था’ गर्यो। महाधिवेशनले झलनाथ खनाललाई अध्यक्षका रूपमा निर्वाचित गर्यो।

नवौँ महाधिवेशन २०७१ असार १९ गतेदेखि साउन १ गतेसम्म नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा भएको थियो।महाधिवेशनमा भएको निर्वाचनले केपी शर्मा ओलीको नेतृत्वमा १५९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो। अध्यक्षमा ओली निर्वाचित भए। यो खबर सिधाकुरो डटकमबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय