काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपचुनावमा पनि ठूला राजनीतिक दलप्रति नागरिकले चासो नदेखाएको बताउनुभएको छ ।

 

सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपचुनावमा पनि ठूला पार्टीप्रति नागरिककाे त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको बताउनुभएको पार्टीका सांसद रामहरि खतिवडाले बताउनुभएको हो । उहाँले पार्टी सभापति देउवाले बैठकमा आउँदाे वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘बैठकमा पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपचुनावले पनि ठूला पार्टीप्रति नागरिककाे त्यति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्योसँगै कांग्रेसले बजेट ल्याउँदा नागरिकलाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ भनेर उहाँले भन्नुभयाे ।’

 

बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गर्नुभएका वीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि नागरिकसँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । उनीहरूले आउँदाे बजेटमा नागरिकका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताउनुभयो ।

 

सांसद खतिवडाले सांसदहरूले आउँदाे बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा नागरिकले देख्ने कम्तीमा एउटा याेजना, पालिकाकाे कार्यालयमा जाने बाटो कालोपत्र गर्ने, व्यवस्थित सहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय