सोमबार , अषोज ४, २०७८

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ एक साता लम्ब्याइने भएको छ।

यसबारे आवश्यक गृहकार्य भइरहेको प्रशासनले जनाएको छ। आवश्यक निर्णय लिन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्दैछन्।

तीन जिल्लामा निषेधाज्ञाको समय २२ गते राति १२ बजेसम्म छ। त्यसको पूर्वसन्ध्यामा बैठक बसी निषेधाज्ञाको समय लम्ब्याउने योजना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

‘निषेधाज्ञा थप एक साता लम्ब्याउने विषयमा कुनै दुविधा रहेन, थप व्यवस्थित र कडाइसाथ कसरी जाने विषय छलफलबाट निर्णय लिन्छौं,’ पराजुलीले सेतोपाटीसँग भने।

निषेधाज्ञाको मोडालिटी उस्तै भए पनि त्यसमा आवश्यक परिमार्जन र कडाइ आवश्यक देखिएको बुझाइ प्रशासनको छ।

कोरोना संक्रमणको अवस्थालाई हेर्दा निषेधाज्ञा थप कडा पार्नुपर्ने देखिएको पराजुलीले बताए।

निषेधाज्ञा कडाइ गरिए पनि उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ।

निषेधाज्ञाको निरन्तरतासँगै प्रशासन र स्थानीय निकायको समन्वयमा अस्पताल विस्तार, क्षमता वृद्धिमा काम गरिरहेका छन्।

प्रजिअ पराजुलीका अनुसार सामाखुसीको राधास्वामी भवनमा दुई सय बेडको आइसोलेसन बनिरहेको छ। सय बेडको जनमैत्री अस्पताललाई विस्तार गरी तीन सय बेड पुर्‍याउने गृहकार्य भइरहेको छ।

यस्तै, कीर्तिपुरको आयुर्वेद अस्पतालमा तत्कालै २५ बेड थप्ने र क्रमश: ५० बेड थप्नका लागि साधनस्रोतको व्यवस्थापन गरिने छ।

यसैगरी, वीर अस्पतालको नयाँ भवनमा ५ सय बेडको अस्पताल स्थापना गर्न काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयले गृहकार्य गरिरहेको पराजुलीले बताए। सतुंगलमा ३ सय बेडको आइसोलेसन बनाउने, गोर्खा अस्पतालमा बेड बढाउने, नेशनल मेडिकल कलेजको कालिकास्थानस्थित भवनमा अस्पताल बनाउनेबारे पनि महानगर र स्वास्थ्य मन्त्रालयले काम गरिरहेको उनले बताए।
सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय