आइतबार , कार्तिक ७, २०७८

विस्तारामा पल्टिनासाथ निन्द्रा देवीको शरणमा पुग्ने मान्छे देखेकी मलाई इर्ष्या हुन्छ । म हररात जोडतोडले निदाउने प्रयत्न गर्छु। मेरो दैनिकी कसरत हो निदाउने प्रयत्न गर्नु।

मनमा अनेकन कुरा खेल्छन्। मस्तिष्कले कैयन तर्क काट्छन्। मन र मस्तिष्कको घम्साघम्सीमा मेरो निन्द्रा छेउ लागेर बस्छ।

अझ आजकालको प्रविधिले भरिपूर्ण हाते मोबाइल फोन र सामाजिक संजालको लिप्तताले कहिलेकाहीँ रात छर्लङ्ग भएको पत्तै पाउँदिनँ। सारा संसार समेट्ने यति सानो यन्त्र देखेर म कुनै बेला चकित हुन्छु। गजबको मगज छ मान्छेसँग। उसले गर्ने आविष्कारहरू देखेर म जिल पर्छु।

सामाजिक संजालले भौगोलिक दूरीलाई निकै खुम्चाई दिएको छ। कुनै बेला म विदेशमा छु भन्ने भान पनि हुँदैन। इस्टमित्र र आफन्तीहरूसँग नियमित रूपमा कुराकानी हुन्छ।

मेरो एउटा साथी छ लगौटिया यार! सानोमा हातले जांगे र सासले सिंगान तान्दै हिँड्दा देखिको मित्रता हो हाम्रो। अचेल हाम्रो कुराकानीमा परिपक्कता भित्रिएको छ।

घर व्यवहार, राजनीतिक चिन्तन र जीवन दर्शनजस्ता गहकिला शीर्षकमा हामी घन्टौं आ-आफ्नो तर्क राख्छौं । ऊ केही समय पहिले विद्यार्थी राजनीतिमा सक्रिय थियो। अचेल एक राजनीतिक पार्टीको युवा नेता भएको छ।

हिजो राति कुरैकुराको सिलसिलामा उसले देश विकास नहुनुको मुख्य कारण नेपाली विदेशिनु हो भन्ने तर्क राखेको थियो जसमा मैले विमति राखें। तर्कले विवादको सिर्जना गर्यो । र विवादले क्रोधको । ऊ क्रोधित हुँदै भन्यो, ‘तँजस्तो ‘देशद्रोही’ यो देशलाई चाहिएको पनि छैन’ र अचानक अफलाइन भयो।

अहिले म आफ्नो कम्प्युटर अघि बसेर उसलाई प्रतिक्रिया लेख्दै छु।

मेरो मस्तिष्कमा हिजोदेखि तैंले लगाएको आरोप ठोक्किराखेको छ। जति सोच्छु त्यति गम्भीर बन्दै जान्छ आरोप। राष्ट्रियता मापन गर्ने तेरो आधारहरूप्रति म अनविज्ञ छु। मभित्रको राष्ट्रियता प्रमाणित गर्नुपर्ने आवश्यकता ठान्दिनँ तर पनि आत्मसन्तुष्टिको निम्ति भए पनि मेरो हृदयको भावना उजागर गर्दैछु। थोरै अतितबाट सुन्।

नयाँ नेपाल निर्माणको निम्ति मेरो कान्छा बुवा आफ्नो श्रीमती र बालक छोरालाई छोडेर क्रान्ति गर्न घरबाट निस्किएका थिए। कान्छा बुवाको निर्णयप्रति मेरो बुवाको अस्वीकृति थियो।

घर छोड्नु अघि उनले भनेका थिए, ‘दाइ, यो लडाइँ म आफ्नो लागि हैन हाम्रो सन्तानको निम्ति लड्न जान लागेको हुँ। मलाई न रोक्नुस्। नत्र भोलि हाम्रो सन्तानलाई दिने जवाफ मसँग हुने छैन।’ बुवा नि:शब्द हुनुभयो।

त्यस दिन घरबाट निस्किनु भएको कान्छो बुवा फेरि कहिल्यै फर्केर आउनु भएन। उहाँको पार्टी सत्तामा पनि पुग्यो। देश र जनताले के प्राप्त गरे त्यो जगजायर छ। देश विकास भयो भएन त्यो तँ आफैं जान् तर नेताले मनग्य विकास गरे। तीन वर्ष अघि खाडीमा गएको कान्छो बुवाको छोरो बाकसमा नेपाल फर्कियो। मेरो कान्छो बुवाको त्याग, भाइको गुमेको जीवन र कान्छी आमाको बेदनामा तेरो राष्ट्रियताको थोरै धर्का देख्छस्/देख्दैनस् मलाई थाहा भएन।

अब म तलाई थोरै मेरो वर्तमान परिवेश सुनाउँछु। पूर्व-मेचीदेखि पश्चिम महाकालीसम्मका हामी नेपाली यहाँ समेटिएर बसेका छौं। हामी विभिन्न जातजाति र भेषभूषाका पक्कै होलाऊँ तर हामीमा कुनै विभेद छैन। एक विद्यार्थी भाइ छ। दिनरात मेहनत गरेर उच्च शिक्षा हासिल गर्दैछ। त आबद्ध विद्यार्थी संगठनले विद्यालयहरूमा ताला लाउँदै शिक्षा क्षेत्र ठप्प पारेकोले आजित भएर उच्च शिक्षा हासिल गर्न यहाँ आएको हो।

एक जना राष्ट्रकै प्रतिष्ठित कलाकार छन्। जमघटमा आफ्नो कला पस्किन्छन्। उनले आफ्नो कला मर्न दिएका छैनन्। दिदी हुनुहुन्छ पूर्वतिरको। काखे छोरी छोडेर आउनु भएको ४-५ वर्ष जति भयो। के छोरीको उज्ज्वल भविष्यको निम्ति आफ्नो खुसी त्याग गर्ने त्यो कर्मठ ममतामयी आमाको मातृत्वमा देशद्रोहीको दाग देख्छस् ? एक आत्मीय भाइ छ। भर्खर जुँगाको रेखी लाग्दै गरेको। ऊ तलको बाटो लाखौं तिरेर महिनौ लगाई ज्यानको बाजी लगाएर आएको। उसले भर्खर संचालन गरेको व्यापार तेरो पार्टीको कार्यकर्ताले तोडफोड गरेछ। दिनहुँ चन्दाको धम्की आउन थालेछ।

यहाँ विभिन्न संघ संस्था पनि छ जो दत्तचित्त भएर नेपालहरूको हितमा लागेका छन्। नेपालमा कोही बिरामी परे यहाँ चन्दा संकलन हुन्छ। प्राकृतिक प्रकोपको निम्ति कोष खडा गरेर राहत पुराउन तम्तयार हुन्छन्। यहीँ जन्मेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा सिकाउँछन्। ती स-साना बालबालिकाहरू कलिला हात जोडेर नमस्ते गर्दा हृदय नै पग्लन्छ। थोरै वृद्घवृद्धा ढाका टोपी, दौरा र सारीमा सजिएर बाटोतिर हिँडेको देख्दा छाती गर्वले चौडा हुन्छ।

अझ हरेक आइतबार यहाँ अवस्थित नेपाली मन्दिरमा भगवानको पूजा आराधना गर्न नेपालीहरूको घुइँचो लाग्छ। साथी, भूगोल जहाँ सुकै होस् हामीले हाम्रो संस्कृति छोडेका छैनौं।

तँलाई स्मरण होला हामीले नेपाली पाठ्यक्रममा महाकविको ”के नेपाल सानो छ ” शीर्षकको निबन्ध पढेको। उतिबेला उक्त निबन्ध हामीलाई हाम्रो बौद्धिक स्तरभन्दा माथि लाग्थ्यो। अहिले म त्यो निबन्धको सार आफ्नो जीवनसँग दाँज्छु।

तँलाई थाहा छ साथी न्यूयोर्क सहरको मुटुमा अवस्थित अति ब्यस्त टाइम्स स्क्वायरको भीडभाडमा म आफूलाई शून्य पाउँछु।

कोलाहलभित्र आफू हराएको भान हुन्छ। तर बानेश्वर चोक मलाई आफ्नो घरको दैलो जस्तो लाग्छ। सबै अनुहारहरू परिचित लाग्छन्। नायग्रा फल्सको पानीको प्रवाहले मलाई पिल्सन्छ कि जस्तो हुन्छ। तर डेविस फल्सको पानीको गतिमा म सम्मोहित हुन्छु। ह्वाइट  हाउस मलाई रित्तो रित्तो लाग्छ। सिंहदरबार कलात्मक। पिज्जा र पास्ताको स्वाद न जिब्रोले थाहा पाउछ न पेट अघाउँछ । ढिडो र मकैले पेट र जिब्रो दुबैलाई आनन्द दिन्छ।

कोक र पेप्सीले प्यास मेट्दैन। तर ढुंगे धाराको पानीले मेरो सम्पूर्ण इन्द्रिय तृप्त बनाउँछ। महँगा चिल्ला गाडीले मलाई आराम दिँदैन साथी। बरु काठमाडौंको टुकटुके नै शुलभ लाग्छ।

मसँग देश विकास र निर्माण गर्ने ठूला ठूला योजना र परियोजना नहोलान् तर आफ्नो काम गर्ने समयनिष्ठ छ।

मलाई बस् मेरो काम आउँछ। एक यस्तो काम जसले अरूको जीवनमा नकारात्मक असर गर्दैन। तेरो देशद्रोहीको परिभाषाभित्र मुलुक बाहिरका सबै नेपाली पर्छन् भने भोलि चोकको चिया पसलमा चियाको चुस्की र चुरोटको सर्को तान्दै गर्दा याद गर्नु हाम्रो पसिना विदेशमा बग्छ र त रेमिट्यान्सले धानेको देशमा तैंले ठूला ठूला सिद्धान्तका गफ हाँक्न पाएको छस्।

मभित्रको राष्ट्रियता हेर्न मासु र चिउरामा बिक्न छोडेर आफूभित्रको स्वाभिमान खडा गर्न सिक। श्रमलाई सम्मान गर्न सिक। दिउँसो आकाशमा तारा देखिएन भन्दैमा तारा आकाशमा नहुने हो र ?

सुन् साथी, जुन दिन म हरियो राहदानी बोकेर देश छोडेको थिएँ त्यही दिन आफूसँगै नेपालको एक अंश पनि बोकेर हिँडेको थिएँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय