काठमाडौं:

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले चार पटकसम्म पार्टी फुटाउन कोसिस गरेको बताएका छन्।

शनिवारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले आफूसहित सचिवालयका अन्य वरिष्ठ नेताहरूको धैर्यताका कारण पार्टी एकताको रक्षा हुँदै आएको बताएका हुन्।

उनले भनेका थिए, ‘स्थायी कमिटीले कुनै पनि प्रतिष्ठानका गतिविधि बन्द गर्ने भनेको थियो। चार पटक तपाईँले पार्टी फुटाउन खोज्नु भएको छ।

हामीले धैर्यपूर्वक पार्टी एकताको रक्षा गर्दै आएका छौँ। अहिले पनि रक्षा गर्न दृढ छौँ।’ नेकपाका एक नेताका अनुसार बैठकमा प्रचण्डले पार्टी फुटाउन ओलीबाट भएका प्रयत्नबारे बुँदागत रूपमा चर्चा समेत गरेका थिए।

प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘पहिलो, केन्द्रीय कमिटीको सफल बैठकपछि आफ्ना गुटका साथीहरूको भेला गरेर प्रचण्ड र माओवादीलाई एकल्याउन पर्छ र आफ्नो गुटको गतिविधिलाई व्यवस्थित रूपमा अगाडि बढाउनु पर्छ भनेर निर्णय गर्नुभयो।

दोस्रो, अध्यादेश ल्याउँदा नै फुटाउने कदम चाल्नु भएको हो। तेस्रो, एमाले दर्ता गर्नुभयो निर्वाचन आयोगमा।

चौथो, स्थायी कमिटीको बैठकपछि पनि मदन भण्डारी फाउन्डेसनको गतिविधिलाई वडासम्म लैजान निर्देशन दिनुभयो र फुटको निम्ति सङ्गठनात्मक आधार तयार पार्ने काम गर्नुभयो।’

दुई अध्यक्षको सहमतिबाट नै सबै हल खोज्ने भन्ने चिन्तन नै गलत भएको र पार्टी कमिटीबाट नै हल खोज्नुपर्ने नेता खनालको भनाई थियो। ‘पार्टीलाई विधिबाट चलाउनुपर्छ।

दुई अध्यक्षको सहमतिबाट नै सबै कुरा गर्ने भन्ने चिन्तन नै गलत हो,’ उनले भनेका थिए, ‘केन्द्रीय कमिटी सर्वोच्च संस्था हो। सचिवालय, स्थायी कमिटीमा छलफल गरेर केन्द्रीय कमिटीमा जानुपर्‍यो भने त्यहाँबाट निर्णय गर्नुपर्छ र सबैले मान्नु पर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय