शनिबार , बैसाख १५, २०८१

नेपालमा कस्मेटिक्स सामग्रीहरुको प्रयोगका लागि निश्चित मापदण्ड नै बनाइएको छैन । यद्यपि पछिल्लो समयमा सौन्दर्य र यससँग सम्बन्धित व्यवसायहरु नेपालमा एकदमै बढेको पाइन्छ । सामाजिक सञ्जालको अत्याधिक मात्रामा प्रयोगका कारण नेपालमा सौन्दर्य सामग्रीहरुले एकदमै बजार लिएको पाइएको छ ।

युवा पुस्तामा विज्ञापनको अत्याधिक प्रयोगका कारण बिना अध्ययन तथा छाला रोगका चिकित्सकहरुको सल्लाह बिना नै विभिन्न प्रकारका कस्मेटिक्सको प्रयोग गर्ने प्रचलन बढिरहेको पाइन्छ । नेपाल सरकारले कस्मेटिक्स सामग्रीको प्रयोगका सन्दर्भमा कुनै पनि प्रकारको मापदण्ड नबनाएका कारण जथाबाभी ब्युटिपार्लरमा गई कस्मेटिक्सहरुको प्रयोग गर्ने प्रचलन पछिल्लो समय एकदमै बढिरहेको छ । कस्मेटिक्स सामग्रीको बिक्री बितरण जोसुकैले पनि गर्न सक्ने व्यवस्था नेपालमा छ ।

सरकारको भूमिका के ?

कस्मेटिक्स सामग्रीको प्रयोगसम्बन्धी कानुन सरकारले ल्याउन जरुरी छ । जसले अवैधानिक रुपमा कस्मेटिक्स तथा सौन्दर्यसम्बन्धि हुने बिक्रीवितरण तथा प्रयोगमा रोक ल्याउन सक्छ । यसका साथ बजार तथा विज्ञापनमा समेत सरकारले कानुन बनाएर नियन्त्रण गर्नु आवश्यक छ । कस्मेटिक्सहरुको प्रयोगका लागि प्रोपोगान्डा फैलाउने लक्ष्यले गरिएका विज्ञापनमा समेत रोक लगाउनुपर्ने अवस्था छ । कस्तो कस्मेटिक्सको प्रयोग कस्तो असर गर्नसक्छ भनी व्यक्ति स्वयंम् पनि सचेत हुनु आवश्यक छ ।

के जाडो र गर्मीमा फरक फरक क्रिम लगाउनुपर्छ ?

जाडो र गर्मी महिनामा फरक फरक प्रकारको क्रिम लगाउनुपर्ने हुन्छ । गर्मीमा समयमा छालामा चिल्लोपना बढ्ने गर्छ भने जाडोमा छाला सुख्खा हुने गर्छ । त्यसैले गर्मी तथा जाडोमा फरक फरक प्रकारको क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ । यद्यपि छालाको उचित स्याहारका लागि जुनसुकै समयमा पनि सन्सक्रिमको भने प्रयोग गर्नुपर्ने हुन्छ । छालाको प्रकृति अनुसार भने फरक प्रकारको सन्सक्रिमको प्रयोग गर्न सकिन्छ । छालाको प्रकृति अनुसार कुन क्रिमको प्रयोग उपयुक्त हुन्छ , भन्नेबारे चिकित्सकसँग सल्लाह गर्नुपर्ने हुन्छ ।

मेकअप गर्नुपूर्व अपनाउनुपर्ने सावधानीहरु ?
सबैभन्दा पहिलो कुरा त मेकअप सामग्री अथेन्टिक ब्रान्डको मात्रै प्रयोग गर्नुपर्छ । चिकित्सकसँगको परामर्शपश्चात् अथेन्टिक ब्रान्ड हो या होइन पक्का गर्न सक्नुहुन्छ । बजारका पार्लर तथा कस्मेटिक्स पसलहरुमा सस्तोमा पाइयो भन्दैमा जुनुसुकै ब्रान्डका मेकअप सामग्रीहरु लगाउँदा त्यसले छालामा गम्भीर प्रकारको समस्या ल्याउन सक्छ । संवेदनशील छाला भएकाहरुले भने दैनिक मेकअप नगरेकै राम्रो हुन्छ । मेकअप गर्नुपूर्व मोस्टराइजर तथा सन्सक्रिमको प्रयोग अनिवार्य मानिन्छ । मोस्टराइजरको प्रयोगले मेकअपलाई छालाभित्र छिर्न दिदैंन । मेकअप सामग्री किन्ने समयमा राम्रोसँग त्यसको प्रयोग मिती हेरेर मात्रै किन्नुपर्ने हुन्छ ।

मेकअपका सामग्रीको हेरचाह कसरी गर्ने ?
किनेर ल्याइएको मेकअप सामग्रीलाई सामान्य तापक्रममा कोठामा राख्न सकिन्छ । धेरै घाम तथा ओसिलो ठाउँमा मेकअप सामगीलाई राख्न हुँदैंन । जुनसुकै मेकअप सामग्रीलाई सामान्य तापक्रममा कोठामा राख्दा त्यो बिग्रदैंन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय