शुक्रबार , बैसाख १४, २०८१

१६ मंसिर,काठमाडौं:

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भयो ।

अध्यक्ष ओलीले प्रचण्डलाई हप्काएपछि अरु नेताहरु पनि केपी ओलीमाथि खनिए । धुम्बाराहीमा बस्ने भनिएको बैठक ‘सुरक्षा थ्रेट’ रहेको भन्दै बालुवाटारमै सारिएको थियो ।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन भएकाले शुभकामना दिऔं भन्दै केट काट्न लगाएका थिए ।

केक खाउञ्जेलसम्म हँसिलै देखिएका नेताहरु बैठक शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा खरो भनाभनमा उत्रिए । अन्ततः बैठक बाझाबाझमै सीमित भयो र बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भयो ।

केक काटिसकेपछि अध्यक्ष ओलीले बैठक सुरु भएको बताए । र, कार्यकारी अध्यक्ष प्रचण्डतिर हेर्दै आजको एजेण्डाचाहिँ के हो नि ? भनेर प्रश्न गरे ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको प्रतिक्रिया दिए ।

यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने मंसिर १३ कै भनाइ दोहोर्‍याए ।

दुई नेताहरुको पत्र र प्रचण्डको प्रस्तावलाई बुकलेटका रुपमा प्रकाशित गरेर वितरण गरेकोमा पनि प्रचण्डले माफी माग्नुपर्ने ओलीले अडान दोहोर्‍याए ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेजस्तै पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुनुपर्ने बताए ।

सहमतिका आधारमा अगाडि नबढ्ने हो भने पार्टी एकता कायम रहन नसक्ने बताउँदै ओलीले बैठकमा भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिनँ पनि ।’

बैठकको सुरुमा केहीबेर बोलेका ओलीले प्रचण्डले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भने ।

उनले त्यसो भनिरहँदा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए । त्यो देखेपछि आक्रोशित बनेका ओलीले भने, ‘किन हाँसेको ? म गम्भीर कुरा गरिरहेको छु ।’ त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बोले ।

अध्यक्ष ओलीले उत्तेजित बनाउने गरी बोलेको तर आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरेर निष्कर्षमा पुग्न चाहेको प्रचण्डले बैठकमा बताए ।

उनले यसो भनिरहँदा अध्यक्ष ओलीले तत्कालै प्रतिवाद गरे । जे मन लाग्यो त्यही बोल्ने ? भन्दै उनी प्रचण्डमाथि खनिए । त्यसपछि बैठकको माहौल थप बिग्रियो ।

ओली सँगसँगै प्रचण्ड पनि जंगिए । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पनि ओलीको अर्को विरोध गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘बोल्न पनि नपाइने ?’ भन्दै ओलीको प्रतिवाद गरे ।

ईश्वर पोरेखलले पनि बोल्नै नपाउने त भएन भन्दै बैठकमा ओलीको आलोचना गरेका थिए । नेताहरुले एकसाथ लागेर ओलीको प्रतिवाद गरेपछि प्रचण्डले सम्हालिएर आफ्ना कुराहरु राखे ।

‘पार्टीमा बोल्नसमेत नदिने स्थिति छ, आएका प्रस्तावहरुमाथि छलफलै हुन्न भन्नुहुन्छ, साथीहरु आफ्नो दृष्टिकोण राख्नुस्’ भन्दै प्रचण्डले छलफलका लागि ‘फ्लोर ओपन’ गरे ।

सचिवालय स्रोतका अनुसार वरिष्ठ नेता नेपालले छलफल गर्ने कि नगर्ने भन्ने प्रश्नै उठाउन आवश्यक नरहेको बताए । बैठकमा आएका प्रस्तावहरुमाथि छलफल हुर्नैपर्ने नेता नेपालले बताए ।

उपाध्यक्ष गौतमले छलफल त सुरु भइसक्यो र अध्यक्ष केपी कमरेडले पनि भाग लिइसक्नुभयो भने । वरिष्ठ नेता खनालले बैठकमा आएका सबै प्रस्ताव पार्टीको सम्पत्ति भइसकेको बताए ।

प्रवक्ता श्रेष्ठले छलफल गर्न पाइन्न भन्ने पनि हुन्छ र ? भन्दै प्रश्न गरे । नेता ईश्वर पोखरेलले प्रस्तावहरु आएपछि त छलफल हुने नै भयो भने ।

रामबहादुर थापा बादलले पनि छलफल त सुरु भइसकेको छ भने । महासचिव विष्णु पौडेलले भने यसबारे केही नभन्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय