मंगलबार , चैत्र ६, २०८०

“साँझ दिउँसो बिहान सँधै मिडियामा कराउने, किन होला सबै नेता तिमीदेखि डराउने, धमला धमला ऋषि धमला… चर्का कुरा नगर बोली सम्हाल…

नचिन्ने त को होला र ऋषि धमला …”रिपोटर्स क्लबका ‘स्थायी अध्यक्ष’ ऋषि धमलामाथि बनेको गीतको एक अन्तरा हो यो। धमलामाथि बनेको गीतको रेकर्डिङमा उनी नाचेको भिडियो यतिखेर युट्युबमा निक्कै चर्चित छ। फुरुङ्ग हुँदै गायक, गायिकासँगै रेकर्डिङ स्टुडियोमा ताली पिट्दै गरेका ऋषिको स्थापित थेगो छ – ‘जनता जान्न चाहन्छन्’।

त्यसैले हामीले ऋषिलाई सोध्यौं – कसरी बन्यो गीत, जनता जान्न चाहन्छन्? ६ महिनाअघि धमलालाई फोन आयो – उनीमाथि गीत बनाउने भनेर। टेलिभिजनका क्यामरापर्सनका लागि फ्रेमभन्दा बाहिर पुर्‍याउनै कठिन पात्र गीतका लागि तयार नहुने त कुरै भएन। त्यहीबाट सुरु भयो गीत लेख्न। कुनै पत्रकारलाई केन्द्रमा राखेर गीत तयार भएको सायद यो पहिलो हो।

गीत रेकर्डिङ भयो। मेरा साथी र संचारकर्मी सन्तोषले फोन गरेर म तपाईँबारे गीत बनाउँछु। आइदिनु पर्‍यो,’ धमलाले युट्युबमा छाइरहेको गीत रेकर्डिङको प्रसङ्ग सुनाए, ‘बबरमहलको प्रिज्म रेकर्डिङमा गएँ। म त सर्प्राइज भएँ – राधिका हमाल र त्रिपाठी (प्रदीप)जीले गीत बनाएर लगातार गाउँदै हुनुहुँदो रहेछ। मलाई नचाउनुभो।’ गीत सुनेपछि मख्ख परेका धमला नाच्न किन पछि हट्थे।

सन्तोष देउजाले धमलामाथि गीत लेखे। लेख्नुअघि ऋषिलाई सोधे – ‘तपाईँबारेगीत बनाएका छौँ, आपत्ति छ कि छैन?’ धमलाले जवाफ फर्काए – ‘तपाईँ गीत बनाउनुस्, मेरो आपत्ति छैन।’

जति आलोचना गरे पनि नरिसाउने ऋषिमाथि जोक्स त बनिरहेकै हुन्छ। ट्रोलहरु उत्तिकै। अब गीत। त्यसमा धमलामाथि नै हमला। तै पनि उनी नकारात्मक बनेनन्। उनीमाथिका टिकाटिप्पणीमा उनी कहिल्यै सिरियस भएनन्। वीरगञ्जबाट गीतको सुत्रपात हुँदा उनले आपत्ति जनाउने कुरै थिएन किनकि – नाम होस् या बदनाम, गुमनाम चै हुन चाहन्नन् उनी।

तर, रोचक के भयो भने धमलालाई गीत उल्कै मन परेको छ। गीतपछि पनि उनीमाथि टिप्पणीहरु नओइरिएका होइन। आलोचना सहर्ष स्वीकार्ने बताउँदै भने, ‘म आलोचना खेपेको मान्छे हो। म भगवान त होइन। कमी कमजोरी हुन्छन्। गीतको माध्यमबाट मेरा कमी कमजोरी औँल्याइदिएकोमा धन्यवाद।’

नेतामा कमी कमजोरी भएकाले उनीहरुमाथि पनि यस्तै गीत बन्ने तर्क गर्दै गीतलाई सजिलै सामान्यीकरण गर्दिए उनले। ‘मैले पत्रकारिता गर्दा मैले बोकेको एजेण्डा कतिलाई मन नपर्ला। गिरिजाप्रसाद कोइरालाले मलाई भन्नुभएको थियो – जो मान्छेको आलोचना हुन्छ, त्यो सफल हुन्छ,’ उनले भने।

धमलाको गीत त रेकर्ड भइसक्यो, भिडियो बनिसकेको छैन। धमला आफैं भिडियोमा देखिने तयारी पनि भएको छ। अब उनको अपोजिटमा को होला? पत्नी एलिजा आफैँमा ‘हिरोइन’ छँदैछिन्। के धमलाले एलिजालाई फिचर गर्लान् त गीतमा?

यसबारे कुनै निर्णय भएको छैन। गायक गायिकाले धमला पत्नी नै राख्न सुझाव दिइसकेका छन्। धमलाले भने यसबारे पत्नीसँग कुरा नभएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय