शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

असहाय र बेसहारालाई सहारा मिल्ने ठाउँ हो दृष्टि फाउन्डेसन । जसको सारथि छिन् कल्पना भट्ट । जसले कोरोना कहरबिच पनि आफ्ना मानवता पथका पाइला डगमगाउन दिएकी छैनन् ।

डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–६ दमडा घर भएकी भट्टको नेतृत्वमा ११ जनाले दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् । जनही १०–१० हजार उठाएको रकमले ४ वर्षदेखि सो फाउन्डेसन धनगढीमा सञ्चालनमा आएको हो । फाउन्डेसन मानवता पढाउने पाठशालाको रूपमा स्थापित हुँदै गएको हो ।

दृष्टि फाउन्डेसनको लागि धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाले नगरपालिकाको वडा नम्बर ४ स्थित शिवपुरी सामुदायिक वनमा ३ कठ्ठा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको थियो ।

निर्णयपश्चात् सोही ठाउँमा आफ्नै घर बनाउने योजना दृष्टि फाउन्डेसनको थियो । तर बस्ती नै पागलहरूले भरिने भन्दै स्थानीयबाट लखेटिएपछि फाउन्डेसनकी अध्यक्ष भट्टलाई अचम्मित तुल्याएको छ । तर आफ्नो लक्ष्यबाट हार भने कदापि मानेकी छैनन् उनले ।

‘नगर कार्यपालिकाको निर्णयपछि ४ किल्ला प्रमाणित गराएर हामीले सुदूरपश्चिम प्रदेश सरकारलाई बुझायौँ । प्रदेश सरकारबाट भवन निर्माणको लागि १० लाख बजेट विनियोजन भयो । धनगढी उपमहानगरपालिकाबाट पनि सहयोग हुने प्रतिबद्धता थियो । जेठ ८ गते भवनको जग शिलान्यास नगर प्रमुखबाट भयो,’ उनले भनिन्, ‘तर विडम्बना स्थानीयले पागलखाना खोल्न दिँदैनौँ, वडा नै पागलहरूले भरिन्छ भनेर विरोध गर्नुभयो । हामीले बनाउन पाउनुपर्छ भन्दै फाउन्डेसनका सबै दिदीबहिनीसहित २१ दिनसम्म त्यही त्रिपाल टाँगेर बस्यौँ ।’

शिवपुरी सामुदायिक वनका अध्यक्ष बृद्धि खड्काले ५ ठाउँमा जग्गा देखाएको उनी बताउँछिन् । वनका अध्यक्ष खड्काले देखाएको ठाउँमा वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाको समर्थनमा काम थालेको सुनाउँछिन् । उनीहरूबाटै पछि सहयोग नभएपछि अवरोध सिर्जना भएको उनको आरोप छ ।

‘इँटा र ढुङ्गा झारेर जग्गामा काम थालेपछि जसले जग्गा देखायो, उसैले यो जग्गा वडा नम्बर ५ मा पर्छ भनेर धोखा दिए । उनैको पहलमा तारानगर सामुदायिक वनले हामीलाई २० हजार रुपैयाँ जरिवाना ग¥यो,’ भट्टले पीडा पोखिन्, ‘जरिवाना तिराउनलाई पनि धेरै ताकेता गरे ।

मसँग पैसा पनि थिएन । बुवा बित्नुभन्दा पहिले आफ्नो औँलाबाट झिकेर छोरीलाई दिनु भनेर आमालाई दिनुभएको थियो । त्यही औँठी लगाएकी थिए । त्यही औँठी ३२ हजारमा बेचेर २० हजार जरिवाना तिरेँ ।’ यस्तै झमेलामा फस्दा फाउन्डेसनका लागि छुट्टाइएको बजेट बजेट खर्च नभई फ्रिज भएको उनले बताइन् ।

हाल दृष्टि फाउन्डेसनमा ४२ जना असहाय तथा सहाराविहीन व्यक्ति छन् । जसमध्ये ८ जना बच्चा, ३४ जना महिला रहेका छन् । कोरोना महामारीको बेला पनि ६ जना महिलाहरू थपिएको भट्ट सुनाउँछिन् ।

‘मैले राख्न सक्दैन भन्दाभन्दै पनि प्रहरी प्रशासन, मानव अधिकारकर्मी लगायतको अनुरोधपछि राखेको छु । यहाँसम्मकी यो महामारीको बिच कोरोना परीक्षण विना नै राखेको छु । कसैले परीक्षण समेत गर्न मान्दैनन्,’ उनी भन्छिन्, ‘मानसिक रोगी पनि यही समाजका व्यक्ति हुन् । जसलाई यो समाजले बेघर बनाएपछि के गर्नु ? हाम्रो ढोकामा आइसकेकालाई फर्काउन सकिन्न ।’

फाउन्डेसनको उद्देश्य र अभियानबारे प्रकाश पार्दै उनले केटिएम दैनिकलाई सुनाइन्, ‘हाम्रो गाउँशहरका गल्लीमा बेवारिसे अनगिन्ती सडक मानव छन् । हामी घर परिवारमा बस्नेको दुःखको अगाडि उहाँहरूको पीडा केही पनि होइन । एउटी महिला मानसिक सन्तुलन गुमाएर घरबाट निस्किसकेपछि उसको घर परिवार कोही हुन्न । रोगी हुन्छ । बेसहारा हुन्छ । उ समाजका नर पिपासुहरूबाट पटक–पटक बलात्कृत हुन्छे । उसको अस्मिता पलपलमा लुटिएको हुन्छ । उहाँहरूको लागि धेरै गर्न नसकिए पनि कम्तीमा पनि सानो छानोभित्र मिठो निन्द्रा, एक गाँस खाना र अस्मिता लुटिनबाट जोगाउनका लागि पनि लागेका छौँ ।’

फाउन्डेसनले ४ वर्ष पहिले ८ जनालाई विभिन्न स्थानबाट उद्धार गरेर आफ्नो कार्यको थालनी गरेको थियो । हालसम्म दर्जनौँ महिलाहरू पुनर्जीवन पाएर फर्किसकेका छन् ।

महिलाको दागबत्ती महिलाबाटै

फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका बेघर भएका असहायलाई आश्रय दिँदै आएको छ । औषधोपचारसँगै मनोपरामर्शकर्ताको सहयोगमा काउन्सिलसङ गर्दै आएको छ । फाउन्डेसनको आश्रयमै ज्यान गुमाएकाहरूको अन्त्येष्टि फाउन्डेसनले नै गर्दै आएको हो । हालसम्म १० जनालाई आफूहरूले नै दागबत्ती दिएको भट्ट बताउँछिन् ।

निश्चित आर्थिक स्रोत केही नभएको फाउन्डेसन विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट प्राप्त हुने दान र मुठी दानबाट सञ्चालन हुँदै आएको छ ।

अवसरलाई तिलाञ्जली

खुसी हुनका लागि कल्पनासँग धेरै उपाय छन् । उसै पनि उनी राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । राजनीति शास्त्रमा एमफिल गर्दै छिन् । कुनै बेला एनजिओ, आईएनजीओमा जागिरे थिइन् । त्यसलाई तिलाञ्जली दिई उनी मानसिक रोगीको सेवामा समर्पित भएकी हुन् ।

उनैको मानवीय कर्मको प्रतिफल स्वरूप उनलाई २०७५ साल गणतन्त्र दिवसको अवसरमा समाज सेवा रत्नबाट सम्मान प्रदान गरिएको थियो । उनी मुलुकभरमै कान्छो समाजसेवीका रूपमा समाजसेवा रत्नबाट सम्मानित महिला बनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय