
पोखरा
सत्तारुढ दल एमालेका सांसदले पीसीआर परीक्षणको माग गर्दै विरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
सत्तारुढ दल एमालेका सांसदहरुले सबै सांसदहरुको पीसीआर परीक्षणपछि मात्रै बैठक सुरु गर्नुपर्ने भन्दै सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
अहिले पुन: प्रदेशसभा बैठक सुरु भइसकेको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न बोलाइएको विशेष अधिवेशन सोमबारदेखि सुरु भएको हो ।
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेशसभामा टेबल भएको थियो । सोमबार प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
अविश्वास प्रस्ताव पेस गर्ने २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गरेका हुन् । नेपाली नयाँ मुख्यमन्त्रीमा प्रस्तावित छन् ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ मा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थियो ।
राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । अविश्वास प्रस्ताव माथि बुधबार मतदान हुँदैछ । कान्तिपुर