मंगलबार , चैत्र ६, २०८०

काठमाडौं:

सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।

आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ ।

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै सिफारिसबारे निर्णय गर्दै मध्यावधि निर्वाचनको मितिसमेत तोकेकी थिइन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य रहेको भन्दै नेता पौडेलले सर्वोच्चको फैसलाले सत्यको जित भएको बताए ।

‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । सर्वोच्च अदालतले मुलुकलाई दुर्घटनाबाट बचाएको छ । सर्वोच्चलाई धन्यवाद ’, पौडेलले भने ।

सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा थिए ।

उनीहरुले त्यही संसद पुनर्स्थापना भएको खबर सुने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय भरतपुर पुगेका थिए । तर संसद पुनर्स्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने नेताहरुले बताएका छन् ।

पुनर्स्थापनाको खबर सुनेपछि प्रचण्ड र माधव नेपाल खुसी देखिएका छन्, सहभागीहरुसँग खुसी साट्दै प्रचण्डले सबैलाई बधाइ दिएका छन् ।

प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने प्रष्ट पारे ।

माधव र प्रचण्डका साथमा संसद विघटनविरुद्ध रिट दायर गर्ने कृष्णभक्त पोखरेल पनि साथमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय