शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफलपछि सभापति देउवाको निवास बुढानिलकण्ठमा मंगलबार अपरान्ह बसेको पदाधिकारी बैठकले अन्य दलको सहयोगमा नयाँ सरकार बनाउने निर्णय गरेको हो।

नयाँ सरकार बनाउन अंकगणितीय हिसावले सहज नदेखिएका बेला कांग्रेस पदाधिकारी बैठकले भने जसपाको महन्थ ठाकुर पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको साथमा नयाँ सरकार बनाएर जान सकिने सम्भावनासहित देउवाको नेतृत्वमा सरकार गठन गर्न सम्पूर्ण हिसावले पार्टी लाग्ने निर्णय गरेको छ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव देउवालाई प्रधानमन्त्री बनाएर अगाडि जान तयार छन् तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर भने वैकल्पिक सरकार गठन गर्ने पक्षमा छैनन्। ठाकुर पक्षका १५ सांसदले सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतका पक्ष र विपक्षमा मत नदिई तटस्थ बसेका थिए।

कांग्रेसले सरकार बनाउन भर परेको अर्को पक्ष भनेको एमालेभित्रकै हो। नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसदले सोमबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएनन्। उनीहरू प्रतिनिधि सभामै अनुपस्थित रहेका थिए।नेपाल पक्षले सहयोग गरेमा देउवा प्रधानमन्त्री हुन सक्ने निश्कर्षमा कांग्रेस पुगेको छ। नेपाल पक्षका सांसदहरूले राजीनामा दिए भने प्रतिनिधि सभामा सांसदको संख्या खुम्चने र देउवालाई बहुमत पुर्‍याउन सहज हुने कांग्रेसको विश्वास छ।

सोमबार प्रधानमन्त्री ओलीको विपक्षमा प्रतिनिधि सभामा १२४ मत आएको थियो। कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाको बाबुराम-उपेन्द्र पक्षका १५ जनाले ओलीको विपक्षमा मत दिएका थिए। प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत आएको थियो। १२१ सांसद रहेको एमालेमा नेपाल पक्षका २८ जनाले ओलीलाई मत नदिएका हुन्।

यस्तो अवस्थामा जसपा र माधव नेपाल पक्षले सहयोग गर्ने सम्भावना रहेकोले नयाँ सरकार बन्ने देखिएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत बताउँछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलुकी नै संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छन्। जसअनुसार कांग्रेसले दुई वा दुईभन्दा बढी दलको सहयोग र समर्थनमा नयाँ सरकार बनाउने पहल गर्न लागेको महतको भनाइ छ।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय