
काठमाडौँ
सरकारले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ ।
एक मन्त्रीका अनुसार तत्काल आन्तरिक उडान चालु राख्ने निर्णय भएको हो । ‘जुन मापदण्ड बनेको छ त्यही मापदण्डअनुसार उडान सञ्चालन गर्ने भन्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने निर्णय भएको हो ।’
सरकारले विदेश जानेका लागि पीसीआर परीक्षण गर्नका लागि ५ ल्याबलाई अनुमति दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले सीसीएमसीको सिफारिसअनुसार २०० सक्रिय कोरोना संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउने र ५०० सय सक्रिय संक्रमित रहेका सहरी क्षेत्रमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ ।
कोरोना संक्रमितको संख्या बढ्न लागेका क्षेत्रमा यातायात सञ्चालनमा निषेध लगाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । त्यसको जिम्मा भने स्थानीय प्रशासनलाई दिन सीसीएमसीले सिफारिस गरेको थियो ।
काठमाडौँ — कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका छन् ।
‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा आजको बैठकले सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने ।
त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।
पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको अर्का एक मन्त्रीले जानकारी दिए ।
‘नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १० दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय भएका छन्,’ ती मन्त्रीले जानकारी दिए ।
– कान्तिपुर