काठमाडौं ।

नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल वैचारिक नेताका रुपमा चिनिन्छन् । डल्लुस्थित खनाल निवासमा पुगेर हामीले सोध्यौं, ‘एमालेका आम कार्यकर्ताको भावनाअनुसार अब पार्टीको एकता बचाउने तपाईंसँग कुनै सूत्र छ ?’ जवाफमा खनालले एमालेलाई बचाउने ब्रह्मास्त्र बाँकी रहेको र अब त्यसलाई प्रयोगमा ल्याउनुपर्ने सुझाए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ‘दक्षिणपन्थी अवसरवादी भड्काव’ देखिएको एमाले नेता खनालले आरोप लगाए । ओलीमा दक्षिणपन्थी भड्काव देखिएको आधार के छ भन्ने प्रश्नको जवाफमा खनालले केही बुँदाहरु प्रस्तुत गरे ।

अहिले ओलीको पक्षमा लागेका एमालेका युवाहरुको भविष्य अन्धकार रहेको बताउँदै खनालले भने, ‘केपी ओलीले जतिसुकै गरे पनि उहाँको समूहलाई अगाडि बढाउन सक्नुहुन्न । उहाँले आफ्नो नेतृत्वमा रहेका धेरै युवाहरूको भविष्य अन्धकारमा हाल्दै हुनुहुन्छ । एकीकृत भएको पार्टी फुटाउनुभयो । एमाले पनि उहाँका क्रियाकलापले विभाजन र विघटनतर्फ जाँदैछ ।’

एमालेमा देखापरेको ‘दक्षिणपन्थी अवसरवाद’ माथि आफूहरुले विजय प्राप्त गर्ने र ‘गुटको कब्जामा पुगेको’ पार्टीलाई बचाइ छाड्ने खनालले दाबी गरे ।

प्रस्तुत छ,नेता खनालसँग एमाले अन्तरविरोधको सेरोफेरोमा केन्द्रित रहेर रातोपाटीले गरेको विस्तृत कुराकानी –

स्थायी सरकार र विकासको आशा राखेर जनताले नेकपालाई झन्डै दुुई तिहाई बहुमत दिए । तर, नेकपाको एकता त जोगाएन नै, एमालेसमेत फुुट्ने स्थितिमा आइपुुगेको छ । यस्तो परिस्थिति सिर्जना हुनुमा कुनै वैचारिक/राजनैतिक अर्थ पनि छ कि नेताहरुको व्यक्तिगत सम्बन्ध/स्वभावका कारणले मात्र यस्तो भएको हो ?

कम्युनिस्ट पार्टी र आन्दोलनमा एकता गर्दा भिडभाड जम्मा गरेर,धेरै मानिस एक ठाउँमा आएर,टाउको जोडेर,अङ्कमाल गरेर,कुनै स्वार्थमा जुटेर एकता हुँदैन । कम्युनिस्ट पार्टीको एकता जहिले पनि वैचारिक–राजनीतिक कार्यदिशा,नीति,सिद्धान्त र लक्ष्यका आधारमा र निश्चित विधि र पद्धतिका आधारमा हुने गर्छ । यी कुरामा टुटफुट र विचलन,र देब्रे वा दाहिने भड्काउ सिर्जना हुन थाल्यो भने कम्युनिस्ट आन्दोलनभित्रको एकता टुट्दै जान्छ । बिस्तारै त्यो भत्कँदै जान्छ ।

तर,वैचारिक र राजनीतिक कार्यदिशा,नीति,सिद्धान्त ठीक छ र त्यसलाई ठीक ढङ्गले कार्यान्वयन गर्ने मान्छे नेतृत्वमा छ भने सानो पार्टी पनि ठूलो हुन्छ । कमजोर पार्टी पनि बलियो हुन्छ । सत्तामा नभएको पार्टीले सत्ता प्राप्त गर्नसक्छ र पृथ्वी हल्लाउने ठूला–ठूला परिवर्तनहरू हुन सक्छ ।

हामीले इतिहासका विभिन्न घटनामा यही श्रृङ्खला देखेका छौँ । सोभियत संघमा सोभियत कम्युनिस्ट पार्टीले जुन ढङ्गले प्रगति गर्दै गयो,अमेरिकाजस्तो शक्तिलाई पनि त्यसले कयौँ क्षेत्रमा उछिन्यो र दुईवटा महाशक्ति प्रकट भए । वास्तवमा सोभियत सङ्घ एउटा अति महाशक्तिको रूपमा विकसित भएको थियो । तर,त्यही देशको कम्युनिस्ट पार्टीमा २० औँ महाधिवेशनपछि दक्षिणपन्थी अवसरवाद प्रकट भयो र त्यो बिस्तारै नेतृत्वमा हाबी भयो,त्यसपछि त्यो पार्टी विचलित हुँदै गयो । आउने नेतृत्वले पनि त्यसलाई सच्याउन सकेन । अन्ततः गोर्भाचोभजस्तो मान्छे आयो,उसले सोभियत संघलाई नै समाप्त पारिदियो । जुन एउटा वस्तुगत यर्थाथ संसारको सामु थियो,त्यो गल्र्याम–गुुर्लुम्म ढल्यो । साम्राज्यवादले एउटा गोली खर्च गर्नुपरेन । उसले अरू कुनै मिहिनेत गर्नुपरेन । किल्ला भित्रैबाट किल्ला ध्वस्त भयो । त्यस्तो हुने गर्छ ।

नेपालको सन्दर्भमा…..?

हाम्रै देशमा पनि कम्युनिस्ट आन्दोलन पहिले विभाजित अवस्था थियो,त्यो अवस्थामा आइपुग्नुको कारण वैचारिक–राजनीतिक कार्यदिशा नै हो । तर,जब २० को दशकमा धेरै विचलन आएपछि ३० को दशकबाट फेरि पुनर्गठनको सुरुवात भयो । एकीकरणको सुरुवात भयो । कम्युनिस्ट आन्दोलन विस्तार भएर गयो,व्यापक भयो । एकपछि अर्को समूह एकीकृत भए । किनकि,सही वैचारिक–राजनीतिक कार्यदिशा प्राप्त भयो । नेतृत्व पनि त्यही ढङ्गको प्राप्त भयो । त्यही ढङ्गका विधि विधान निर्माण भए । यी सबै कुरा वैचारिक र राजनीतिक कार्यदिशाले निर्धारण गर्छ । हाम्रो पार्टीमा पछिल्लो समय यी कुरामा विचलन आयो ।

हाम्रो प्रश्न एमालेमा केन्द्रित छ । यहाँले जुन अन्तर्राष्ट्रिय सन्दर्भ र नेकपाको इतिहासको सन्दर्भ जोड्नुुभयो,यसलाई एमालेको अन्तरविरोधमा कसरी सामान्यीकरण गर्न सकिन्छ ?के गोर्भाचोभ वा केशरजङ्ग रायमाझीजस्तै एमालेमा कोही जन्मिएको हो र ?बाहिरबाट हेर्दा त ओली र तपाईंहरुको दुबै समूहमा खासै वैचारिक–राजनीतिक भिन्नता देखिँदैन नि ?

यो महत्त्वपूर्ण प्रश्न गर्नुभयो । हाम्रो पार्टी नेकपा एमालेमा लामो समयदेखि गुटबन्दी प्रकट भए । हाम्रो पूर्व नेकपा (माले) मा गुटबन्दी हुन सकेन । हुन खोजे,हामीले सुरुमै समाप्त गरिदियौँ । त्यतिबेला प्रबल वैचारिक–राजनीतिक कार्यदिशा थियो । त्यसैले त्यस्ता प्रवृत्तिहरू चकनाचुर भएर गए ।

एमाले बनायौँ,एमाले बनाएपछि पनि निकै कालसम्म पार्टीको कार्यदिशा,विचार पनि ठीक थियो । नेतृत्वले पनि त्यसलाई अघि बढाइरह्यो । नेतृत्व फेरिँदै गयो । तर,फेरिएको नेतृत्वले पनि त्यो राजनीतिक कार्यदिशा,जो हामीले ३० को दशकमा विकसित ग-यौँ,४० को दशकमा स्थापित ग-यौँ,त्यही कार्यदिशाअनुरूप एमाले अघि बढेर आयो ।

०६२/६३ को जनक्रान्ति त्यही कार्यदिशाका आधारमा सम्पन्न भयो । क्रान्ति सम्पन्न भइसकेपछि हामीले नयाँ ढङ्गले जानुपर्ने थियो । क्रान्ति सम्पन्न भइसकेपछि पनि कतिपय नेताहरूले त्यसलाई क्रान्ति भन्न सक्नुुभएन । हामीले आठौँ महाधिवेशनमा गएर यो क्रान्ति हो भन्यौँ । क्रान्तिबारे हामीले करिब–करिब सहमति नै ग-यौँ । तर,पनि भित्रभित्र असहमतिहरू थिए,भिन्न मत कसैले राख्ने आँट गरेन ।

नवौँ महाधिवेशनमा पुुग्दाखेरि हामीले यो देशमा जनवादी क्रान्ति सम्पन्न भयो र अब हामी एउटा नयाँ किसिमको,प्रारम्भिक किसिमको पुुँजीवादी समाजमा आइपुुग्यौँ भन्ने विश्लेषण ग-यौँ । म त्यतिबेलाको पार्टी अध्यक्ष हुँ । मैले नवौँ महाधिवेशनको प्रतिवेदन प्रस्तुत गर्दा यही विश्लेषण अघि सारेँ । त्यो प्रतिवेदन तपार्इं अहिले पनि हेर्न सक्नुहुन्छ । अब हामीले समाजवादको निर्माण गर्ने दिशातर्फ जानुपर्छ,नेपाली समाजमा कसरी समाजवाद निर्माण गर्ने,त्यसको मोडालिटी निर्माण गरेर अघि जानुपर्छ भन्ने अवधारणालाई अघि सा-यौँ । त्यसबेला अवधारणा मात्रै अघि आयो । विस्तृत कार्यक्रम आएको थिएन । त्यो अवधारणा अघि सारेर त्यही आधारमा अब हाम्रा कार्यदिशा,नीति,सिद्धान्त,लक्ष्यहरू निर्धारण गरेर जानुपर्छ ।

हामीले एउटा लामो बाटो तय गरेर आयौँ । अब अर्को लामो बाटो हामीसामु छ । त्यो बाटोको रणनीति के ?कार्यनीति के ?कसरी अगाडि बढ्ने भन्नेसम्मका कुरा अब हामीले निर्धारण गरेर जानुपर्छ । नयाँ आविष्कार गरेर जानुपर्छ भन्ने कुरा हामीले नवौँ महाधिवेशनबाट पारित ग-यौँ । तर,विचार यस्तो पारित भयो,नेतृत्व चाहिँ अर्कै किसिमको भयो । केपी ओलीको नेतृत्व स्थापित भयो ।

कुनै पनि पार्टीको एकता,विकास,विस्तार र समुन्नति त्यसको वैचारिक र राजनीतिक कार्यदिशा र नेतृत्वमा निर्भर गर्छ । हामीले नवौँ महाधिवेशनबाट आधारभूतरूपले सही वैचारिक राजनीतिक कार्यदिशा अघि सा-यौँ । अब नेपाली समाजलाई क्रमिकरूपले समाजवादतर्फ रूपान्तरण गर्नुपर्छ भन्ने कुरा हामीले अगाडि सा-यौँ । तर,त्यसलाई बोक्ने खालको नेतृत्व महाधिवेशनले निर्वाचित गर्न सकेन । महाधिवेशनले केपी ओलीको नेतृत्वको ब्लकलाई सानो अन्तरले निर्वाचित ग-यो । वास्तवमा त्यही निर्वाचनदेखि हाम्रो पार्टीमा विचलन सुरु भयो ।

दोस्रो महाधिवेशनकालीन केशरजङ्ग रायमाझीको नेतृत्वसँग अहिलेको एमाले नेतृत्वलाई तुलना गर्न मिल्छ कि मिल्दैन ?

तपाईंले हाम्रो पार्टीको दोस्रो महाधिवेशन घटना बारेमा प्रश्न गर्नुभयो । यथार्थमा यो दुःखद कुरा हो । तर दोस्रो महाधिवेशनको घटना फेरि एकपटक हाम्रो पार्टीमा दोहोरिन पुुगेको छ ।

दोहरियो कसरी भन्नुहुन्छ भने हाम्रो पार्टीभित्र निकै समयअघिदेखि गुटबन्दी विकसित हुँदै आएको थियो । केपी ओलीको नेतृत्वमा पार्टीको छैटौँ महाधिवेशनकै कालखण्डदेखि एउटा गुट खडा भयो । त्यो गुटले मदन भण्डारीको नामलाई भजाएर मदन भण्डारी फाउन्डेसन भन्दै एउटा गुट खडा ग-यो । फाउन्डेसनका शाखाहरू भन्दै हरेक जिल्लामा कमिटीहरू बनाउँदै हिँड्यो । त्यो वास्तवमा पार्टी विरोधी गुट थियो । त्यो गुटलाई हामीले सुरुमै निरूपण गर्न सक्नुपथ्र्यो । हामीले निरूपण गर्न सकेनौँ । पार्टी नेतृत्वले त्यतिबेलै जुन ढङ्गले गम्भीरतापूर्वक लिनुपर्ने थियो,त्यसरी गम्भीरतापूर्वक लिने र गुटबन्दीलाई सुरुवातमै त्यसका चरित्र र गतिविधिहरू निरूपण गर्नुपर्ने थियो । त्यो नगर्दा उक्त गुट हुर्कंदै गयो ।

त्यही गुटका वाहकलाई पार्टीले विभिन्न ढङ्गले मलजल गर्ने काम पनि गर्दै गयो । त्यो मलजल गर्ने सिलसिलामा अनेकन प्रकारका साधन–स्रोतको परिचालन गर्ने एउटा अनुुकूलता पनि बढेर गयो । त्यो गुटबन्दी झन् झन् घनिभूत भएर गयो ।

हामी सातौँदेखि आठौँ महाधिवेशन बीचमा आइपुुग्दासम्म हाम्रो देशमा ०६२–६३ को ठूलो परिवर्तन भयो । त्यो सम्पन्न भइसकेपछि हामीले संविधान सभाको निर्वाचन ग-यौँ । त्यो निर्वाचनमा तत्कालीन महासचिव कमरेड माधवकुमार नेपालले आफू पराजित भएको र पार्टी पनि पराजित भएको हुनाले नैतिकताका आधारमा राजीनामा दिनुुभयो । त्यसपछि पार्टीले मलाई फेरि महासचिव बनायो ।

मैले क्रमशः अब पार्टीलाई आठौँ महाधिवेशनतर्फ सङ्गठित गरेर लानुपर्छ भनेर मैले पार्टीलाई अगुवाई गरेँ । त्यतिबेला उग्र वामपन्थ नेपाली कम्युनिस्ट आन्दोलनमा झन्डै–झन्डै हाबी थियो । त्यसका विविध अभिव्यक्ति विरुद्ध हामीले वैचारिक सङ्घर्षलाई पनि गहिरो बनाएर लग्यौँ । पार्टीका सही क्रान्तिकारी कार्यदिशालाई अझ समृद्ध पनि बनायौँ । त्यो समृद्ध बनाउने क्रममा पार्टी सङ्गठनमा नयाँ रक्तसञ्चार भयो । नयाँ जीवन र आत्मविश्वास विकास भयो । कार्यकर्ताहरूमा पनि त्यही ढङ्गको आत्मविश्वास विकसित भयो ।

हामी त्यो गुुटबन्दीविरुद्ध लडि नै रह्यौँ । त्यो गुटबन्दीले विभिन्न ढङ्गले पार्टीलाई सताउने काम गरि नै रह्यो । हामी त्यसविरुद्ध पनि जुध्दै रह्यौँ । तर,नवौँ महाधिवेशनसम्म आउँदा पनि त्यो गुटलाई हामीले उन्मूलन गर्न सकेनौँ । त्यो उन्मूलन गर्न नसक्नुका पछाडि हाम्रै साथीभाइहरूको सहयोग,त्यो गुटबन्दीलाई धेरै मात्रामा पुगिरह्यो । त्यसले गर्दा त्यो गुटबन्दी मौलाउँदै गयो र नवौँ महाधिवेशनमा वैचारिक,राजनीतिक कार्यदिशा त म आफै नेतृत्वमा भएको हुनाले हामीले ती कुरा अगाडि सा-यौँ । महाधिवेशनको दस्तावेजको ड्राफ्टिङ कमिटीको अध्यक्ष म आफै थिएँ र विभिन्न दस्तावेज हामीले बनायौँ । हामीले प्रतिवेदन बनायौँ । सङ्गठन प्रस्ताव बनायौँ । हामीले पार्टीको विधान बनायौँ । यस्ता दस्तावेज निर्माण गरेर ती कुरालाई पारित ग-यौँ । त्यो ठिकै ढङ्गले पारित भयो । तर नेतृत्व निर्माण गर्दा कमरेड केपी ओली नेतृत्वको समूह निर्वाचित भएर आयो । जो पारित भएका विचारहरूसँग प्रतिबद्ध थिएन त्यो प्रतिबद्ध थिएन र बिस्तारै पार्टीमा दक्षिणपन्थी भड्कावहरू हाबी हुँदै गए ।

नवौँ महाधिवेशनबाट पारित कार्यदिशालाई ओलीको नेतृत्वले समातेको छैन भन्ने आधार के छ ? यही अवधिमा माओवादीसँग एकता भयो, एकीकृत पार्टी बन्यो, सरकारमा त्यति ठूलो बहुमत लिएर जाने वातावरण बन्यो, सरकारले राम्रा कामहरू गरेको छ भनेर ओलीले भनिरहनुुभएको छ । नवौँ महाधिवेशनको कार्यदिशा र ओलीजीको नेतृत्वबीचको विरोधाभाष कहाँनेर भयो ?

हिजोको जो गुटबन्दी हो,त्यो गुटबन्दी पार्टीको नेतृत्वमै पुुग्न सक्यो र सिङ्गो पार्टीलाई एउटा गुटले शासन गर्ने स्थिति बन्यो । सही विचार बोक्ने साथीहरूलाई पार्टीमा दबाइन्थ्यो । उनीहरूमाथि उत्पीडन हुन थाल्यो । पार्टी व्यापी रूपमा ती साथीहरूलाई जहाँ पनि पाखा लगाउने,सके केन्द्रमा पाखा लगाउने,केन्द्रमा पदाधिकारीमा त १४ जना पदाधिकारीमध्ये हामीले ८ जना जित्यौँ ।

सचिवहरू पनि त्यही ढङ्गका साथीहरूले जित्नुुभयो । तर पनि पार्टी केन्द्रीय कमिटीमा सामान्यत उहाँहरूको झिनो बहुमत भयो । जिल्लाहरूमा पनि हाम्रो धारलाई प्रतिनिधित्व गर्ने साथी नै धेरै जिल्ला (४०–४५ जिल्ला) मा निर्वाचित हुनुुभएको थियो ।

पार्टी भित्रभित्रै दुईवटा समूहमा बाँडिन थाल्यो,दुईवटा विचार समूहमा । व्यक्तिको गुटभन्दा पनि केपी ओलीले नेतृत्व गरेको एउटा दक्षिणपन्थी भड्काउले ग्रस्त समूह र पार्टीका सही वैचारिक–राजनीतिक कार्यदिशाहरूलाई प्रतिनिधित्व गर्ने अर्को समूह । यी दुईवटा समूह प्रकट भए । यी दुुई समूहका बीचमा अन्तरसङ्घर्ष मन्द रूपले बढ्दै गयो । केही अवधिसम्म यसले त्यस्तो तीव्रता लिएन । महाधिवेशनले जे निर्णय गर्‍यो, त्यसलाई अब पालना गर्नुपर्छ,कार्यान्वयन गर्नुपर्छ,जो नेतृत्व आएको छ,त्यो नेतृत्व महाधिवेशनले पारित गरेका कार्यदिशा,नीति,सिद्धान्त अनुरूप अघि बढोस् भन्ने अपेक्षा सबैको रह्यो ।

यही सिलसिलामा हामीले संविधानको घोषणा ग-यौँ । संविधान बनाउने काममा सिङ्गो पार्टी,त्यतिबेला जो जो सांसद् थियौँ ती सबैले राम्रो ढङ्गले भूमिका खेल्यौँ । त्यो भूमिका खेलेको हुनाले तुलनात्मक रूपले निकै राम्रो संविधान बनाउन सक्यौँ ।

संविधान बनिसकेपछि देशमा पहिले स्थानीय निकायको चुनाव भयो । चुनावमा हामीले सबै बामपन्थीहरूलाई मिलाएर जाऊँ,त्यसमाथि पनि दुईवटा ठूला वामपन्थी समूह प्रकट भए,नेपाली कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र । यो दुईवटा मिलाएर,दुईबीच कार्यगत एकता गरेर हामी अगाडि बढौँ भन्ने कुरा हामीले ग-यौँ । तर,केपी ओली र उहाँको धारका मान्छेले मानेनन् । त्यसले गर्दा स्थानीय निकायको चुनावमा हामी एक्ला एक्लै लड्यौँ ।

हाम्रो पार्टीको केपी ओली धारसँग दम्भ थियो,घमण्ड थियो । हामी एक्लै फाँड्छौँ भन्ने थियो । उहाँलाई आफूभित्र रहेको दक्षिणपन्थी चिन्तनले विभिन्न ढङ्गले प्रभावित पारिरहेको थियो । त्यसबाट उहाँहरूमा एकखालको दम्भ प्रकट भइरहेको थियो । त्यो दम्भका आधारमा उहाँले निर्वाचनमा कार्यगत एकता गर्न दिनुुभएन ।

परिणाम के आयो भने,तत्कालीन नेकपा एमालेले ४५ प्रतिशत जित्यो स्थानीय निर्वाचनमा र माओवादी केन्द्रले १५ प्रतिशत जित्यो,दुुईवटाको जोड्दा ६० प्रतिशत भयो । दुुईवटैले कार्यगत एकता गरेर लडेको भए हामीले कम्तिमा ८० प्रतिशत जित्ने थियौँ । त्यो सम्भावनाबाट हामी वञ्चित भयौँ । यो त पिक्चरले,तथ्यहरूले,ठोस वस्तुुगत सम्भावनाहरूले देखायो ।

त्यसको विश्लेषण गरिसकेपछि ओलीको सत्तामा पुुग्ने जुन महत्त्वाकाङ्क्षा थियो,त्यो महत्त्वाकाङ्क्षा पूरा हुन नसक्ने भयो । उहाँले एकाएक माओवादीप्रतिको जुुन चर्को विरोध थियो,त्यो चर्को विरोध एकैचोटि उहाँले मन्दतामा बदल्नुुभयो,रोकिनुुभयो र माओवादीसँग आम निर्वाचनमा एकता गर्नुपर्छ भन्ने कुरा आयो ।

हामी सबैले त्यो चाहिरहेकै थियौँ,नेपालको कम्युनिस्ट आन्दोलनले पनि त्यही चाहिरहेको थियो । त्यसैले हामीले ठीक छ,राम्रो हो भन्यौँ । त्यसमा सबैको सहमति भयो । हामीले संयुक्त रूपले कार्यगत एकता गरेर निर्वाचन लड्यौँ । त्यो निर्वाचनबाट जे उपलब्धि भयो । हाम्रासामु अहिले पनि छँदैछ । हामीले झन्डै झन्डै दुुई तिहाइ बहुमतको सरकार बनायौँ । नेकपा एमालेले १ सय २१ सिट जित्यो,माओवादीले ५३ सिट जित्यो । हामी दुुईवटाको गर्दा १ सय ७४ सिट भयो र हामी झन्डै दुुई तिहाइ बहुमतमा पुुग्यौँ । यो असाधारण उपलब्धि थियो ।

तर,यो उपलब्धिपछि हामीले विशेष प्रकारले सरकार बनाउनुपर्ने अवस्था आयो । स्वाभाविक रूपले हाम्रो संयुक्त सरकार बन्नुपर्ने भयो । संयुक्त सरकारको प्रधानमन्त्री माओवादी केन्द्रले पनि केपी ओलीलाई समर्थन गर्‍यो र हामीले पनि ओलीलाई नै प्रस्ताव गर्नु स्वाभाविक थियो । प्रधानमन्त्री बन्नुुभयो । उहाँ प्रधानमन्त्री बनेको दिनदेखि उहाँभित्रको दक्षिणपन्थी अवसरवाद घनिभूत रूपमा प्रकट हुनथाल्यो ।

यहाँले केपी ओलीमा दक्षिणपन्थी भड्काव, दक्षिणपन्थी अवसरवाद देखापरेको बताइरहनुभएको छ । ओलीमा दक्षिणपन्थी भड्काव छ भन्ने आधार के छन् ?

सबैभन्दा पहिलो कुरा उहाँले क्याबिनेट फर्मेशन गर्दा माओवादी केन्द्रका साथीहरूलाई त लिनुपर्ने भयो नै । त्यतिबेला एमाले तर्फबाट अरू कसैलाई उहाँले मान्छे पनि ठान्नुभएन । सम्पूर्ण रूपमा आफ्नो गुटका मान्छेलाई लिएर उहाँले एकलौटीरूपमा क्याबिनेट फर्मेसन गर्नुुभयो । त्योभन्दा कति सिनियर र अनुुभवीलाई तल छाडेर आफ्नो गुटका मान्छेलाई राख्नुभयो । पार्टी त सबैको थियो नि,सबैलाई समेट्नुुपर्ने थियो नि,समेट्नुुभएन । उहाँले गुटभन्दा बढी केही पनि देख्नुभएन । यो दक्षिणपन्थी चिन्तनको सबैभन्दा पहिलो अभिव्यक्ति थियो ।

यो दक्षिणपन्थी चिन्तनले उहाँलाई अब सत्ताको केन्द्रीकरणतर्फ लग्यो । कम्युनिस्ट पार्टीले त जनतालाई पो शक्ति दिँदै जान्छ,विकेन्द्रीकरण पो गर्दै जान्छ त । अधिकार जनतालाई हस्तान्तरण गर्दै जान्छ,जनतालाई अधिकार सम्पन्न बनाउँदै जान्छ । किनकि,जनता सार्वभौमसत्ता सम्पन्न हुन्,जनता इतिहासका चालक हुन् । जनता निर्णायक शक्ति हुन् । तर,त्यो दक्षिणपन्थी भड्कावबाट ग्रस्त कमरेड केपी ओलीको गुटले क्याबिनेट एकलौटी बनायो ।

दोस्रो कुरा,त्यो क्याबिनेट निर्माणपछि हामीले योजना आयोग बनाएको देख्यौँ । नेपाली समाज त जनवादी क्रान्ति सम्पन्न गरेर अब समाजवादी क्रान्ति र निर्माणको नयाँ युुगमा यो प्लानिङ कमिसन आएको थियो नि । यो नयाँ युगमा कसरी नयाँ योजना बनाउने,देशलाई कसरी पुनर्निर्माण गर्ने,नयाँ आर्थिक र सामाजिक ढाँचा कसरी बनाउने ?कसरी आमूल परिवर्तन गर्ने ?पुँजीवादी शोषणबाट यो समाजलाई फेरि कसरी मुक्त गर्ने ?हामीले त हिजो सामन्तवादको शोषणलाई मात्र अन्त्य गरेका छौँ । पुँजीवादको शोषण त बाँकी नै छ ।

त्यसलाई हामीले कसरी नियन्त्रित गर्दै अन्त्य गर्दै जाने र क्रमशः समाजवादलाई कसरी विकसित गर्दै जाने । समाजवादका आधारहरू कसरी तयार गर्दै लाने,यो आवश्यकता देशका सामुु थियो । तर यो वस्तुगत आवश्यकतालाई उहाँले विल्कुलै नजरअन्दाज गर्नुभयो । हामीले यो आवश्यकतालाई उठाउने कोसिस ग-यौँ । तर उहाँले आफ्नो गुटका मान्छे मात्रै राखेर एकलौटी योजना आयोग बनाउनुभयो ।

यसमा पार्टीसँग कुनै सल्लाह,विचार विमर्श छैन । पार्टीको कुनै निकायबाट निर्णय छैन । कमसे कम सुझाव त हुन्छ नि,त्यो पनि छैन । ४० वर्षभन्दा धेरै पार गरेर आएका नेकपा एमालेसँग आबद्ध धेरै डाक्टर छन्,विभिन्न पेसा व्यवसायमा जाने विशेषज्ञता हासिल गरेका मान्छेहरू छन् । उनीहरू सबै हेरेको हे-यैँ भए । यसरी उहाँले योजना आयोग बनाउँदा पनि एकलौटीकरण गर्नुुभयो ।

तेस्रो कुरा,उहाँले सरकारको नीति तथा कार्यक्रम ल्याउनुुभयो । त्यो नीति तथा कार्यक्रम कस्तो आउने हो भनेर तीन करोड नेपालीहरू व्यग्र प्रतीक्षामा थिए । अब कम्युनिस्ट पार्टीले यो समाजलाई कसरी योभन्दा उन्नत स्तरमा लग्छ । उसका सामाजिक–आर्थिक नीतिहरू के हुुन्छन् ?यो सबैलाई जिज्ञासाको विषय थियो । तर नीति र कार्यक्रममा एउटा पनि नयाँ कुरा आएन । गुणात्मक परिवर्तनको कुरै भएन,उही मात्रात्मक विकासको कुरा आए । कार्यक्रम त आयो,तर त्यो नीति कार्यक्रममा सामाजिक आर्थिक रूपान्तरण,सांस्कृतिक रूपान्तरणका कुुनै कार्यक्रम आएनन् ।

त्यो पुुँजीवादीकरणकै मात्रै कार्यक्रम आए । दलाल पुुँजीपतिहरूलाई कसो गर्दा हित पुुग्छ,यिनै खालका नीति र कार्यक्रम मात्रै आए । पुँजीवादलाई हित हुने पनि आएन,समाजवादको त कुरै छाडौँ । एक पटक हो र,३–३ वर्षसम्म नीति तथा कार्यक्रम आए । एक पटक त पहिलो पटक राम्रोसँग तयारी पुुगेन होला,हामीले प्रतीक्षा ग-यौँ । तर दोस्रो आयो,त्यस्तै छ । तेस्रो आयो,त्यस्तै छ । यो त कुनै पनि कुरा तीन चोटि दोहोरिन्छ भने त्यहाँ नियतले काम गरेको हुन्छ । तीन÷तीनवटा नीति कार्यक्रम ल्याउँदा उहाँ विल्कुलै पुुँजीवादपन्थी र दक्षिणपन्थी अवसरवादको दलदलतर्फ लागेको कुुरा प्रष्ट देखियो । यो दक्षिणपन्थी अवसरवादको अर्को एउटा अभिव्यक्ति हो ।रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय