दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालहरूमा बिरामीको चाप परेको छ।

धेरै अस्पतालहरूमा अक्सिजनको अभाव बढदै गएको छ। अक्सिजन ओसार्ने सिलिण्डर चाहियो भनेर अस्पतालहरू सरकारसँग गुहार मागिरहेका छन्।

टेकु अस्पताल भने ढुक्क छ। उसलाई ढुक्क गराएको लिक्वीड अक्सिजन ट्यांकले हो।

एक वर्षअघिसम्म टेकु अस्पताल पनि अक्सिजनका ग्यास सिलिण्डर किन्थ्यो।

दुईदेखि तीन सय सिलिण्डर दैनिक चाहिन्थ्यो। कोभिडका बिरामीलाई अक्सिजन दिइरहनुपर्ने, अन्य विरामीलाई भन्दा धेरै बढी मात्रामा चाहिने।

‘१०/१० मिनेटमा सिलिण्डर फेरिरहँदा निकै गाह्रो पर्थ्यो,’ अस्पतालका निर्देशक डा. सागरराज भण्डारी भन्छन्।

यो समस्याबाट पार पाउन अस्पतालले कोभिड चलिरहेकै बेला उपाय खोज्यो। उसले लिक्वीड अक्सिजन ट्यांक जडान गर्‍यो।

‘सस्तो पनि, एक पटक लिक्वीड भरेपछि पन्ध्र दिनसम्मलाई धान्छ,’ भण्डारीले भने।

टेकुले २० हजार किलो क्षमताको लिक्वीड अक्सिजन ट्यांक जोडेको छ।

टेकु अस्पतालमा अक्सिजनको समस्या हल गर्न बालाजुको शंकर ग्यास उद्योगले सहयोग गरेको हो।

शंकर ग्यासले टेकुमा धेरै लिक्वीड अक्सिजन जाने ठूलो ट्यांक जडान गरिदिएको छ।

ट्यांकरमा लिक्वीड अक्सिजनलाई ग्यासमा परिवर्तन गर्ने प्रविधि जडान गरिएको हुन्छ। त्यो अक्सिजन ग्यास पाइपलाइनमार्फत अस्पतालका बेडमा पुग्छ।

‘आवश्यक परे सिलिण्डरमा पनि जोड्न सकिन्छ,’ अग्रवालले भने। शंकर ग्यास लिक्वीडबाट अस्पतालहरूमा अक्सिजन पुर्‍याउने नेपालको एउटै मात्र उद्योग हो।

लिक्वीडबाट उत्पादन भएको अक्सिजन सिलिण्डरको भन्दा तुलनात्मक सस्तो पनि छ।

ठूलो सिलिण्डरमा भरिएको ग्यास किन्न उपभोक्ताले चारदेखि सात सय रुपैयाँसम्म तिर्नुपर्छ। त्यो ठूलो प्रतिसिलिण्डर बराबरको लिक्वीड अक्सिजन ३४५ रुपैयाँमै पाइन सकिने हुनाले निकै सस्तो हुने अग्रवाल बताउँछन्।

अस्पतालहरूमा लिक्वीड ट्यांकी एक पटक जोडेपछि त्यसमा लिक्वीड भने खपतअनुसार भरिरहनुपर्छ। अक्सिजन आवश्यकता हेरेर लिक्वीड ट्यांक जडान गर्न सकिन्छ।

टेकुको लिक्वीड अक्सिजनले दिनमा १६ सय सिलिण्डर बराबर ग्यास आपूर्ति गर्ने क्षमता राख्छ। यस्तो ट्यांक पाँच हजारदेखि ५० हजारसम्म किलो क्षमताको जोड्न सकिने अग्रवाल बताउँछन्।

यो ट्यांकमा लिक्वीड कति छ भनेर जाँच्नको लागि मिटर रिडिङ सिस्टम राखिएको हुन्छ।

कति लिक्वीड खाली भयो भन्ने हेर्न सकिन्छ, त्यहीअनुसार लिक्वीड भर्ने योजना तय गर्न सकिन्छ।

नेपालगञ्ज मेडिकल कलेजले १५ हजार किलोको ट्यांक जोडेको छ। त्यस्तै, वीरको ट्रमाले साढे १३ हजार किलोको ट्यांक जोडेको छ। त्यसैले, यी अस्पतालहरूमा अक्सिजनको धेरै समस्या छैन।

नेपालगञ्ज मेडिकल पनि कलेजले पहिले स्थानीय फ्याक्ट्रीबाट अक्सिजन लिन्थ्यो। उसले सिलिण्डर पूरै विस्थापित गरिसकेको छ।

तीन वटा प्लान्ट चलाइरहेको शिक्षण अस्पतालको एउटा प्लान्ट बन्द छ। बन्द भएको प्लान्टले एक हजार लिटर प्रतिमिनेट अक्सिजन दिन्थ्यो।

त्यो प्लान्ट बनाउन फ्रान्सबाट उपकरण ल्याउनु पर्ने देखिएको छ। कोरोना महामारीका बेला त्यो सम्भव नभएपछि अस्पतालले यो प्रविधि जोड्न खोजेको हो।

शिक्षण अस्पतालमा रहेका पाँच-पाँच सय लिटर प्रतिमिनेट दिने अरू दुई प्लान्टले अहिले शिक्षण अस्पतालकै माग नधानेका कारण सिलिन्डर किनेर ल्याउनु परिरहेको छ। यो समस्याबाट छुटकारा पाउन टिचिङ अस्पतालले पनि लिक्वीड अक्सिजन ट्यांक जडान गर्न खोजिरहेको छ।

‘त्रिवि शिक्षण अस्पतालले १५ हजार किलो क्षमताको लिक्वीड जडान गर्न खोजिरहेको छ,’ अग्रवालले भने, ‘साता-दस दिनभित्रै जोड्दैछौं।’

पाटन अस्पतालको आफ्नो अक्सिजन प्लान्ट छैन। यो महामारीमा समस्या टार्न उसले सिलिण्डर खोजिरहेको छ। ‘अक्सिजनको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग कुराकानी भइरहेको छ,’ अस्पतालका निर्देशक डा. रवि शाक्य भन्छन्।

शंकर ग्यास उद्योगले लिक्वीड अक्सिजन नेपालमा आठ-नौ वर्षअगाडि नै भित्र्याएको थियो।

उसले उद्योग र अस्पताललाई काम लाग्छ भनेर यो प्रविधि नेपालमा ल्यायो। वीरगञ्जको जगदम्बा उद्योगलगायत धेरैमा लिक्वीड अक्सिजन सञ्चालन गर्‍यो।

अस्पतालहरूमा भने भर्खर लिक्वीड अक्सिजन जोडिँदैछ।

‘मैले यस्तो प्रविधि छ। महामारीमा अक्सिजनको अभाव हुन्छ, जोडौं भन्दै सुझाव दिएँ, कसैले मानेनन्। अहिले महामारीको बेला यसको आवश्यकता देखेर अस्पतालले माग्न थाले,’ अग्रवाल भन्छन्।

अहिले हरेकजसो अस्पतालमा अक्सिजन पाइपलाइन अनिवार्य जोडिएकै हुन्छ। प्लान्ट राखेको भए त्यहीँबाट अक्सिजन पाइपलाइन हुँदै बेडमा पुगिरहेको हुन्छ।

सिलिण्डर आयात, खरिद-धरौटी, ओसारपसारमा जनशक्तिसँगै खर्च पनि बढी हुनाले लिक्वीड सजिलो भएको अग्रवालले बताए।

‘ढुवानी खर्च, साटिरहनुपर्ने समस्या, मेनपावर पनि बढी लाग्छ,’ अग्रवालले भने, ‘लिक्वीडमा धेरै जनशक्ति र खर्च चाहिँदैन, एक पटक ट्यांक जोडेपछि लिक्वीड भर्ने काम मात्रै हो।’

नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक सुरेशकुमार कनौडिया भन्छन्, ‘मेन्टिनेन्स चाहिने, गह्रौं सिलिण्डर यताउता गरिरहनु पर्ने, भर्न लैजानुपर्ने, संकलन गर्नुपर्ने, त्योभन्दा लिक्वीड धेरै सजिलो हो।’

अहिले नेपालका अस्पतालले लिक्वीड जोडे ट्यांक थप चाहिने अग्रवालले बताए।

‘कसरी सहज तरिकाले ल्याउन सकिन्छ भन्नेबारे सरकारसँग छलफल गरिरहेको छु, भारतमा पनि ट्यांकर अभाव छ भन्ने कुरा आएको छ,’ अग्रवाल भन्छन्।

लिक्वीड कम नहोस् भनेर शंकर ग्यासले भैरहवा, नारायणगढ र काठमाडौंमा ५० हजार किलोका ट्यांक निर्माण गरिरहेको छ।

‘यी तीन ठाउँमा स्टक राख्न गर्न सके अस्पतालहरूलाई लिक्वीड अभाव हुँदैन,’ अग्रवाल भन्छन्।

लिक्वीड अक्सिजन ट्यांक ५० लाखदेखि डेढ करोड रुपैयाँसम्ममा जडान गर्न सकिन्छ। टेकु अस्पतालले डेढ करोड रुपैयाँ खर्च गरेर लिक्वीड ट्यांक जोडेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय