मंसिर ११ गते पूर्णिमाको दिन। प्युठान जिल्लाको झिमरुक गाउँपालिका–३, कुटेडाँडामा रहेको बालज्योति आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी सबै गाउँमा लागेको ब्रह्माथान मेला हेर्न गएका थिए। मेलामा रमाइरहेका बालबालिकामध्ये कोही खेल्दै थिए, कोही मन पर्ने खानेकुरा किनेर खाइरहेका थिए। रमझमको त्यो माहोलमा कक्षा ४ मा पढ्ने आशाकुमारी विक पनि थिइन्।

 

विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेतले ११ वर्षकी आशाको अनुहारमा निराशाको बादल देखे। टोलाइरहेकी उनी न खुशी देखिन्थिन् न त साथीहरूले झैँ मेलामा पाकेका परिकारको स्वाद नै लिइरहेकी थिइन्। प्रधानाध्यापक बस्नेतले चासो दिएर सोधीखोजी गरे। तर अन्तर्मुखी स्वभावकी उनले खुलेर केही बोलिनन्। आशाको मलिन अनुहारको मौनताले कुनै न कुनै चिन्ता बोलिरहेझैँ उनलाई लाग्यो।

 

विद्यालयमा पढ्ने १०३ बालबालिका सबैजसो नै मेलामा सहभागी थिए। दिनभरको रमाइलो मेला सकियो। घर फर्किने बेला आशाले आफूसँगै पढ्ने साथीहरूमार्फत हेडसरसँग राखिदिन एउटा अनुरोध गरिन्। त्यो अनुरोध थियो– उनलाई चार दिनका लागि चाहिएको बिदाको स्वीकृति। बिदा जरुरी पर्नाको कारण पनि आशाले साथीहरूसँग साझा गरिन्।

 

खासमा उनलाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो। मनमा मडारिइरहेको कोदो जोगाउने चिन्ताबारे आफैँले बोल्ने आँट नआउँदा उनले साथीहरूको सहयोग लिएकी थिइन्। आशाले गरेको अनुरोध उनका साथीहरूको मुखबाट सुनेपछि विद्यालयका प्रधानाध्यापक बस्नेतको मन छोयो। “त्यो सुनेपछि नानीलाई साह्रै गाह्रो रहेछ भन्ने मैले थाहा पाएँ। घरमा खानाको जोहो गर्नेदेखि ८४ वर्षकी हजुरआमा स्याहार्नेसम्मको जिम्मेवारी उनकै थाप्लोमा रहेछ,” उनले उकालोसँग भने, “त्यो आइतबारको कुरा थियो। त्यसको छैटौँ दिन शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शिक्षक र विद्यार्थी सबै मिलेर उनको बारीको कोदो काटिदिने योजना मनमनै बनाएँ।”

 

त्यसपछि उनले आशालाई स्कुल छाडेर एक्लै कोदो काट्नुको सट्टा दुई–चार दिन पर्खन भने। शुक्रबारको पर्खाइ हुँदै थियो। एक दिन बाँकी छँदा बिहीबार बिहान विद्यालयका एकदुई जना अन्य विद्यार्थीले आशाको कोदोबाली बाँदर आएर सिध्याउनै लागेको खबर ल्याए। “त्यो सुन्नासाथ अरू सरम्याडमसँग सल्लाह गरेर शिक्षक र विद्यार्थी सबै मिलेर हिजो (बिहीबार) इन्टरभलको समयमा कादो भित्र्याइदियौँ,” प्रधानाध्यापक बस्नेतले सन्तुष्ट भावमा सुनाए।

 

शिक्षक र विद्यार्थीहरूलाई एकैसाथ कोदो काट्न धेरै औजार चाहिने भएकाले गाँउबाट हँसिया–करौँती जम्मा गरेर एकैछिनमा काटिएको उनले बताए। “आशाकी हजुरआमाको स्वास्थ्य एकदमै नाजुक रहेछ। बाँदरले आएर बाली खाइदिए पनि धपाउन नसक्ने उहाँको अवस्था र परिवारमा अरू कोही पनि नहुँदा उनलाई साहै्र दुःख भएको रहेछ। हामीले थाहा पाएर सामूहिक रूपमा मद्दत गर्‍यौँ,” प्रधानाध्यापक बस्नेतले भने।

 

आशामाथि अभिभारा आउनुको कारण

आशाको परिवारमा उनका बुवा र कान्छीआमा छन्। दुई दिदी र दाइपछि जन्मेकी उनी चार वर्षकी हुँदा आमाले छाडेर अर्को बिहे गरिन्। त्यसपछि सुकुमारी विक कान्छीआमाको रूपमा भित्रिएकी थिइन्। दिदीको बिहे भइसक्यो। दाइ १६ वर्ष भएपछि गरिबीको कारण कामको खोजीमा भारत गए। आशालाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय