शनिबार , बैसाख १५, २०८१

तपाईंहरूले ‘हाची’ फिल्म हेर्नुभएको छ? कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृत मालिक कुर्दै वर्षौंसम्म रेल-वे स्टेसनमा बिताउँछ। यो जापानको वास्तविक घटनामा आधारित फिल्म हो। यस्तै घटना पाटनको अल्का अस्पतालमा दोहोरिएको छ।

जावलाखेलबाट एकान्तकुना जाँदा ओरालोमा दाहिनेतर्फ अल्का अस्पतालको दुई नम्बर गेट छ। यहाँ पछिल्लो ६ वर्षदेखि एउटी पोथी कुकुर आफ्नो मालिक कुरेर बसिरहेकी छे। जीउभरि फुस्रा काला रौं, घाँटी वरपर खैरो। हेर्दा फूर्तिलो देखिने यो कुकुरको नाम ‘काली’ हो। कालो वर्णको भएरै उसको नाम काली राखिएको अस्पतालका कर्मचारी बताउँछन्।

काली अस्पतालसम्म कसरी आइपुगी त? अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार छ वर्षअघि एक युवक बिरामी भएर आएका थिए। उनलाई पहिले क्याबिनमा राखिएको थियो, पछि आइसियुमा सारियो। उनी आइसियुबाट निको भएर घर फर्किएनन्। अस्पतालमै उनको नि’धन भयो र यहीँबाट अन्तिम संस्कार निम्ति लगियो।

‘बिरामी मालिकलाई क्याबिनमा राख्दा यो कुकुर त्यहाँ वरपर बस्थ्यो,’ केसीले भने, ‘अहिले पनि ऊ आफ्नो मालिक पर्खेझैं क्याबिन वरपर नै बसिरहेको छ।’अस्पतालका अन्य कर्मचारीका अनुसार पहिलोचोटि आउँदा काली सानै थिई। रौं चिल्ला र सुकिला थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय