शनिबार , अषोज २, २०७८

वीरगंज

मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने ? कतै मरिने पो हो कि ? मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३ दिन कोभिड अस्पतालमा बसें। डाक्टरको सही उपचार पाएर सकुशल घर पनि फर्किएँ।

तर अहिले कोरोना संक्रमणको दोस्रो लहरको चपेटाले अस्तव्यस्त बनाउन थालेको छ। उपचारका लागि अस्पतालको बेड समेत नपाउने अवस्था छ। वीरगन्जमा दिनहुँ जाँच गराउनेमध्ये आधाभन्दा बढीमा संक्रमण भेटिन थालेको छ।

अवस्था जति भयावह बने पनि यहाँका नागरिकमा लापरवाहले सीमा नाघिरहेकै छ। उनीहरूले स्वास्थ्यका सामान्य मापदण्ड पनि पालना गरेका छैनन्। बजारको भिडभाडमा कमी आएको छैन। मास्क लगाउन समेत प्रहरीले निगरानी गरिरहनु पर्छ।

यस्तो अवस्थामा अरूकै कारणबाट संक्रमित भइन्छ कि भन्ने डरले सबै काम एकातिर थन्क्याएको छु। तरकारी किन्न बजार जान समेत छोडेको दुई हप्ता भइसकेको छ। संक्रमण बढेसँगै घरबाट सिधै कार्यालय र कार्यालयबाट सिधै घर आउने जाने गरेको छु।

अब फेरि पनि संक्रमित भइहालें भने उपचार समेत नपाएर मर्नु पर्ने हो कि भन्ने डरले रातदिन सताइरहेको छ। अहिले कोरोनाको दोस्रो संक्रमणले वीरगन्जलाई फेरि कोरोनाको हटस्पट बनाइसकेको छ। नागरिक त लापरवाह गरिरहेका छन् नै त्यसमा राज्य पनि मुकदर्शक बन्दा निकास देखिन छोडेको हो।

वीरगन्जमा अस्पतालमा बेड नपाएर ६४४ संक्रमित होम आइसोलेसनमा बस्न विवश छन्। ती संक्रमितहरूको निगरानी पनि कसैबाट छैन। जसका कारण उनीहरू बजार, चोक र गाउँटोलमा निर्धक्क घुमिरहेका छन्।

यसले समुदायमा झन् धेरै संक्रमण फैलिरहेको चिकित्सक बताउँछन्। वीरगन्जस्थित सरकारी अस्पताल नारायणीको आइसोलेसन वार्ड कोभिडका संक्रमितले भरिभराउ भइसकेका छन्। अब त्यहाँ थप संक्रमित राख्ने ठाउँ पनि नभएकाले अन्य रोगका बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गर्न थालिएको छ।

निजी अस्पतालहरूलाई कम्तिमा २० बेड कोभिड संक्रमितका लागि छुट्याउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)ले १० दिन पहिले नै निर्देशन दिएको थियो। तर उक्त निर्देशन कागजमै सीमित छ।

निजी अस्पतालले कोभिडका बिरामी भर्ना लिन समेत मानिरहेका छैनन्। जबकि १० दिन पहिले नै नेशनल मेडिकल कलेजले पहिलो लहरका बेला बाबा होटलमा सञ्चालन गरेको १७० बेडको कोभिड विशेष अस्पताल पुनः सञ्चालनका लागि डिसिएमसीले स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेको थियो। तर हालसम्म मन्त्रालयले कुनै सुनुवाइ नै गरेको छैन।

वीरगन्ज महानगरपालिकाका प्रमुखले महानगरले आफ्नै खर्चमा कोभिड अस्पतालमा सञ्चालन गर्न सक्ने अवस्था नभएको भनेर हात उठाइसकेका छन्। पहिलो लहरका बेला कोभिड अस्पताल सञ्चालनमा महानगरको १० करोड रुपैयाँ खर्च भएको र उक्त रकम संघीय वा प्रदेश सरकारबाट अझैसम्म भुक्तानी नभएको प्रमुखको गुनासो छ।

पहिलो लहरका बेला संक्रमण पुष्टि हुनेबित्तिकै स्वास्थ्य कार्यालय र महानगरपालिकाले सम्बन्धित संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गथ्र्यो। तर अहिले संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ नै गरिएको छैन। जसका कारण संक्रमितको सम्पर्कमा रहेका व्यक्तिमा संक्रमण छ कि छैन थाहा हुन छोडेको छ। उसले परीक्षण गराउनु पर्ने हो कि होइन ? वीरगन्जमा कसैलाई मतलब छैन।

वीरगन्ज भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका हो। वीरगन्ज नाकामा दैनिक हजारभन्दा बढी मानिसको आउजाउ हुन्छ। भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि वीरगन्ज नाकामा चैत दोस्रो सातादेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ तर आवश्यक परेको जति निगरानी भने हुन सकिरहेको छैन।

दैनिक हजार भन्दा बढी मानिसको आउजाउ हुने वीरगन्ज नाकामा चैत २३ देखि वैशाख १२ सम्म १०५० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको छ। तीमध्ये ७३ जनामा कोरोना संक्रमण भेटिएको छ।

भारतबाट एकैपटक हुलका हुल मानिसहरू आउने भएकाले सबैको परीक्षण गर्न नसकिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी बताउँछन्। शंकास्पद लागेकालाई मात्रै एन्टिजेन परीक्षण गर्ने गरिएको र अरूहरूको भ्याएसम्म थर्मलगनले तापक्रम नापेर वीरगन्ज छिर्न दिने गरिएको छ।

मुख्य नाकाकै छेउको खेतको चोर बाटो भएर दिनहुँ सयौं मानिस वीरगन्ज भित्रिरहेका कारण त्यसले पनि वीरगन्जमा संक्रमण बढ्दै गएको छ। दोस्रो लहर सुरु भएयता वीरगन्जमा कोरोनाले ११ जनाको मृत्यु भइसकेको छ।

चैत २७ देखि वैशाख ११ गतेसम्म १६ दिनको अवधिमा मात्रै वीरगन्जमा ८२३ संक्रमित थपिएका छन्। दिनहँु परीक्षण गराएका मध्ये आधा भन्दा बढीमा संक्रमण भेटिन थालेको छ।

वीरगन्ज कोरोनाको भुमरीमा परिसक्दा समेत संक्रमण रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकार मौनजस्तै बसेका छन्। हुनत भारतमा संक्रमण्को दोस्रो लहर बढेलगत्तै यहाँका चिकित्सकले वीरगन्ज फेरि संक्रमणको उच्च जोखिममा पर्दैछ भनेर सचेत गराएका थिए।

त्यसबेला होली पर्व मनाउन भारतमा गएकाहरू घर फर्किने र उनीहरूबाट संक्रमण फैलने उच्च जोखिम रहेको चिकित्सकहरूले बताएका थिए।

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जले त चैत ५ मै एक विज्ञप्ति जारी गरेर छिमेकी मुलक भारतमा कोरोना संक्रमण फेरि तीव्र रूपमा फैलिरहेकाले खुल्ला सीमा भएका कारण फेरि उच्च जोखिममा रहेको र नाकामा सतकर्ता अपनाउन राज्यको ध्यानाकर्षण नै गराएको थियो।

त्यही दिन डा. निरज सिंहले पनि फेसबुक पेजमा स्टाटस पोष्ट गरेर भारतको कोलकत्ता र मुम्बइबाट वीरगन्जमा आएका तीनजनामा गम्भीर प्रकारको कोरोना संक्रमण भेटिएको जानकारी गराएका थिए।

तर त्यसबेला चिकित्सकहरूको आग्रहलाई राज्यका कुनै निकायले सुन्दै सुनेनन्। जसको परिणाम होलीभन्दा एक हप्ता अघि नै वीरगन्जमा संक्रमितको संख्या  ह्वात्तै बढ्न थाल्यो। छिमेकी मुलुक कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलोपटक वीरगन्जमा चैत ९ मा वीरगन्जमा ५० जनाको परीक्षण गर्दा १० जनामा संक्रमण भेटियो। चैत ९ मा संक्रमण दर २० प्रतिशत थियो। त्यसयता वीरगन्जमा संक्रमण दर ५० प्रतिशत भन्दा बढी नै छ।

वैशाख ११ गते संक्रमण दर ६५ प्रतिशत देखियो। वैशाख ११ मा १४० जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण भेटिएको हो। स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगन्ज सदरमुकाम रहेको पर्सा जिल्लामा वैशाख ११ सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या तीन हजार आठ सय ५७ पुगेको छ। तीमध्ये ६३ जनाको मृत्यु भइसकेको छ।

५० प्रतिशत भन्दा बढी संक्रमण दर रहेको वीरगन्जमा संक्रमण नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्न अझै पनि चिकित्सकहरूले राज्यलाई बारम्बार आग्रह गरिरहेका छन्। सामाजिक सञ्जाल मार्फत दिनहुँ यहाँका चिकित्सकहरूले वीरगन्जको अवस्था भयवाह बन्दै गएको भनेर सचेत गराइरहेका छन्।

यसका बाबजुद पनि न त यहाम्का नागरिकले स्वास्थ्यका मापदण्ड अपनाएका छन् न त तीन तह मध्येको कुनै सरकारले ठोस कदम नै चालेको छ। जसका कारण  केही दिनमै उपचारका लागि अस्पतालमा बेड र अक्सिजन नपाएर संक्रमितहरू  अस्पतालको गेटमै छट्पटाएर ज्यान गुमाउन बाध्य हुने अवस्था आउने चिकित्सकहरू बताउँछन्।

कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरू वीरगन्जमा संक्रमणको साङ्लो तोड्न अब ढिला नगरी नाका पूर्णरूपमा बन्द नै गरेर वीरगन्जमा केही दिनका लागि मात्रै भए पनि लकडाउन लगाइ हाल्नु पर्ने सुझाव दिइरहेका छन्।

भारतको दिल्ली र महाराष्ट्रमा देखा परिरहेको भयवाह अवस्था वीरगन्जमा पनि छिट्टै देखिन सक्ने चेतावनी चिकित्सकहरूले दिइरहेका छन्। वीरगन्जमा लकडाउनको त कुरा परै जाओस् नाकाको आवागमनलाई समेत व्यवस्थित पार्न सकिएको छैन।

संक्रमित थपिने क्रम दिनहुँ बढ्दै गए पनि संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड वा कोभिड अस्पतालको तयारी पनि गरिएको छैन। कोरोनाको भुमरीमा परिसकेको वीरगन्ज र अनि संक्रमण नियन्त्रणमा सम्बन्धित सरकारी निकायको उदासीनता हेर्दा महानगर वीरगन्ज अब भगवान् भरोसामा छ। अन्नपूर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय