संखुवासभा
पाँचखपन नगरपालिका–३ माक्सुवाका ९ वर्षीय भुवन कार्कीले ८० रुपैयाँको हर्रो बेच्दा १५ रुपैयाँ कर तिरे । सदरमुकाम खाँदबारीमा लाग्ने शनिबारे हाटमा कार्कीले कापीकलम किन्न घर छेवैमा फलेको हर्रो बजारमा बेच्न ल्याएका थिए ।
उनले गत शनिबार ७ दाना हर्रोको १० रुपैयाँ लिँदै बिक्री गरे । ३ घण्टामा ८० रुपैयाँको हर्रो त बेचे तर १५ रुपैयाँ भने हाट करबापत तिरे ।
खाँदबारी नगरपालिकाले टुँडिखेलमा लाग्ने साप्ताहिक बजारका लागि हाट कर निर्धारण गरेअनुसार ठेकेदारले कार्कीसँग १५ रुपैयाँ कर उठाएका हुन् ।
शनिबारे हाटबजारमा जति रुपैयाँ बिक्री गरे पनि १५ रुपैयाँ ठेकेदारले सरसफाइका नाममा करबापत उठाउँदै आएका छन् । हर्रो बेच्ने कार्की पाँचखपनस्थित देवकोटा आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत छन् ।
कोरोना संक्रमण बढेपछि स्थानीय स्तरमा पाइने हर्रोको बिक्री बढेको छ । शनिबारे हाटमा हर्रो राखेर बसेका उनको हातमा खाँदबारी नगरपालिकालाई तिरेको हाट करको बिल पनि थियो ।
पढ्दै, घरको काम गर्दै बाँकी रहेको समय उनले जंगलमा गएर हर्रो बटुलेर बेच्ने गरेको बताए । कार्की माक्सुवाबाट कम्तीमा ४ घण्टा हिँडेर सदरमुकाम खाँदबारीको शनिबारे हाट आइपुग्छन् ।
हर्रो, बर्रो, अमला बेचेर कमाएको पैसाले उनी कापी, कलम, चप्पल किन्ने गरेको बताउँछन् । कहिलेकाहीँ बिक्री नहुँदा पनि उनले १५ रुपैयाँ हाटकर भने तिर्नैपर्छ ।
३ दाजुभाइसहित उनको परिवारमा ५ जना छन् । उनका बुबा मेखबहादुरले छोरा शुक्रबार विद्यालयबाट आएर जंगल जाने र कन्दमुल खोजेर साँझ घर फर्किन्छन् ।
‘मजदुरी गरेर ल्याएको कमाइले घरमा छाक टार्न र व्यवहार धान्न नै मुस्किल हुन्छ,’ उनले भने, ‘एक पाथीको बीउ लाग्ने जग्गा जमिन छ, त्यसबाट उब्जिएको अन्नले ३ महिना खानलाई पनि पुग्दैन ।’
कर उठाए पनि हाटबजारको नियमित सरसफाइ र बजार व्यवस्थित भने हुन सकेको छैन । कर तिर्नु दायित्व भए पनि करको दर स्पष्ट नभएको अधिकारकर्मी रूद्रनाथ दाहालले बताए । कान्तिपुर