काठमाडौं ।

ओली भर्सेस प्रचण्ड : कसले लियो बदला ? यस्तो छ पर्दा पछाडिको खेल
काठमाडौं । नेपालको राजनीति अहिले प्रतिशोधपूर्ण अवस्थामा छ । शक्तिशाली दलहरु चिरा परेका छन् । मुलुक संकटमा परेका बेला दलहरु प्रतिशोधपूर्ण राजनीतिक गरिरहेका छन् ।

प्रतिशोधपूर्ण राजनीति गर्नेमा अग्रभागमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् । र बाँकी रहेका दलहरु उनीहरुको सारथी बनेका छन् । जनताले बहुमतको सरकार दिए पनि नेताहरुले मुलुकलाई अस्थिरतामा लगेर आ–आफ्नै डम्फू बजाइरहेका छन्, सत्ताको म्युजिकल चयर खेलिरहेका छन् ।

साढे तीन वर्ष अघि शक्तिशाली कम्युनिष्ट पार्टीको बोइङ जहाज उडाएका दुई क्याप्टेन ओली र प्रचण्डले अहिले आफ्नो विमान दुर्घटनामा पारेका छन्, घाइते र मुर्छित अवस्थामा रहेका यात्रुहरुले आफ्नो नेता र पार्टी चिन्न नसकेर प्यानल परिवर्तन गरेका छन् ।

नेकपा नामक बोइङ उडाएका ओली र प्रचण्डको टकरावले सो जहाज दुर्घटनामात्रै परेन, मुलुक नै अस्थिरत राजनीतिकको भड्खालोमा परेको छ । र फेरि एकपल्ट नेताहरुले आफ्नो राजनीतिक चरित्र जनतामाझ प्रष्ट्याएका छन् ।

कसको के दाउ ?

ओली र प्रचण्डले एकअर्कालाई राम्रैसँग चिन्दथे । उनीहरुको राजनीतिक चरित्र र व्यवहारबारे दुवै जानकार नै थिए । तर, २०७४ सालको निर्वाचनमा एक्कासि एमाले र माओवादीबीच एकीकरण गर्न उनीहरु किन राजी भए ? सायद एउटै घरमा रहेर एकअर्काको राजनीति सिध्याउने र आफू कम्युनिष्ट पार्टी र सरकारको शक्तिशाली व्यक्ति बन्ने दाउ थियो कि ?

तत्कालीन ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको काँधमा चढेर दोस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २०७४ सालमा स्थानीय तहको निर्वाचन गराए । ओलीको राष्ट्रवादको अगाडि कांग्रेस र माओवादीले घुँडा टेके । अर्थात स्थानीय तहमा एमालेले नै बर्चश्व जमायो ।

यसपछि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको लज्जास्पद हार हुने प्रचण्डले बुुझे । स्थानीय तहको निर्वाचनमा सत्तासाझेदार कांग्रेसका कार्यकर्ताले माओवादीलाई मत नदिएको प्रचण्डले थाहा पाए ।

कांग्रेसका कार्यकर्ताले कम्युनिष्टलाई भोट नदिने बुुझेका प्रचण्डले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कसरी माओवादीको इज्जत जोगाउने भन्न चिन्ता लिइरहेका थिए ।

दुई दलबीचको सहमतिअनुसार स्थानीय तहको निर्वाचन सम्पन्नपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउन प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे । देउवाले गराउने निर्वाचनमा माओवादी केन्द्रले मत पाउनेमा प्रचण्ड सशंकित बने ।

यस अवस्थामा माओवादीको शान जोगाउन प्रचण्ड चाहन्थे । उता निर्वाचनबाट बहुमत ल्याएर बनाउने सरकारको प्रधानमन्त्री बन्ने सपना एमाले अध्यक्ष ओलीले देखेका थिए । तर, कसरी ? यहीँनिर ओली र प्रचण्डले पार्टी एकता गर्ने र शक्तिशाली कम्युनिष्ट सरकार बनाउने निर्णयमा पुुगे । र सरकारको आलोपालो नेतृत्व लिने सहमति पनि गरे।

यस धरातलबाट एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भयो । निर्वाचनबाट दुई तिहाइ नजिक बहुमत ल्याएर नेकपाले ओली नेतृत्वको सरकार बनायो । तर, अल्पायुमै नेकपा सरकार अल्पमतमा पर्‍यो । नेकपा खारेज भयो र ओली र प्रचण्ड आ–आफ्नो बाटो लागे ।

कसले लियो बदला ?

कुनै बेला एमाले अध्यक्ष ओलीले माओवादी भन्ने पार्टी नै सकिने र कार्यकर्ता शीला खोजेको जसरी खोज्नुपर्ने अवस्था आउने बताउँथे । यसले प्रचण्डलाई पनि मन दुखेको हुनुपर्छ । सत्ता आरोहणको लालसमा पार्टी एकीकरण गरेका ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमतिले विवाद निम्त्यायो । सरकार बनाएको दुई वर्ष र पार्टी एकीकरण गरेको डेढ वर्षमै नेकपाभित्र भाँडभैलो भयो । कसको शक्ति कति ? कसले कसलाई देखाइने ? जस्ता प्रतिशोधपूर्ण राजनीतिले नेकपालाई खारेज मात्रै गरेन, जनताले कम्युनिष्ट पार्टीलाई दिएको भारी बहुमतको अपमान पनि भयो ।

जनताको मतको मान र अपमान आफ्नै ठाउँमा रह्यो । ओली र प्रचण्ड एक अर्काविरुद्ध रणनीतिक रुपमा चल्न थाले । आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबाट पछि हटेका ओलीलाई पार्टी र सत्ताबाट हटाउन प्रचण्डले एमालेकै नेताहरुलाई उकासे र प्रयोग गरे । आफू र आफ्नो सरकारविरुद्ध लागेका प्रचण्ड, आफ्नै नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुको राजनीतिक भविष्य नै सखाप बनाउने गरी ओलीले अध्यक्ष र प्रधानमन्त्री पदको भरपूर शक्ति प्रयोग गरे ।

गत फागुन २३ गतेको सर्वाेच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँतायो । यसपछि ओली एमालेका अध्यक्ष भए भने प्रचण्ड माओवादी केन्द्रका । साविक नेकपामा प्रचण्ड समूहमा रहेका एमालेका नेताहरु माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसालसहितका नेताहरु प्रचण्डको साथमै रहे । तर, न उनीहरुले एमालेका नेताको हैसियत प्राप्त गरे, न त माओवादी केन्द्रमै जान सके ।

उता साविक नेकपामा ओली समूहलाई साथ दिएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीसहितका माओवादीका नेताहरुले ओलीलाई छाडेनन् । उनीहरुले एमालेमै राम्रो स्थान पाए । तर, ओलीको कारबाहीमा परेर पार्टीको साधारण सदस्यसमेत गुमाएमा नेपाल–खनाल समूहका नेताहरु ‘वल्लो घाट न पल्लो तिर’को अवस्थामा छन् ।

२०७४ सालमा माओवादीको शान जोगाउन पार्टी एकता गरेका प्रचण्डले अहिले एमालेलाई छिन्नभिन्न बनाइदिए । एमालेको ठूलो समूह ओलीविरुद्ध छ । ओली सरकारको विकल्पमा नेपाल–खनाल समूहले कांग्रेस–माओवादी गठबन्धनलाई सघाइरहेको छ । लामो समय एमालेको नेतृत्व गरेका नेता नेपाल अहिले एमालेविरुद्ध नै कदम चाल्नुपर्ने अवस्थामा प्रचण्डले ल्याइपुर्‍याइदिएका छन् । आशा लाग्दा युवा नेतालाई प्रचण्डले एमालेबाट अलग्याइदिएका छन् ।

उनीहरु कहिले एमालेको मूल प्रवाहमा देखिन्छन् भने कहिले नेपाल समूहको गुटमा पुगिसक्छन् । पार्टीको आन्तरिक विवाद समाधान गर्ने थलो भनेको आफ्नै पार्टीको बैठक हो । तर, नेपाल–खनाल समूहले लामो समय पार्टीको बैठक बहिस्कार गरेको थियो । बैठकमा सहभागी हुने नहुनेबारेमा नेपाल समूहले प्रचण्डसँग सल्लाह गरेको खबरले मुलुक दलीय अनुशासनहिनतामा रहेको देखिएको आरोप लाग्यो ।

सत्ता र शक्तिका लागि पार्टी एकीकरण गरेका ओली र प्रचण्डले जनताको मतको अपमान मात्रै गरेनन्, ठूलो दुःख र संघर्षले आर्जेको आ–आफ्नो पार्टीलाई चकनाचुर बनाए, कम्युनिष्ट पार्टीको बद्नाम गरे । उनीहरुले एकअर्कासँग कस्तो बदला लिए, उनीहरु नै जानून । तर, आफ्नो पार्टी र देश र जनतालाई हराएर सत्ता र शक्तिका लागि भने अहिले पनि उनीहरु ताण्डव नृत्य देखाइरहेका छन् । क्यानाडा नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय