शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

बैशाख ९ गते बाँसबारीस्थित न्यूरो अस्पतालको अपरेशन थिएटरमा डा. सुमोद कोइरालालाई अपरेशनकै दौरान केही असहज र चिडचिडाहट महसुस भयो । उनले बाहिर निस्किएर आफूलाई सामान्य बनाउने कोसिस गरे । कोरोनाभाइरसको नयाँ भेरियन्टबारे सचेत रहेका उनलाई कतै संक्रमण त भएन भन्ने शंका लाग्यो र निवासतिर लागे ।

भोलिपल्टदेखि डा. कोइरालालाई रुघाखोकी र सामान्य छाती दुखाइ सुरु भयो । लगत्तै कोभिड परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यो उनको दोस्रोपटकको संक्रमण थियो ।

डा. सुमोद बाँसबारीस्थित न्यूरो अस्पतालका सर्जन (न्यूरो रजिष्टर्ड) हुन् । अस्पतालमा बिरामीहरुसँग सम्पर्कमा रहिरहनुपर्ने र कोभिड वार्डमा संक्रमित बिरामीको उपचारमा पनि खटिनुपर्ने हुँदा उनले स्वास्थ्य सतर्कता र मापदण्डको विशेष ख्याल त गरेकै थिए, साथै उनले दुबै डोज कोभिड–१९ विरुद्धको खोप पनि लिइसकेका थिए ।

सामान्यतया भ्याक्सिन लिएपछि एक प्रकारको आत्मविश्वास पनि थियो डा. कोइरालालाई कि यदि भाइरसको संक्रमण भइहालेमा गम्भीर अवस्थासम्म पुग्नुपर्दैैन । सोही आत्मविश्वासले उनलाई १० दिनमै पुनः काममा फर्काएको छ ।

सात महिना अगाडि डा. कोइरालामा कोरोना भाइरसको संक्रमण भयो । ‘पहिलोपटक संक्रमण हुँदा पनि रुघा, सुख्खा खोकी र जिउ दुख्ने लक्षण देखिएको थियो । १४ दिनको होम आइसोलेसनपछि काममा फर्किएको थिएँ’ डा. कोइराला भन्छन्, ‘पहिलो पटक संक्रमण भएको दुई÷तीन महिनासम्म स्याँ–स्याँ हुने समस्या भने यथावत थियो । सिँढी चढ्दा अलि अप्ठ्यारो महसुस हुन्थ्यो ।’

डा. कोइराला आफ्नो अनुभव सुनाउँछन्, ‘दोस्रोपटक संक्रमण हुँदा पनि उस्तै–उस्तै लक्षण देखियो । दुवैपटक लक्षणसहितको संक्रमण भयो । तर, पहिलोपटक भन्दा दोस्रोपटक छिट्टै (एक हप्तामा) सुधार भयो । सायद यो भ्याक्सिनका कारणले हुन सक्छ ।’

दुवै डोज खोप लिइसकेका डा. कोइरालालाई दुई पटकसम्म संक्रमण भयो । यसको मतलव, खोप लिँदैमा हामी पूर्णतया सुरक्षित छौं भन्ने सोच्नु विल्कुलै गलत हो । त्यसैले खोप लिए पनि स्वस्थ्य मापदण्डको पालना भने गर्नुपर्छ भन्ने डा. कोइरालाको निश्कर्ष छ ।

याे पनि
कोरोना महामारीको फ्याक्ट चेक : के भारतमा खोप लगाएकाहरु पनि धमाधम संक्रमित भएका हुन् ?
​डा. कोइरालालाई हेर्दा थाहा हुन्छ कि खोप लिएपछि पनि भाइरसको संक्रमण हुन सक्छ । तर, खोप लिनेलाई खोप नलिनेको तुलनामा गम्भीर प्रकारको संक्रमण भने पाइएको छैन । अहिलेका जति पनि गम्भीर प्रकृतिका केशहरु छन्, ती खोप नलिएकामा देखिएको चिकित्सकहरुले बताउँदै आएका छन् ।

खोपले हाम्रो शरीरमा एन्टीबडी बनाउने भएकाले संक्रमण भइहाले पनि गम्भीर प्रकृतिको लक्षण नदेखिने डा. कोइराला बताउँछन् । उनी भन्छन्, ‘खोपबारे जति पनि अविश्वासका कुराहरु बाहिर आएका छन्, त्यो विल्कुलै गलत हो । खोपमाथि विश्वास गरौं । खोप उपलब्ध देशहरुमा कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको देखिएको छ । त्यसैले उपलब्ध खोप सबैले लिऔं ।’

डा. कोइराला अगाडि भन्छन्, ‘खोपले ८० प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने बताइएको छ । खोप लिएकामा संक्रमण भए पनि छिटो रिकभरी हुने र गहिरो असर देखिएको छैन, यो सकारात्मक पाटो हो ।’

अहिले देखिएको इन्डियन भेरियन्ट डबल म्युटेन्टसहितको दोस्रो लहरको संक्रमणले युवाहरुलाई धेरै संक्रमित गरिरहेको र छिटो–छिटो संक्रमण फैलिएकाले स्वास्थ्य सतर्कता अपनाउन डा. कोइराला सबैमा आग्रह गर्छन् ।  रातोपाटी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय