मंगलबार , चैत्र ६, २०८०

एजेन्सि:

परिश्रम गर्ने हाे भने परदेशकाे भन्दा स्वदेशमै राम्राे कमाइ गर्न सकिन्छ भन्ने उदाहरण अचेल गाउँघरतिर धेरै भेटिन थालेका छन् ।

तिनै उदाहरणमध्येकी एक हुन् लमजुङ सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी सिर्जना कमली कार्की । श्रीमान् राजु कार्की लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ ।

परदेशमा श्रीमानको काम र कमाइ दुवै राम्रै छ । तर श्रीमानको मात्र कमाइको भर गर्नुहुँदैन । समय त्यसै खेर फाल्नु हुँदैन । आफूले पनि सकेको श्रम–पसिना बगाएर केही उद्यम गर्नुपर्छ भन्ने सोचेर सिर्जनाले चिती बान्द्रेमा व्यावसायिक कुखुरापालन र तरकारी खेती सुरु गर्नुभएको छ ।

‘त्यसै समय खेर फाल्नुभन्दा केही पौरख गरौँ भनेरै कुखुरापालन गरेको हुँ,’ सिर्जनाले भन्नुभयो, ‘एउटाको मात्र कमाइको भर गर्नु हुँदैन । सबैले सकेको उद्यम गर्नुपर्छ । त्यसैले श्रीमानकै सल्लाह र हौसलामा कृषि कर्ममा लागेको हुँ ।’ लमजुङको बेसीशहर नगरपालिका–११, चिती बान्द्रेमा उहाँले चार रोपनी जग्गामा व्यावसायिक रुपमा लेयर्स कुखुरा पाल्नुभएको हो ।

‘नेचरनेष्ट कृषि तथा पोल्ट्री फर्म’ दर्ता गरी उहाँले २०७६ साल वैशाखदेखि २ हजार कुखुराबाट लेयर्स कुखुरापालन सुरु गर्नुभएको हो ।

कुखुरापालनबाट राम्रै आम्दानी भएसँगै उहाँले यस व्यवसायलाई थप विस्तार गर्दै लैजानुभएको छ ।अहिले उहाँको फर्ममा ४ वटा कुखुराको खोर बनाइएको छ । फर्ममा ९ हजार लेयर्स कुखुरा पालिएका छन् । अहिले दैनिक ६ हजार कुखुराले उत्पादन दिइरहेका छन् । फर्मबाट दैनिक २५ प्याक अण्डा उत्पादन हुँदै आएको छ ।

उहाँका अनुसार प्रति प्याकमा २ सय १० वटा अण्डा हुन्छ । प्रति प्याक अण्डा २ हजार ५ सय रुपैयाँमा स्थानीय बजारमै खपत हुँदै आएको छ ।

कुखुरापालन व्यवसायबाट मासिक ५ लाख हाराहारीमा आम्दानी हुँदै आएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय