दुई बाघको अवैज्ञानिक द्वन्द्व

काठमाडौं ।

डा. चन्द्रकुमार सेर्मा किराँत मुन्धुमविद् तथा ज्योतिर्विद्का साथै लेखकका रूपमा परिचित हुनुहन्छ । डा. सेर्माले विभिन्न विधाका ७८ वटा पुस्तक सिर्जना गरिसक्नुभएको छ । किराँत धर्मका संस्थापक महासचिव, दक्षिण एसियाली ज्योतिष महासंघका सहअध्यक्ष तथा विश्व ज्योतिष महासंघका उपाध्यक्ष डा. सेर्मा नेपालको राजनीतिमा प्रत्यक्ष संलग्न नभए पनि हरेक राजनीतिक क्रियाकलापलाई परबाट नियालिरहनुहुन्छ । मुलुकको वर्तमान राजनीतिक परिवेशका सन्दर्भमा नेपाल समाचारपत्रका रोहिणी घिमिरेले डा. सेर्मासँग गर्नुभएको कुराकानीको सार:

मुलुकको वर्तमान अन्योलपूर्ण अवस्थालाई कसरी नियालिरहनुभएको छ ?

एकातिर दलगत, पदगत, धर्म–सम्प्रदायगत तथा राजा–प्रजाका मुद्दाहरु सापेक्ष एवं निरपेक्षरूपमा उचाल्दै वातावरण धमिल्याउने काम भइरहेका छन् । अर्कातिर संसद् भंग गर्ने, व्युँताउने जस्ता जित–हारका खेल खेल्दै खेलाडीका रूपमा जुवारी खेल्ने कार्यसमेत भइरहेका छन् । यस्ता कार्यले निर्वाचन आयोगसमेत प्रभावित भएको अवस्था छ । हामी ३ करोड नेपाली पनि तीनछक्क परेका छौं । राष्ट्र नै अन्योल र अनियन्त्रित चक्रमा फसेको आभाष भएको छ ।राजनीतिक मुद्दामा होस् वा देवनीतिक मामलामा, यतिखेर राज्य गौण हुनुपर्छ । किनकि मुलुक कोभिड–१९ को परिवर्तित रूपले आक्रान्त छ । जनता बचाऊ अभियानमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने बेलामा राज्यमा दलीय वादविवाद र तर्कनाहरु शुरु हुनु अशोभनीय देखिन्छ । राष्ट्रभन्दा पार्टी, साथी, जाति, दलबल महान् हो भन्ने व्यक्तिवादी, धर्मवादी, पार्टीवादी संकीर्ण चिन्तनबाट राष्ट्र उन्मुक्त हुनुपर्दछ । साथै, देशभन्दा भेष राम्रो र मुलुकभन्दा धर्म ठूलो भन्ने सोचाइ त्याग्नुपर्छ । राष्ट्र भन्नु जनता र जनता भन्नु देश हो भन्ने यथार्थतालाई मनन गर्नु जरुरी छ ।

यस्तो परिस्थिति सिर्जना गर्नेहरुको कर्मखेलबारे के भन्नुहुन्छ ?

गति, मति, प्रगति र परमगति प्राप्त गर्ने मुलुकका यात्रीहरुको गन्तव्य अगति, अधोगति, विमतितिर लागेको देखिन्छ । अहिलेको उनीहरुको चाल सही गति, सत्य मति, साँचो प्रगति र पुण्यताको परम गति हुँदै होइन । देश, काल, पात्र, परिस्थिति अनुकूल नभई प्रतिकूल वातावरण तयार गर्ने धार्मिक अग्रजहरु र राजनीतिक नेतृत्वदायीहरुले यसको जिम्मा लिनु वा स्वीकार्नुपर्छ । कर्ममा अकर्मण्यता भनेको यही हो । अनावश्यक कर्ममा धर्म गर्न खोजिँदै छ । त्यसैले यतिखेर राष्ट्रवादका सर्वमान्य ७ सिद्धान्त अनि राज्यशक्तिका ४ शक्ति अलमल र भ्रममा परेको आभाष भएको छ ।

राष्ट्रवादका सर्वमान्य सिद्धान्त र विशेषताहरू औंल्याइदिनुस् न !

राष्ट्रवादिता, पराक्रमशीलता, पारदर्शिता, दूरदर्शिता, मानवता, अध्यात्मिकता र विनयशीलता ७ वटा राष्ट्रवादका सर्वमान्य सिद्धान्त हुन् । यी हाम्रा साझा वैयक्तिक र राष्ट्रिय जीवनका मूलभूत सिद्धान्त एवं आदर्शहरु हुन् । त्यस्तै स्वधर्म, राष्ट्रधर्म, स्वस्वास्थ्य, स्वराष्ट्र, नागरिक धर्म राष्ट्र–मन्त्र हुन् । यसको पूर्ण पालना गर्नुपर्ने राजनेता र देवनेताहरु नै सजग, सक्रिय, कर्तव्यपरायण हुन सकेनन् । यसैको परिणाम संसद् भंग, प्रधानमन्त्रीप्रति अविश्वास, १९ बुँदे प्रचण्डवादी रूपी दस्तावेजको ३५ पृष्ठको प्रतिउत्तर, सवालजवाफ र नौटंकीको नाटक प्रदर्शन आदि भएका हुन् । धर्मशक्ति, धनशक्ति, जनशक्ति, राज्यशक्ति र आत्माशक्ति नचिन्नाले कर्तव्यभिमुख भएका हामी नेतादेखि कार्यकर्तासम्म विचल्ली भएका छौं ।

संघीय लोकतान्त्रिक राज्य घोषणासँगै आएको नयाँ आयाम ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने महान् दर्शनबारे तपाईंको दृष्टिकोण के छ ?

यो अत्यन्त सकारात्मक दृष्टिकोण हो । पृथ्वीको सानो अंश हो नेपाल, तर पनि यहाँ सातवटा उच्च हिमाल छ । त्यस्तै जल, जंगल, जडीबुटी, जग्गा र जनता अर्थात् पाँच ‘ज’ ले समृद्ध छ नेपाल । त्यसैले ‘नेपाल टु लिड द वल्र्ड’ भनेर महर्षि महेश योगी र महागुरु फाल्गुनन्दको शब्दवाणीअनुरूप ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने केपीजीको दृष्टिकोणलाई नेकपाको नौलो र थप आयामको रूपमा लिन सकिन्छ । यद्यपि त्रिज्ञान– शब्दज्ञान, अर्थज्ञान र स्वरूपज्ञानमध्ये अन्तिम ज्ञान स्वरूपमा कार्यान्वयन अवतरण गर्नुचाहिँ सफलताको सूचक हो । अन्यथा यो काल्पनिक कोरा नारा भएर जान्छ । तन, मन, धन, जन, वचन र कर्मद्वारा साधकले साधनलाई साधेर साध्य बनाउनुपर्छ । त्यसपछि मात्र परिणाम फलदायी भई नेपाल स्वर्ग बन्छ ।

मतमतान्तर सिर्जना गरी मुलुकको राजनीतिक वातावरण धमिल्याउनेमा बढी दोषी को होलाजस्तो लाग्छ ?
यो कुनै दार्शनिक वा सैद्धान्तिक मतमतान्तर नभई दुई बाघको जुँगा, दाह्री अनि दाह्राको अवैज्ञानिक द्वन्द्व हो । एउटाले प्रहार गर्दा अर्काले आफ्नो रक्षाका लागि गरेको प्रहार हो । यसमा एकले प्रहार गर्दा अर्कोले आत्मरक्षाका लागि औंला ठड्याउँदा प्रहारकर्ता नै लड्यो, म¥यो, हा¥यो भने आत्मरक्षकलाई दोष लाग्दैन । आत्मरक्षा गर्ने अधिकार सम्पूर्ण जीवलाई छ । अर्काले वाण हान्दा जीवन रक्षाका लागि प्रतिजवाफ गर्न पाइन्छ । त्यसैले को दोषी, को निर्दोषी ? तपाईं आफैं निर्णय गर्नुस् । मैले धार्मिक किसिमले जवाफ दिएको छु ।

राज्यसत्ता र धर्मसत्तामा के फरक छ ?

राज्यसत्ता क्षणिक र देशभित्रको सीमित समस्या मात्र हो । तर, धर्मसत्ता परमसत्ता, परम मोक्षता, पुण्यता मानवमात्रको भएकाले असीमित धर्मसत्ता हो । राज्यशक्ति धर्मनिरपेक्ष भएर सीमित रहन्छ तर धर्म, अध्यात्म असीमित सापेक्ष भएर बस्छ । धर्मको राज्य हुँदैन । धर्ममा जातजाति, पार्टी हुँदैन । देवनीति अहिंसा हो भने राजनीति हिंसा हो । राजनीतिमा राजनीतिक दर्शन र धर्मनीतिमा धर्मदर्शन हुन्छ । धर्मका लागि सिद्धात्मा, देवात्मा, महात्मा, ज्ञानात्मा, पुण्यात्माले मार्गनिर्देशन गर्नुपर्दछ । अन्यथा निःसम्प्रदायको बदला सम्प्रदाय बन्छ । सम्प्रदायले साम्प्रदायिक द्वेष मच्चाएर धर्मको मर्म नबुझी अधर्मतिर उकास्छ । यस कारणले राजनीति कर्मभन्दा देवनीति कर्म गर्नेहरु बढी होसियार हुनु जरुरी छ ।

नेतृत्ववर्गलाई यहाँको केही सुझाव छ कि ?

वादमा विवाद हुन्छ, विवादलाई संवाद गरी तत्वबोध गर्नु जरुरी छ । भनिन्छ– ‘वादे वादे जायते तत्वबोध ।’ संवादमा ज्ञानवाद चाहिन्छ । ज्ञानवादले व्यक्तिवादलाई पन्साएर अनुशासित किसिमले मैत्रीवत् समन्वय गरी देश–जनता एवं राष्ट्र र राष्ट्रियताको मूल चुरोको कुरोमा मेलमिलाप कायम गराउँछ । यसले राष्ट्रको हित र जनताको जित हुन्छ । जसले गर्दा मुलुकमा शान्ति र सहअस्तित्व कायम हुन्छ । कसैको हार–जित, विजय–पराजय नभई अपराजेयी हुन नेतृत्व पंक्तिले भूमिका निर्वाह गरून्, यही कामना एवं शुभेच्छा प्रकट गर्दछु ।

‘नेपाल टु लिड द वल्र्ड’ भनेर महर्षि महेश योगी र महागुरु फाल्गुनन्दको शब्दवाणीअनुरूप ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने केपीजीको दृष्टिकोणलाई नेकपाको नौलो र थप आयामका रूपमा लिन सकिन्छ । यद्यपि त्रिज्ञान– शब्दज्ञान, अर्थज्ञान र स्वरूपज्ञानमध्ये अन्तिम ज्ञान स्वरूपमा कार्यान्वयन अवतरण गर्नुचाहिँ सफलताको सूचक हो ।राष्ट्रभन्दा पार्टी, साथी, जाति, दलबल महान् हो भन्ने व्यक्तिवादी, धर्मवादी, पार्टीवादी संकीर्ण चिन्तनबाट राष्ट्र उन्मुक्त हुनुपर्दछ । साथै, देशभन्दा भेष राम्रो र मुलुकभन्दा धर्म ठूलो भन्ने सोचाइ त्याग्नुपर्छ । राष्ट्र भन्नु जनता र जनता भन्नु देश हो भन्ने यथार्थतालाई मनन गर्नु जरुरी छ ।

वादमा विवाद हुन्छ, विवादलाई संवाद गरी तत्वबोध गर्नु जरुरी छ । भनिन्छ– ‘वादे वादे जायते तत्वबोध ।’ संवादमा ज्ञानवाद चाहिन्छ । ज्ञानवादले व्यक्तिवादलाई पन्साएर अनुशासित किसिमले मैत्रीवत् समन्वय गरी देश–जनता एवं राष्ट्र र राष्ट्रियताको मूल चुरोको कुरोमा मेलमिलाप कायम गराउँछ । समाचारपत्र

२०७८ बैशाख १९, आईतवार ०३:५७ गते 0 Minutes 213 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार