काठमाडौँ

श्रीमान्को अवस्था बुझ्न उनी शुक्रबार बिहान टेकुबाट हिँड्दै पाटन अस्पताल पुगिन् । अरू दिनजस्तै अस्पतालको फिभर क्लिनिक अगाडि पार्कको कुर्सीमा अडेस लगाएर बसिन् । श्रीमान्लाई भेट्न मिल्दैनथ्यो । चिन्ता, रातभरिको निद्रा, हिँडाइ र भोकले थकित उनी अधैर्य भएर त्यहीं बसिरहिन् ।

आईसीयू र एचडीयूमा रहेका संक्रमितको खबर लिएर पौने १२ बजे एक जना चिकित्सक आइन् । उनले सबै बिरामीको अवस्था सुनाउन थालिन् । अन्तिममा पालो आयो, टेकुदेखि हिँडेर गएकी ती महिलाका श्रीमान्को अवस्था सुन्ने । ‘उहाँको अवस्था म कसरी भनूँ ? शतप्रतिशत अक्सिजन दिँदा पनि लिन नसक्ने हुनुभएको छ । अवस्था चिन्ताजनक छ,’ ती चिकित्सकले भनिन्, ‘हामीले जति सक्दो प्रयास गर्दा पनि भएन । अब त भगवान्ले पनि हात छाडेजस्तो छ ।’

ती महिलाले चिकित्सकसँग दोहोरो प्रश्नसमेत गर्न सकिनन् । श्रीमान्को अवस्था साहूलाई भनिदिन आग्रह गर्दै डायल गरेर मोबाइल फोन चिकित्सकलाई दिइन् । उनी भने एकोहोरो टोलाइ मात्रै रहिन् । त्यसपछि अस्पतालको गेटमा पुगेर केहीबेर उभिइन् ।
आफन्तलाई फोन गरेर बोलाएको मोटरसाइकल आएपछि टेकुस्थित कोठामा फर्किइन् । उनका ३६ वर्षीय श्रीमान् न्युरोडस्थित सुन पसलमा काम गर्थे । उनीहरूका ६ र १२ वर्षका छोरी छन् । पाटनमा मोटरसाइकल चढ्नुअघि उनले भनिन्, ‘छोरीहरूले बुबालाई कस्तो छ भनेर सोध्छन्, खोइ अब के भन्नू !’

पाटन अस्पतालबाहिर संक्रमितका आफन्तको भीडमा जनकपुरबाट आएका एक युवक पनि थिए । उनका त बुबाआमा नै पाटन अस्पतालमा उपचाररत छन् । एक जना एचडीयूमा र अर्का आईसीयूमा । आफन्त सम्पर्कमा नआएकैले अरू ल्याबमा परीक्षण गर्नुपर्ने नमुना पनि लैजान बाँकी रहेको सुनेपछि उनी हतारिँदै बुबाआमालाई राखिएको वार्डतिर लागे । शुक्रबार अस्पतालबाहिर जति मान्छे भेटिन्थे, सबै हतारमा देखिन्थे । पीसीआर गर्न आउनेहरू पनि उत्तिकै थिए । एम्बुलेन्स छिनछिनमा आउने–जाने चलिरहन्थ्यो । कोही बेड नपाएर फर्काएको भन्थे । पीसीआर रिपोर्ट दुई दिनसम्म नआएकै कारण थप उपचार नपाएर अर्को अस्पताल लैजान एम्बुलेन्स खोज्नेहरू पनि थिए ।

कोरोना संक्रमण बढेसँगै संक्रमितलाई घरदेखि अस्पताल र एउटा अस्पतालबाट अर्को अस्पताल लैजानका लागि एम्बुलेन्स पाउन पनि मुस्किल छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सूचना जारी गरेर जिल्लाका सबै एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ ।

अस्पतालमा बिरामी लैजानुअघि बेड छ कि छैन भनेर संक्रमितका आफन्तले अस्पताल र स्वास्थ्य मन्त्रालयमा बाक्लै फोन गर्छन् । होम आइसोलेसनमा बसेका कतिपय भने फोनसमेत नगरी पायक पर्ने अस्पतालमा सिधै जान्छन् । शुक्रबार मध्याह्न पनि इमाडोलमा होम आइसोलेसनमा बसेकालाई गाह्रो भएपछि कतै सम्पर्क नगरी सिधै अस्पताल पुर्‍याइएको थियो । कोभिड संक्रमितलाई छुट्याएको बेड भरिएकाले उनलाई आकस्मिक कक्षमै राखिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले भने ।

यो अस्पतालमा शुक्रबार ९० जना जनरल वार्डमा, ९ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचारत छन् । ‘बेड अभाव हुन नदिन अन्य वार्ड खाली गर्न थालेका छौं,’ उनले भने, ‘आजै थप ८० बेड तयार गरिसक्यौं ।’

हामी अस्पतालमा पुग्दा शाक्य र उनको टिम सर्जिकल वार्डमा संक्रमित राख्ने बेड व्यवस्थापनमा लागिरहेका थिए । संक्रमितका लागि अक्सिजनको अभाव पूर्ति गर्नुपर्ने प्रमुख चुनौती रहेको उनले बताए । ‘अरू बेला दिनमा सय सिलिन्डर अक्सिजन आवश्यक पर्नेमा अहिले ३ सय ८० सिलिन्डर चाहिने भएको छ । यो व्यवस्थापन गर्नु मुख्य चुनौती भएको छ,’ उनले भने, ‘थोरै अक्सिजन चाहिनेलाई कन्सन्ट्रेटर मेसिनबाट व्यवस्थापन गरिरहेका छौं ।’

संक्रमितको संख्या बढेको त स्वास्थ्य मन्त्रालयको हरेक दिनको ब्रिफिङबाट थाहा हुन्छ । गम्भीर रूपमा थला परेका संक्रमितले सहजै बेड पाएका छन्/छैनन् भन्ने कि अस्पताललाई थाहा छ कि त संक्रमितका आफन्तलाई । अक्सिजन लगाएर गम्भीर थला परेका बिरामी लिएर शुक्रबार अपराह्न एउटा एम्बुलेन्स टेकु अस्पतालमा आइपुग्यो । अस्पतालको आकस्मिक कक्ष बाहिर रोकिएर बिरामीका आफन्त भित्र जान नपाउँदै स्वास्थ्यकर्मीहरू बाहिर निस्किए ।

उनीहरूले बिरामीको अवस्था नियाले अनि भने, ‘बेड खाली छैन । अक्सिजन मात्रै लगाएर राख्ने हो भने त राख्नुस् । उहाँलाई आईसीयू चाहिन सक्छ । यहाँ त आकस्मिक कक्ष पनि भरिसक्यो ।’ बिरामीका आफन्तले दोहोरो कुरा नगरी एम्बुलेन्स चालकलाई अगाडि बढ्न इसारा गरे । फेरि अर्को एम्बुलेन्स आइपुग्यो । यो एम्बुलेन्समा भएका संक्रमितलाई भने अक्सिजन दिनुपर्ने देखेपछि अस्पताल बाहिरको बेडमा केहीबेर राखियो ।

टेकुमा बेड नपाएपछि आफन्तले अन्यत्र बुझे अनि लगे । आकस्मिक कक्षसमेत भरिएपछि थलिएका संक्रमितलाई राख्न अस्पताल बाहिरै दुईवटा अक्सिजन सिलिन्डर र एउटा बेड राखिएको छ । टेकु अस्पतालमा संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरू पुगेका थिए । आकस्मिक कक्षसमेत खाली नहुँदा संक्रमितहरू बाहिरै छरिएर बसेका थिए । यहाँ पुग्नेलाई अस्पतालले अक्सिजन लेबल, एक्स–रे, रगत परीक्षण गरेर घर पठाउने गरेको छ ।

संक्रमितहरू स्वास्थ्य अवस्था जँचाउन कुरिरहेकै बेला साइरन बजाउँदै एउटा शववाहन र सेनाको गाडी अस्पताल छिर्‍यो । आकस्मिक कक्ष अगाडि बसेका संक्रमितहरू जर्‍याकजुरुक्क उठे । सेनाको त्यो गाडी अस्पतालमा बिहीबार मृत्यु भएका ८८ वर्षीय वृद्धको शव लिन आएको थियो । अस्पतालमा उपचार गरिरहेकाको मृत्युले होम आइसोलेसनमा बसेकाहरू त्रसित भए । ‘अस्पतालमा आएर उपचार गर्दा त यसरी ज्यान गइरहेको छ । हामी त घरमा बसेका छौं,’ एक संक्रमितले भने, ‘घरमा बस्दा गाह्रो भइहाल्यो भने अस्पताल आए पनि बेड पाउन गाह्रो रहेछ ।’

पाटनमा अन्य रोगका बिरामी र तिनका कुरुवा र संक्रमितका कुरुवा एकै ठाउँमा बस्ने र ओहोरदोहोर गरिरहेका हुन्थे । टेकुमा भने कोरोना संक्रमित र उनीहरूका मात्रै कुरुवा देखिन्थे । लक्षण देखिई थलिएर परीक्षण गर्न आउनेलाई चिकित्सकले ‘एल्लो जोन’ का बेड छेउको कुर्सीमा राखेर अक्सिजन लेबल नाप्थे । एक्स–रे गर्दा सामान्य अवस्था देखिए जानकारी गराउँदै घर पठाउँथे । ‘गम्भीर भएकालाई राख्न बेड छैन,’ एक चिकित्सकले भने ।

टेकुमै अपराह्नतिर १०२ को एम्बुलेन्समा एक जना संक्रमित युवा आए । उनको अवस्था सामान्य देखेपछि चिकित्सकले तुरुन्तै एम्बुलेन्स बोलाएर पठाइहाल्यो । ‘अक्सिजन चाहिने गम्भीर खालका संक्रमितले बेड पाइरहेका छैनन् । ठमठम हिँडेर आउनेलाई भर्ना गरेनौं,’ सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले भने । मन्त्रालयका अनुसार यो अस्पतालमा जनरल बेडमा ६०, आईसीयूमा १२ र भेन्टिलेटरमा १० जना उपचारत छन् ।

टेकुमा ८८ वर्षीय वृद्धको शव हालेको गाडी वीर अस्पतालतिर लाग्यो । त्यहाँ तीन जनाको शव थियो । त्यसमध्ये एउटा शव टेकुबाट आएको शववाहनमै राखियो । टेकुमा संक्रमित र मृतकका आफन्तको भीड भए पनि वीर अस्पतालमा सुनसान थियो । वीरमा नयाँ भवनलाई कोभिड वार्ड बनाइएको छ । पशुपति विकास कोषका अनुसार शुक्रबार काठमाडौं उपत्यकाबाट ल्याइएका २८ जनाको र बिहीबार २५ जनाको अन्त्येष्टि गरिएको छ । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय