काठमाडौं असोज ४ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महीनामा ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् भारत निर्यात गरेको छ । भदौ महीनामा मात्र २ अर्ब ४२ करोड रुपैयाँको निर्यात भएको छ ।

 

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको प्राधिकरणले जनाएको छ । वर्षायामको विद्युत् गत १९ जेठ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड को डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत विक्री शुरु भएको थियो ।

 

 

 

सुरुमा दुई ओटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा विक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा विक्री हुँदै आएको छ ।

 

 

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा विक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।

 

 

हरेक महीना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

 

 

‘चालू आवमा विद्युत निर्यातबाट करीब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ, मंसिरको पहिलो हप्तासम्म निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात शुरु हुन्छ’, उनले भने ।

विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १०० दशमलव ९ मेगावाट विद्युत् आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत विक्री गर्ने प्रस्ताव गरेको छ ।

 

प्राधिकरणले केही दिनअघि चार ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट विक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

 

यसअघि प्राधिकरणले चार ओटा जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप चार ओटा जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ ओटा जलविद्युत् आयोजनाबाट उत्पादित २१२ दशमलव ७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।

 

निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव शून्य ४ मेगावाटको लिखु खोला ए, २५ मेगावाटको काबेली बी( १, २२ मेगावाटको माईखोला, १४ दशमलव ९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १०० दशमलव ९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।

 

यसअघि ४२ मेगावाटको मिस्त्री खोला, २४ दशमलव २ मेगावाटको लिखु खोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलूखोला, २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११ दशमलव ८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय