काठमाडौं महानगरपालिकाद्वारा बेसमेन्ट खाली गराउने र टुकुचा खोला खोज्ने क्रममा सोमबार हातिसारको लक्ष्मी बैंकको भवनमा एउटा गाडी भेटियो । विगतमा राजदरबारले प्रयोग गर्ने मर्सिडिज गाडी काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टमा भेटिएपछि घटनास्थलमा उपस्थित सबै आश्चर्यमा परे ।

 

लक्ष्मी बैंकको बेसमेन्टमा लामो समयदेखी लुकाएर राखिएको उक्त गाडी बेसमेन्ट खाली गर्ने क्रममा भेटिएपछि एककान दुइकान हुँदै सञ्चार माध्यममा समाचार फैलियो । सोमबार नै सो गाडीलाई त्यहाँबाट निकालेर अन्यत्रै लगियो ।

 

नेपालमा राजाले मात्रै चढ्ने गाडी बेसमेन्टबाट निकालिएपछि केही व्यक्तिहरुले र महानगर प्रहरीले त्यसलाई चासोका रुपमा लिए । धुलोमैलो भएको, टायरमा हावा नभएको र सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको सो गाडीलाई अहिले डोजरको सहायताले ट्रकमा राखेर अन्यत्रै लगिएको छ ।

 

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गाडीको नम्बर बा १ झ ६९० हो । गाडीको अघिल्लो नम्बर प्लेट निकालिएको छ । गाडीको नम्बर प्लेट सरकारी रहेको पाण्डेको भनाइ छ ।

 

‘त्यो कार दरबारको भन्ने कुरा हामीलाई शंका भयो, नम्बर चाहिँ अगाडिपट्टीको निकालिसकेको अवस्था थियो’, उनले भने, ‘पछाडिपट्टी बाँकी थियो तर कुच्चाइएको थियो ।’

 

सबैले शंकास्पद एवं चासोका साथ हेर्दा हेर्दै गाडीलाई टेलरको सहायताले ट्रकमा हालेर अन्यत्रै लगियो । महानगरका प्रहरी प्रमुख पाण्डेले भने, ‘त्यो गाडी बेसमेन्टमा राखिएको रहेछ, हिजोमात्रै टेलर ल्याएर निकाल्ने काम गर्न लागे, अनि हामीले चियो चर्चा गर्न लाग्यौं’, पाण्डेले भने, ‘त्यसपछि त्यो गाडी कहाँ लगे/किन लगे भन्ने विषय उठ्यो, हामीले पनि फलो गर्ने अवस्था रहेन् ।’

 

उनका अनुसार अहिले गाडी व्यवसायी राजेन्द्र खेतानको घरमा छ । दरबारको गाडी नै हो भनेर कसरी शंका गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रमुख पाण्डेले गाडीको नम्बर बा १ झ ६९० भएको र त्यो प्रकारको गाडी दरबारले मात्रै प्रयोग गर्ने गरेको बताए । ‘त्यो गाडी दरबारकै हो, खेतानको घरमा कसरी पुग्यो’, उनले अचम्मित हुँदै प्रश्न गरे ।

 

आफूहरुले दरबारसँग अनौपचारिक रुपमा पनि बुझेको बताए । दरवारले प्रयोग गर्ने गाडी व्यवसायी खेतानको घरमा कसरी पुग्यो भन्ने विषय अहिले चासोका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय