मंगलबार , बैसाख २५, २०८१

काठमाडौं । आफनो र परिवारको भविष्यका लागि जापान गएकी भावना तामाङले एक दर्दनाक पीडा भोग्नु परेको छ ।

 

उनी जापान गएर पिआर प्राप्त गरेकी नेपाली चेली हुन । भावनाको इमान्दारी र लगनशीलता देखेर एक जापानी नागरिकले विवाह समेत गरेका थिए । सन २००६ मा अदालती विवाह गरेर उनी जापान गएकी थिइन् ।

 

तर बिहे गरेको २ वर्षभित्र उनका श्रीमानको निधन भयो । उनका अनुसार जापानमा उनकी सासुआमा अहिले पनि जिवित छिन् । सासुले छोराको सम्पति लैजाउ भनेर अनुरोध गर्दा पनि उनले ल्याउन नमानेर नेपाल फर्केकी थिइन् ।

 

करिब १६ देखि १७ वर्ष कडा दु:ख गरेर उनले काठमाडौंको बौद्ध र थलिमा २ वटा घर बनाउनुका साथैं जग्गा खरिद गर्न सफल भइन् । पहिलो श्रीमानको मृत्युपछि करिब ९ वर्ष उनले एक्लै दु:ख, कष्ट गर्दै जीवन बिताउनुपर्यो ।

 

उनी जापानमै व्यापार व्यवसाय गर्थिन् । उनी जापान बसे पनि गरिब दु:खीलाई सेवा गर्न कहिल्लै पछि परिनन् । यसबीच उनको भेट मलेसियामा बसेर समाजसेवा गर्दै आएका फुर्वा तामाङसँग भयो । सामाजिक सञ्जालमार्फत भेट भए पश्चात दिनकै कुरा हुन थाल्यो ।

 

नेपाल कहिले जाने भनेर भावना तामाङलाई तामाङ सोधिरहेका हुन्थे । भावना नेपाल आउनु भन्दा केही समय अगाडि नेपाल आएका फुर्वा भावनालाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्न भ्याएका थिए । नेपाल आएपछि उनीहरु सँगै कफी पिउँदै माया प्रेमका कुराहरु गर्न थाले ।

 

सोही क्रममा भावनाले जापानिज श्रीमानको मृत्यु भएका कारण नेपाल आएको कुरा बताइन् । केही समयपछि भावनालाई मोटरसाइकलमा लिएर फुर्वाले अनामनगर अधिवक्ताकोमा पुर्याए ।

 

२०७७ फागुन १७ गते काठमाडौं जिल्ला अदालतमा कुनै पनि प्रकारको अशं नलिने भनेर डिभार्स भयो । त्यसपछि उनीहरु फुर्वाकै मोटरसाइकलमा चढेर नयाँबानेश्वरको एक क्याफेमा कफी खान पुगे ।

 

सोही क्याफेमा कफी खाने क्रममा फुर्वाले भावनालाई विवाहको प्रस्ताव राखे । जवाफमा भावनाले हामी असल साथी हुन सक्छौँ, विवाह मेरो कर्ममा छैन भन्दै अस्विकार गरिन् । तर पछि आफ्नो आमालाई राखेर फुर्वाले भावनालाई विवाहका लागि तयार गरेका थिए ।

 

२०७८ बैशाख २४ मा काठमाडौंको मुलपानीस्थित ‘हेवन’ मा विवाह गर्ने कुरामा सहमति जुर्यो । तर कोरोना महामारीका कारण २ महिनापछि सामान्य विधिबाट विवाह गरेर उनीहरु एकसाथ बस्न थालेका थिए । यहाँसम्म सबै कुरा लगभग राम्रो थियो ।

 

विवाहपछि भावनाको जीवनमा नयाँ मोड आयो । विवाहपछि फुर्वाले आफनो लिङ्गमा ३ वटा गुच्छा आकारको औषधि जडान गरेर इच्छाविपरित दिनमा ५ देखि ६ पटकसम्म यौनसम्पर्क राख्न थाले ।

 

आफ्नै श्रीमान हो भनेर दिनको २ पटक यौनसम्पर्क गर्न दिएको भावनाले जानकारी गराइन् । तर त्युपछि उनका श्रीमानले थप पटक जरबजस्ती गर्ने गरेको उनको आरोप छ । फुर्वालाईश्रीमानले थप पटक जरबजस्ती गर्ने गरेको उनको आरोप छ । फुर्वालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

 

दुःखका अलग रङ

 

इमानको बदलामा यो व्यवस्थाले जेठी दिदी र कालुमान दाइलाई जिन्दगीभर असुरक्षा, अभाव र अपहेलना उपहार दिएको छ

 

तादी गाउँपालिकाअन्तर्गत पर्ने गैरी टोलनजिकै तादी खोला र घट्टे खोलाको दोभान छ । दोभान खोलावारिका गाउँहरूको मसानघाट हो । नदी किनारमाथि मूल बाटो नजिकै ढुङ्गाले छाएको एक मरणपाटी थियो । मरणपाटीबाट दस मिटरजति पूर्व बायाँपट्टि एउटा झ्याम्म परेको बयरको घारीसँग टाँस्सिएर झुप्रो बनेको थियो । आफ्ना तीन लालाबालासहित लगभग बगरलाई घर बनाएकी थिइन् जेठी दिदीले ।

 

जेठी दिदीबारे पहिलो स्मृति त्यही बगरको निवास हो । त्यो पनि उनका पतिले लेकमा कुनै तामाङ पछार्न अर्को तामाङलाई लगाएको गुण तिरेकाले बन्दोबस्त भएको थियो । उनी, उनको कम उमेरकै जेठो छोराको मिहिनेतले र कहिलेकाहीँ गाउँलेको दयाले छाक टार्ने मेसो हुँदै थियो, लेकबाट बेंसी झरेको त्यो दलित परिवारको । उनका पति आवारागिरीमा परिचित थिए । धेरै समय सहर अनि बम्बईतिर जान्छन् भन्ने हल्ला हुन्थ्यो गाउँमा । त्यो हालतमा परिवार छोडेर वर्षौं हराउँथे ।

 

गरिब तामाङ परिवारमा जन्मिएका कालुमान दाइ सानैमा बेंसी झरेका थिए । ती बालक हली बसे, खेतको काम गरे, भारी बोके, घाँस काटे । उमेर बढ्दै गयो, पिरती पनि गाँसे । विद्रोही पिरती ! गाउँकै तीन बच्चाकी आमा विधवा तामाङ्नीलाई मृङ (पत्नी) बनाए । मृङसँगै काखकी नानी र आफूलाई बासको व्यवस्था गर्नुपर्ने भयो । हाम्रो खेत नबनिसकेको झाडी फाँडेर सुरक्षित बास बनाए ।

 

मूल बाटामै थियो उनको बास । त्यही बाटो त्यस समय नुन, तेल, रासायनिक मल ल्याइन्थ्यो । सरकारी कामका लागि बजार र सदरमुकाम जान खच्चड हिँड्ने बाटो पनि त्यही थियो । सानो परिवार धान्न उनले तामाङहरू लक्षित खाजा घर पनि राखे । त्यहाँ मुख्यतः गज्जबको सिलावरको डबकामा जाँड, तमाखु र बिरुवाको ठूलो पातमा थोरै साँधेको भटमास पाइन्थ्यो । मजदुरी गरेर, ढुंगा फोरेर, ढुंगा बोकेर गुजारा चलाउँथे मान्छेहरू ।

 

जीवनमा मैले सबैभन्दा पहिले चिनेको र लामो संगत गरेको गाउँले सर्वहारा हुन् कालुमान दाइ र जेठी दिदी । हाम्रो बसाइ नजिक–नजिकै थियो । तर, म सानै छँदा जेठी दिदीको त्यो बगरको टहरो र कालुमान दाइको बासबाट उठीबास लगाइयो । कालुमान दाइको घट्ट जेठी दिदीको टहरा नजिकै थियो । एक साँझ घर फर्कंदै गर्दा पानी परेकाले कालुमान दाइ केहीबेर जेठी दिदीको टहरामा ओत लाग्न गएका रहेछन् ।

 

श्रीमती गर्भवती बनाएर गायब भएकोजेठी दिदीको श्रीमान् रूपलाल दुई वर्षपछि घर फर्कंदा कसैले उनलाई कालुमान ओत लागेको त्यो घटना सुनाइदिएछ । उनको पुरुषत्व जागेर आयो, जुर्मुरिँदै सानी छोरी र श्रीमती घिसार्दै कालुमान दाइको घरमा भित्र्याउने कुरा गर्न थाले । ठूलै खैलाबैला भयो । गाउँका सबै भेला भए । अरू त के हुनु थियो, गरिबीको बोझमा दलिएकी दलित महिला र गरिब तामाङ लहसिएको हल्ला मात्रैले पनि टहरो बनाउन जग्गा दिनेहरूलाई मौका बन्यो । तुरुन्तै जसोतसो मिलेको छतबाट दुवै परिवारलाई छुटाइयो ।

 

भागेर कुन ठाउँ जानु ? हाम्रो गाउँको पूर्वपट्टिको भिरालो जमिनमा जेठी दिदीलाई गाउँकै एक जनाले टहरो बनाउन जग्गा दिए, पाखो खेती हेर्ने सर्तमा । कालुमान दाइले एउटा प्रयत्न गरे, सार्वजनिक जग्गामा बास बनाउने । उनको कोसिस बेकार बनाइयो । नजिकै सार्वजनिक जग्गामा बास जमाएको बाहुनको टहरोलाई सरकार र समाजले अतिक्रमण ठानेन, तर कालुमानले बनाएको टहरो टिक्न दिइएन । पछि उनी बाध्य भएर मृङको छोराको गोठमा बस्न गए । त्रासदीबीच मृङ बिमारी परिन्, बितिन् । कालुमानले घेवा गरेर उनलाई बिदा गरे ।

 

त्यसबीच धेरै परिवर्तन भइसकेको थियो । गाउँमा सडक बनिसकेको थियो । धूलाम्मे सडकमा हिउँदमा गाडी आउन थालेको थियो । बिजुली आइसकेको थियो । कालुमानले गर्ने काम पनि थोरै बदलियो । कहिले पानीघट्ट चलाए, कहिले त्यसै छाडिदिए । गाडीमा सामान लोड–अनलोड गर्न थाले । मेलापात गरिरहे । फेरि एक पटक प्रेममा परे । यस पटक पनि विधवालाई नै मृङ बनाए ।

 

सामान्य खेतालाको लगभग दोब्बर काम गरिभ्याउँथे कालुमान दाइ र जेठी दिदी । उनीहरूको श्रमसँग परिचित स्थानीयले कुनै बेला दुवैलाई बासबाट बन्चित मात्रै होइन बदनामी र अपमानको भारी बोकाए पनि बहिष्कार भने गर्न सकेनन् । कालुमानले हालेको आली सधैं सबैभन्दा अग्लो, खँदिलो हुन्थ्यो । कसैले फोर्न नसकेका ढुङ्गा सहजै फोरिदिन्थे, पिठो पिन्दा ढंग पुर्‍याउनेमा गनिन्थे, इमानदार र लगनशील थिए । जेठी दिदी बल, इमानदारीमा सधैं अघि रहिन् । बस्तीबाट टाढा बसोबास भए पनि बेलैमा मेला पुगिसक्थिन् । कथित भद्रभलाद्मीको समाज, जसले पहिले उठीबास लगाएको थियो, कालान्तरमा जेठी दिदी र कालुमान दाइलाई आरोपमुक्त गर्‍यो ।

 

श्रीमतीको बदनामी गरेपछि र कान्छी छोरी गर्भमा आएपछि घर छोडेर हिँडेका रूपलाल लखतरान हालतमा घर फर्किए धेरै वर्षमा । केही महिना सामान्य उपचार चल्यो, तर डाक्टरले उनलाई निको नहुने रोग लागेको बताए । घरमै जेठी दिदीले स्याहारसुसार गरिन्, करिब पाँच महिनापछि उनको मृत्यु भयो । जेठी दिदीले किरिया गरेर सालभर जुठो बारिन् ।

 

सानै उमेरमा जेठी दिदीका सन्तान काममा जोतिन बाध्य भए, स्कुल जाने उमेरको जेठो छोराले फलाम हुँदै सुन चाँदीको काम सिकिरहेका थिए । सीप हासिल गरेर केही कमाउने भए, बिहेबारी गरे र अन्तै बसाइँ सरे । कान्छो छोराले पनि तामाको काम सिके, गाउँमै काम गर्न थाले, बिहे गरे र पसल गरे । दुवै छोरीको किशोरी अवस्थामै बिहे भयोर आमा बने ।

 

गाउँमा धर्म परिवर्तनको लहरले जेठी दिदीको परिवारलाई पनि प्रभाव पार्‍यो । सपरिवार धर्म परिवर्तन गरी क्रिस्चियन बने । धर्म परिवर्तन त भयो, तर छुवाछुत र जातीय विभेदको पर्खाल भत्किने सम्भावना थिएन र भत्किएन पनि । छोराहरूले थोरै पैसा जम्मा गरी त्यही पाखामा घडेरी किने, घर बनाए । जेठी दिदीले सधैं खेती मजदुरी गरिरहिन्, भारी बोकिरहिन्, बालुवा चालिरहिन् । अचानक बिरामी पर्न थालिन् । जब डाक्टरी चेकजाँच भयो, तब जेठी दिदीको जीवनले अर्को दुखदः मोड लियो ।

 

श्रीमान्ले उनलाई निको नहुने एचआईभी संक्रमण दिएर गएका रहेछन् । उनीमाथि थप बज्रपात भयो । आफ्नै छोरा–बुहारीको घृणाको पात्र बन्नुपर्‍यो । गाउँमा कान्छा छोरा–बुहारीसँगै बसेकी जेठी दिदी जेठो छोरो भएतिर गइन् र केही वर्ष त्यतै रहिन् । उपचारसँगै परिवारमा परामर्श पनि भइरहेकाले बिस्तारै माहोल सहज बन्दै गयो । उनी फेरि गाउँ फर्किइन् र पहिलेजस्तै मजदुरी जारी राखिन् । आज पनि सर्वहारा मजदुरझैं खटिएर काम गरिरहेकी छिन् जेठी दिदी । एड्स पत्ता लागेको आठ–नौ वर्षपछि पनि सक्रिय श्रमिकको दैनिकी उनको बाध्यता बनेको छ ।

 

जमाना बदलिएको छ । सरकार त दर्जनौं बदलिए । फेरि पनि श्रमिकमारा व्यवस्थामा जेठी दिदी र कालुमान दाइको जिन्दगी भने साँझ–बिहानको जोहो गर्नमै बितिरहेको छ । पहिले जब हाम्रो खेतको गहुँ भित्र्याउन हप्तौं लाग्थ्यो, त्यतिबेला पनि जेठी दिदी मजदुरीका लागि बोलाइने पहिलो छनोटमा थिइन् । अहिले चिसै गहुँ थ्रेसरले भटाभट दुई घण्टामा पेलिदिन्छ, तर खानयोग्य हुने गरी केलाउन जेठी दिदीलाई नै बोलाइन्छ । यद्यपि, जेठी दिदी र हाम्रो परिवारको सम्बन्ध पनि विविधतापूर्ण रह्यो । मेरी आमाले जेठी दिदीको बच्चा पढाउने वातावरण निर्माण लागि केही प्रयत्न पनि गर्नुभयो, तर सम्भव भएन ।

 

गाउँमा सँगसँगै काम गर्दा सरसफाइ, स्वास्थ्य र खानपानबारे सजग बनाउन केही भूमिका खेल्नुभयो । श्रीमान्को नागरिकता नबनेकाले उनलाई नागरिकता दिलाउने मेसो मिलाउनुभयो, तर पनि उनीहरूबीचको विभेदको पर्खाल भने सजिलै भत्किन सकेन । ‘जनयुद्ध’ को प्रभाव बढेसँगै र शान्तिसम्झौतापछिका केही वर्षपछिसम्म हाम्रो घरभित्र छुवाछुत भएन बरु समान व्यवहारमा वृद्धि भयो । अफसोस ! प्रतिक्रान्तिको लहरले बिस्तारै–बिस्तारै फेरि सबै कुरा बदलिएको मैले भने पछि मात्र चाल पाएँ ।

 

भूकम्पपछि कालुमान दाइले थोरै राहत पाए । जग्गा नहुनेहरूका लागि घर बनाउन जमिनसहित बास हाल्न पैसा पाउने नीति थियो । तर, प्रशासनको सर्त र झन्झटकै कारण नीतिभित्र परेका कालुमान दाइले घडेरी पनि पाएनन् । उनीसँग अहिले पनि आम्दानीको स्रोत केही छैन । कमजोर भइसकेका छन्, निःसन्तान छन् । वर्षको केही महिना घट्ट चलाउँछन्, केही महिना सानोतिनो मजदुरी गर्छन् । यसरी कालुमान आज पनि साँझ–बिहान आफ्नै पाखुरीको बलमा बाँचिरहेका छन् ।

 

हड्डी गलाउने मिहिनेत र इमानको बदलामा यो व्यवस्थाले उनलाई जिन्दगीभर असुरक्षा, अभाव र अपहेलना दिएको छ उपहार । नेपालका सबै निर्वाचन भोगेका उनीहरूलाई पञ्चदेखि कांग्रेस र माओवादीसम्मका अनगिन्ती प्रतिनिधिले हिजो पनि आश्वासनबाहेक केही दिएनन् र आज पनि आश्वासनबाहेक अर्थोक केही दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय