फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्मले प्रदर्शनको चार दिनसम्म ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । सुरुवाती दुई दिनमा तीन करोड कमाएको फिल्मले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमायो ।

आइतबार मात्रै फिल्मको कमाइ झण्डै एक करोड हाराहारीमा रह्यो । वितरण कम्पनी ब्यांकटेसले चार दिनमा फिल्मको कमाइ झण्डै ६ करोड हाराहारीमा रहेको जनाएको छ । वितरक मनोज राठीले भने, ‘छक्कापञ्जाको कमाइलाई एउटा लहरको रुपमा हेर्नुपर्छ ।

 

यसको कमाइ तत्कालै रोकिने छाँटकाँट देखिंदैन ।’मंगलबार तराई–मधेशमा हुने होलीपर्वको बिदामा फिल्मले देशव्यापी ७० लाख र बुधबार नारी दिवसको बिदामा पनि फिल्मले कम्तीमा एक करोड ग्रस गर्ने पक्का छ । यो ट्रेन्ड हेर्दा फिल्मको पहिलो साताको कमाइ आठ करोड हाराहारीमा पुग्ने देखिन्छ ।

 

छक्कापञ्जा ४’को यो कुल कमाइमा मल्टिप्लेक्सको हिस्सा ७० प्रतिशत देखिन्छ । काठमाडौंसहित मोफसलका मल्टिप्लेक्स र सिंगल स्क्रिनमा फिल्मले उछाल कमाइ गरिरहेको छ ।बुधबार नारी दिवसको छेकोमा रणवीर कपुर स्टारर बलिउड फिल्म ‘तु झूठी मैं मक्कर’ रिलिज हुँदैछ ।

 

नयाँ फिल्म रिलिज भएपनि ‘छक्कापञ्जा’को वेभलाई यसले असर पार्ने देखिंदैन, किनभने हल सञ्चालकले ‘छड्के २’को शोलाई कटौती गरेर यो हिन्दी फिल्मलाई दिइरहेका छन् । मल्टिप्लेक्सले छड्के २ को शोमा भारी कटौती गरेका छन् । बुधबार मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले छड्के २ लाई सिभिल मलमा एक शो मात्र दिएको छ ।

 

दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् । निर्माता तथा अभिनेता गिरीले टिकट नपाइएको भन्दै शो थप्नुपर्ने मागसहितका टेलिफोन आइरहेका बताएका छन् ।

 

यो फिल्म रिलिज भएपछि यसका मुख्य कलाकार केदार घिमिरेको कामको चर्चा पनि भैरहेको छ । तर, फिल्मको मुख्य नायिकाको रुपमा रहेकी बेनिशा हमाल एक शक्तिशाली पात्रको रुपमा उदाएकी छिन् । यो फिल्ममा बेनिशा युट्युबरको रुपमा देखिएकी छिन् ।

 

उनका कारण ठूला ठूला बिषयको भण्डाफोर भएको फिल्ममा देखाइएको छ । बेनिशाले गुन्डाबाट राजनीतिज्ञ बनेका फिल्मका मुख्य कलाकार दीपकराज गिरी अर्थात राजाको जिन्दगीलाई नै परिवर्तन गरिदिन्छिन् । फिल्मको दोश्रो हाफ पूर्ण रुपमा बेनिशा र दीपकमाथि केन्द्रित छ ।

 

बेनिशाकै कारण फिल्ममा देखिने परिवर्तन गज्जबको छ । यसैले, ‘छक्का पन्जा ४’मा बेनिशाले सशक्त अभिनय मात्र गरेकी छैनन्, बलियो भूमिका समेत पाएकी छिन् ।

 

बेनिशाको अभिनयको प्रशंसा भएपनि फिल्म नचल्दा उनको करिअर सुखद तरिकाले अगाडि बढ्न सकिरहेको छैन । ‘छक्का पन्जा ४’ उनको करिअरका लागि माइलस्टोन बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय